मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

सुनसरी घटना : प्रहरीको गोली लागेर नागरिकको मृत्यु भएकोमा नेकपाद्वारा भर्त्सना

मङ्गलबार, १२ साउन २०८३, ११ : ५९
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागि एक जनाको मृत्यु र दर्जनौँ घाइते भएको घटनाको घोर भर्त्सना गरेको छ ।
  • नेकपाले सो घटनालाई राज्य आतङ्कको संज्ञा दिँदै सुरक्षा निकायको गम्भीर लापरबाही र गैरजिम्मेवारपन भनेको छ ।
  • विज्ञप्तिमा निहत्था नागरिकमाथि गोली प्रहार गरी हत्या गर्नुलाई गम्भीर अपराध, राज्य आतङ्क र गैरन्यायिक हत्याको उदाहरण भनिएको छ ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागि एक जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

पार्टी प्रवक्ता प्रकाश ज्वालाद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा सो घटनालाई ‘राज्य आतङ्क’को संज्ञा दिँदै घोर भर्त्सना गरिएको छ ।

साउन ११ गते देवानगञ्जमा दुई पक्षबिचको विवादले उग्र रूप लिएपछि उत्पन्न झडपलाई नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएका थिए । सोही क्रममा देवानगञ्ज गाउँपालिका–४ निवासी ओमप्रकाश मेहताको मृत्यु भएको थियो  । 

दर्जनौँ व्यक्तिहरू गम्भीर घाइते भएका छन् । नेकपाले परिस्थितिलाई संयमित रूपमा समाधान गर्नुको साटो रातिको समयमा अन्धाधुन्ध गोली चलाउनुलाई सुरक्षा निकायको गम्भीर लापरबाही र गैरजिम्मेवारपन भनेको छ । विज्ञप्तिमा भनिएको छ, ‘निहत्था नागरिकमाथि घुँडाभन्दा माथि गोली प्रहार गरी हत्या गर्नु गम्भीर अपराध र राज्य आतङ्क हो । यो घटना गम्भीर मानव अधिकार उल्लङ्घन मात्र नभई गैरन्यायिक हत्याको उदाहरण पनि हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप