शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

‘सादा पोशाक’ मा खटिने प्रहरीलाई ४ वर्षे कार्यअवधि राख्न सिफारिस

अध्ययन समितिले बुझायो प्रतिवेदन
बिहीबार, ०५ माघ २०७९, २१ : १९
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । नेपाल प्रहरीमा सादा पोशाकमा खटिने प्रहरी कर्मचारीलाई लामो समयसम्म नखटाउन अध्ययन कार्यदलले सिफारिस गरेको छ । डीआईजी टेकप्रसाद राई नेतृत्वको कार्यदलले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई ‘सिभिल’ प्रहरी परिचालन सम्बन्धी अध्ययन प्रतिवेदन बुझाएको छ ।

सादा पोशाकमा परिचालन गरिने प्रहरी कर्मचारीको योग्यता र ट्रयाक रेकर्ड हेर्नुपर्ने कार्यदलको सुझाव छ । सूचना संकलन र ह्युमन इन्टेलिजेन्सका लागि प्रयोग गरिने सादा पोशाकका प्रहरीले छुट्टै तालिम लिनुपर्नेगरी कार्यविधि बनाउन सिफारिस गरिएको छ ।

सादा पोशाकमा खटिने प्रहरी कर्मचारी बढीमा ४ वर्षमात्र खटिन पाउनेगरी कार्यविधि बनाउन प्रस्ताव गरिएको प्रहरी प्रवक्ता समेत रहेका कार्यदलका संयोजक डीआईजी टेकप्रसाद राईले बताए । डीआईजी राईले भने– ‘चार वर्ष सिभिलमा काम गरेपछि युनिफर्म ड्युटीमा फर्किनुपर्छ, कारवाहीमा परेकाहरु सादा पोशाकमा खटिन पाउँदैनन् ।’

सादा पोशकको ड्युटीमा परिचालन गर्ने प्रहरी कर्मचारीलाई सम्बन्धित युनिटले एक तह माथिल्लो युनिटबाट स्वीकृत लिनुपर्छ । जिल्ला प्रहरी कार्यालयले प्रदेशबाट र प्रदेशले प्रधान कार्यालयको आदेश लिएर मात्र सादा पोशाकका प्रहरी परिचालन गर्न पाउनेछन् । कार्यदलले बुझाएको प्रतिवेदन गृहमन्त्रालयबाट स्वीकृत गरेर लागू गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

गृह मन्त्रालयले केही दिनअघि देशभर सादा पोशाकमा खटिएका प्रहरी कर्मचारीको विवरण मागेको थियो । सूचना संकलन गर्न र अपराध अनुसन्धानका लागि प्रहरीमा बर्दि बिनाका प्रहरी परिचालन गरिँदै आएको छ ।

‘सिभिल’मा खटिने प्रहरी पहुँचको आधारमा लामो समय एकै ठाउँमा बस्ने गरेका छन् । युनिट इन्चार्जहरुले उनीहरुलाई दुरुपयोग गर्ने गरेको सूचना आएपछि उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले उनीहरुको विवरण संकलन गर्न आदेश गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप