मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

लुम्बिनीमा हुन सकेन मन्त्रिपरिषद् विस्तार, भागबण्डा मिलाउन काठमाडौँतिर मुख्यमन्त्री

आइतबार, ०८ माघ २०७९, १२ : ५०
आइतबार, ०८ माघ २०७९

बुटवल । पुस २७ गते शपथ लिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेका छन् । गठबन्धन दलहरुबीच भागबण्डा मिलाउन नसक्दा उनले मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन् ।  प्रदेशस्तरमै भागबण्डा मिलाउन नसकेपछि उनी केन्द्रको सहारा खोज्दै काठमाडौँ जाने तयारीमा छन् । उनी आइतबार साझेदार दल तथा आफ्नै दलका नेताहरूसँग छलफल गर्नको लागि काठमाडौँ जाने तयारीमा रहेका हुन् । 

मुख्यमन्त्री नियुक्त भएसँगै पुस २८ गतेबाट कार्यभार सम्हालेका गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए ।  तर, यो बीचमा दुई जनालाई विना विभागीय मन्त्री बनाउनुबाहेक अन्य प्रगति हुन नसकेको हो ।  काठमाडौँ गएर गिरीले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरूसँग छलफल गर्ने बताइएको छ । 

विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने भनेर भनिएकामा यहीबीचमा नेकपा माओवादी केन्द्र लुम्बिनीका संसदीय दलका नेता जोखबहादुर महराकी आमा रमिता महराको निधन भएपछि छलफल थप प्रभावित भएको छ ।   प्रदेश सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री चेतनारायण आचार्यले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने विश्वास व्यक्त गरे । 

माओवादी केन्द्र लुम्बिनी प्रदेश दलका नेता महरा आफैँ मन्त्री बन्ने तयारीमा छन्। मुख्यमन्त्री गिरिसँगै उनले शपथ लिने भनिए पनि रोजेको मन्त्रालय नपाएपछि मन्त्री बनेका थिएनन्। मुख्यमन्त्रीसँग एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा के शीले मन्त्रीको शपथ लिएका थिए ।  विना विभागीय मन्त्रीहरू अहिले प्रदेश राजधानी दाङमा व्यवस्थापकीय काममा सीमित भएका छन् ।  मन्त्री आर्चायले आफूहरूले अहिले दाङमा मन्त्रालयको व्यवस्थापनका साथै कर्मचारी र अरु मन्त्री कहाँ कसरी राख्ने भन्ने विषयको व्यवस्थापनमा खटिएको  बताए । 

गिरी नेतृत्व सरकारले लुम्बिनी प्रदेशमा मन्त्रालय घटाएर १० वटामा झार्ने निर्णय गरेको छ । यस आधारमा धेरै दल मिलेर बनेको सरकारमा मन्त्रालय भागबन्डामा सबैको चित्त बुझाउन सकस पर्ने देखिन्छ । अनौपचारिक छलफलमा मुख्यमन्त्रीसहित एमालेले ४, माओवादीले ३, जनमत पार्टी ,राप्रपा, नागरिक उन्मुक्ति पार्टीले एक एक मन्त्रालय दिने तय गरिएको छ । तर कुन मन्त्रालय  कसलाई दिने भन्ने अझै स्पष्ट छलफल भएको छैन ।  आचार्यले पनि  कुन मन्त्रालय  कसलाई दिने भन्नेबारे अझै एकिन नभएको बताए ।  अव यो विषयमा एक साताभित्र टुंगिने उनको विश्वास छ । 

लुम्बिनीमा एमालेबाट भूमिश्वर ढकाल, भोज प्रसाद श्रेष्ठ, दिनेश पन्थी र विष्णु पन्थी मन्त्रीको मुख्य दाबेदार छन् ।  यस्तै माओवादीबाट इन्द्रजित थारु, दीपेन्द्र पुनले दाबेदारी प्रस्तुत गरेका छन् ।  पुन स्वतन्त्र उम्मेदवार बनेर रोल्पाबाट चुनाव जितेपछि माओवादीमा प्रवेश गरेका थिए ।   यसअघि माओवादीबाट कृष्णा केसीले विनाविभाग मन्त्री बनिससेकी छन् । यस्तै पाल्पाबाट जितेका तुलाराम घर्ती मगर सभामुखको भू्मिकामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप