शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरस डान्सरको विषयमा ‘प्रसाद २’ युनिटले भन्यो–सपनाको उपचारमा कुनै कसर बाँकी राख्दैनौं

आइतबार, ०८ माघ २०७९, १९ : १६
आइतबार, ०८ माघ २०७९

काठमाडौं । सामाजिक सञ्जालमा एउटा भिडियो अहिले भाइरल छ । भिडियो गिभिना मगरले आफ्नो टिकटक आइडीबाट अपलोड गरेकी हुन् । 

भिडियोमा उनले फिल्म ‘प्रसाद २’ को युनिटमाथि गम्भीर आरोप लगाएकी छन् । फिल्म सुटिङ दौरान बेहोस भएर लडेकी एक कोरस डान्सरको नाजुक स्थिति हुँदा पनि टिमका कसैले सहयोग नगरेको उनले भिडियोमा भनेकी छन् ।

फिल्म युनिटको लापरबाहीका कारण कोरसमा नाच्ने सपना महर्जनको गण्डकी अस्पतालमा भर्ना भएकी छन् । समयमा अस्पताल नलगिएका कारण उनको एक खुट्टा र एक हात नचल्ने भएको छ । भिडियो सार्वजनिक भएपछि फिल्म बहिस्कार गर्नुपर्ने र कलाकारमा न्यूनतम मानवीय संवेदना नभएको जस्ता टीकाटिप्पणी भइरहेका छन् ।

भिडियो विषयले फिल्म, कलाकार र निर्माण युनिटको आलोचना हुन थालेपछि निर्माण फिल्मका निर्माता सुवास थापा र निर्देशक सुदर्शन थापा आइतबार पोखरा पुगेर सामाजिक सञ्जालका विषय गलत भएको बताएको छन् ।

पोखरामा एक कार्यक्रम गर्दै निर्देशक सुदर्शन थापाले फिल्म असफल बनाउन आफूहरूमाथि गम्भीर प्रकृतिको आरोप लगाइएको बताए । ‘बहिनी सपना महर्जनको विषयलाई लिएर जसरी सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ । यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ । कोरस डान्स गर्नुभएकी बहिनीको स्वास्थ्य लाभका लागि फिल्म टिमले सक्दो सहयोग गरिरहेको छ’, उनले भने । पौष ३० गते साढे ४ बजे सुटिङ सकेर होटलको रुम तर्फ लागेपछि सपना बहिनीको स्वास्थ्य अवस्था अचानक बिग्रेको खबर आफूलेपछि मात्रै जानकारी पाएको उनको धारणा छ ।

‘सपना बहिनीको स्वास्थ्य अवस्था सुटिङको समयसम्म ठिक थियो । सुटिङ सकेर प्याकअप गरिसकेपछि हामी सबै बसोबास गरिरहेको होमस्टे तर्फ लाग्यौं । बेलुका खाना खाइसकेपछि डान्सर बहिनीहरु आफू बसिरहेको होमस्टेमा रमाइलो गर्नुभएको रहेछ । जहाँ नाच्ने गाउने कार्यक्रम पनि भइरहेको थियो । सोही क्रममा बहिनी सपना महर्जन अचानक ढल्नुभएछ । अन्य बहिनीहरूद्वारा सपना बहिनीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी पाएपछि कलाकार प्रकाश घिमिरे दाइले नै चिसोका कारण होला भन्दै तेल तताउन लगाएर मालिस गर्न लगाउनुभयो । त्यति गर्दा पनि ठिक नभएपछि राती नै चलचित्रकै टिमले गाडीको व्यवस्था गरेर उपचारका लागि पोखरा पठाएको थियो । अनि कसरी फिल्म टिमले वास्ता गरेन भन्ने हुन्छ ?’ थापाले थपे ।

थापाले सपना महर्जनको स्वास्थ्य प्रति आफू र सम्पूर्ण टिम नै चिन्तित रहेको बताउँदै आजै अस्पताल पुगेर ५१ हजार निर्माताले सहयोग गरेको बताए । ‘सपनाको उपचारमा नेपाल नृत्य संघले अन्य संघसंस्थाबाट पनि फन्ट कलेक्सन गरिरहेको छ । हामी पनि लागिरहेका छौं । बहिनीको उपचार पोखरामा हुन सक्दैन भने काठमाडौंमा लगेर उपचार गराउन समेत हामी पछाडि फर्किनौं’, थापाले अगाडि थपे,‘एउटा कलाकारको स्वास्थ्य माथि खेलबाड गरेर हामीलाई फिल्म चलाउनु छैन । बहिनीको उपचारमा कुनै कसर बाँकी राख्दैनौं ।’

निर्माता सुभाष थापाले सपना महर्जनको स्वास्थ्य प्रति आफू गम्भीर रहेको बताए । ‘कोरस डान्सर सपना बहिनीको स्वास्थ्य प्रति म र मेरो टिम गम्भीर छ । उहाँको उपचार पोखरा हुन सक्दैन भने पनि काठमाडौं लगेर हामी उपचार गराउँछौं’ थापाले थपे ।

सपनाकी साथी एलिसा तामाङले पनि चलचित्र ‘प्रसाद २’ टिमको सहयोगमा नै आफूहरूले महर्जनलाई उपचारका लागि पोखरा ल्याएको बताइन् । 

फिल्म ‘प्रसाद २’ नयाँ वर्ष वैशाख १ मा रिलिज हुँदैछ । जसमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप