बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारमा कहाँ अड्कियो ‘हलो’ ?

सहयोग माग्न काठमाडौं हिँडे मुख्यमन्त्री
शुक्रबार, ०६ माघ २०७९, २० : १२
शुक्रबार, ०६ माघ २०७९

मकवानपुर । बागमती प्रदेश सरकारले पूर्णता पाउन अझै एक साता बढी समय लाग्ने देखिएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी माघ १० गतेपछि मात्र सरकार विस्तारको तयारी गरेका हुन् । 

गत पुस २५ गते प्रदेशका ५ दलहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले पुस २६ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए भने पदभारपनि सोही दिन नै गरेका थिए । 

शपथ ग्रहण गरेकै लिन उनले प्रदेशमा सानो आकारको मन्त्रिपरिषद् गठन गरेका थिए । जसअनुसार आन्तरिक मामिला मन्त्रालयमा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलियालाई नियुक्त भएका थिए भने राप्रपा बागमती प्रदेश संसदीय दलको नेता उद्धव थापा विना विभागीय मन्त्री नियुक्त भएका थिए । 

उनले प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन पछि विश्वासको मत लिने योजना अनुसार माघ ३ गतेको मिति तय गरेका थिए । सोही अनुसार पुस २९ मा नै प्रदेशसभाको सभामुखमा राप्रपाका भुवन पाठक चयन भए भने माघ २ गते एमालेकी अप्सरा चापागाईँ उपसभामुख चुनिइन् । 

 सोही दिन बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने र त्यस लगत्तै मन्त्रिपरिषद् विस्तारको योजना रहेको थियो । तर, मुख्यमन्त्रीको योजना अनुसार काम हुन सकेन ।

उनले त्यसको भोलिपल्टमात्रै प्रदेशसभा बैठकबाट विश्वासको मत लिएका हुन् ।  उनलाई सत्ता गठबन्धनबाट सरकारलाई समर्थन दिएको दलहरुसहित कांग्रेसले समेत विश्वासको मत दिएको थियो ।

यसकारण सरकार विस्तारमा ढिलाइ

मुख्यमन्त्री जम्कट्टेलले पदभार ग्रहण गर्दै आफ्नो पहिलो निर्णयका रूपमा प्रदेशमा कायम रहेको मन्त्रालयको संख्या कटौतीको निर्णय गरेका थिए । उक्त निर्णयलाई सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरी मन्त्रालयको संख्या कटौती गर्न ५ सदस्यीय अध्ययन कार्यदल बनाएको थियो । उक्त कार्यदललाई १५ दिनको समयसीमा तोकेर मन्त्रालय कटौतीको प्रतिवेदन पेस गर्न भनिएको थियो । सो कार्यदलको समयसीमा आगामी माघ ९ गते समाप्त हुँदैछ । अहिले त्यही मितिको परखाइमा मुख्यमन्त्री रहेका हुन् । 

कार्यदलले २ वटा बैठक सञ्चालन गरी ९ र ११ वटा मन्त्रालय कायम गर्ने गरी २ वटा विकल्पसहितको प्रतिवेदन प्रस्ताव तयार पारेको बताइएको छ । सो प्रतिवेदन ९ गते मुख्यमन्त्री जम्कट्टेल र मन्त्रिपरिषदमा पेस गर्ने कार्यदलको तयारी रहेको छ । सो कार्यदलको प्रतिवेदनको आधारमा मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या निर्धारणको अन्तिम निर्णय गर्नेछ ।

मन्त्रालयको संख्या निर्धारणका साथैसाथै दलीय भागबण्डासमेत मिल्न नसक्दा प्रदेश सरकारले पूर्णता पाउन ढिलाइ हुने देखिएको छ । प्रदेशको मन्त्रालयको भागबण्डाको विषय पनि केन्द्रको निर्देशन अनुसार हुने भएकाले मुख्यमन्त्री जम्कट्टेल शीर्ष नेतृत्वको ‘सिग्नल’ कुरिरहेका छन् ।

भागबण्डामै लफडा

प्रदेशको मन्त्रालय घटाउने निर्णय गरेपछि सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डाको लफडा सुरु भएको छ । सत्ता गठबन्धन दलहरुबीच प्रदेशमा निर्धारण हुने मन्त्रालयमा कसले कति र कुन मन्त्रालय लिने भन्ने विवाद देखिएको हो । 

सत्ता गठबन्धनका ठुलादेखि साना दलहरु आफ्नो पक्षमा बढी भन्दा बढी मन्त्रालय ल्याउन सक्रिय छन् । मन्त्रालयको भागबण्डाका विषयमा उनीहरु आ–आफ्नै दाबी पेस गरिरहेका छन् । जसले गर्दा प्रदेशमा कायम रहने मन्त्रालय भन्दा बढीको माग देखिएको छ । प्रदेशमा रहेको १४ मन्त्रालय घटाएर ९ वा ११ कायम गर्दा दलहरुले दाबी गरे अनुसार मन्त्रालय भागबण्डा गर्न मुख्यमन्त्रीलाई कठिन हुने देखिन्छ ।

कुनैपनि दलहरु आफ्नो दाबीबाट टसमस हुने अवस्था नरहँदा मुख्यमन्त्रीलाई भागबण्डा मिलाउन चुनौतीपूर्ण देखिएको छ । प्रदेशको मन्त्रालयमध्ये एमालेले ५ वटा, माओवादी केन्द्रले ४ वटा, राप्रपाले ३ वटा, एकीकृत समाजवादीले २ र हाम्रो नेपाली पार्टीले एउटा मन्त्रालयमा दाबी गर्दै आएको छ । यसअघि आर्थिक मामिला तथा योजना मन्त्री लिइसकेको एमालेले अब थप ४ वटा मन्त्रालय लिने गरी सशक्त अडान कसेको छ भने माओवादी केन्द्र पनि मुख्यमन्त्रीसहित ४ मन्त्रालयमा दाबी गर्दै आएको छ । 

यता सत्ताको निर्णायक शक्तिको रूपमा रहेको राप्रपा पनि ३ मन्त्रालयसहित बार्गेनिङमा रहेको छ । हाम्रो नेपाली पार्टीलाई सरकारमा समर्थन गराउन नै एक मन्त्री प्रस्ताव भएकाले सो दल आफ्नो दाबीमा अडिग रहेको छ । दलहरुको दाबी अनुसार नै जाने हो भने मन्त्रालयको भागबण्डा मिलाउन संख्या घटाउने होइन बढाउनुपर्ने देखिन्छ । 

यता सत्ता गठबन्धन दल एमाले र राप्रपा कुनैपनि अवस्थामा एकीकृत समाजवादीलाई सरकारमा ल्याउन चाहँदैन । ती दलहरु एकीकृत समाजवादीलाई सरकारबाट अलग गराउने पक्षमा रहेका छन् ।

विवाद मिलाउन केन्द्रको शरणमा मुख्यमन्त्री

सत्ता गठबन्धन दलहरुबीच भागबण्डा नमिलेपछि उक्त समस्याको पोको बोकेर मुख्यमन्त्री जम्कट्टेल काठमाडौं हिँडेका छन् । शुक्रबार हेटौंडामा एक कार्यक्रम सहभागी भएर उनी  काठमाडौं हिँडेका हुन् ।

प्रदेशको राजनीतिक गतिविधिका विषयमा केन्द्रमा शीर्ष नेतृत्वसँग छलफलका लागि उनी काठमाडौं प्रस्थान गरेको मुख्यमन्त्री जम्कट्टेललको सचिवालयले जनाएको छ । उनी सोमबारसम्म काठमाडौं मै रहने छन् । शनिबार र आइतबार पार्टी र गठबन्धनका शीर्ष दलहरुसँग भेटघाट गर्ने उनको कार्यक्रम छ ।

मुख्यमन्त्री जम्कट्टेल काठमाडौं लागेकै दिन प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया पनि काठमाडौं जाने तयारीमा छन् । शुक्रबार चितवनमा रहेका मन्त्री थपलिया शनिबार काठमाडौं हिँड्ने तयारीमा रहेको सचिवालयले जनाएको छ । मन्त्री थपलियाले पनि शनिबार र आइतबार पार्टीका शीर्ष नेतृत्वलालाई भेट्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप