मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
बैंक

लगानी नउठ्दा बैंकहरुको नाफा घट्यो

सबैभन्दा बढी नाफा कमाउनेमा एनआईसी एसिया, गुमाउनेमा कृषि विकास बैंक
सोमबार, ०९ माघ २०७९, १० : १०
सोमबार, ०९ माघ २०७९

पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुको सङ्ख्या घटेसँगै यता बैंकहरुको नाफामा समेत सङ्कुचन आएको । चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना अर्थात् पुस मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुको नाफा घटेर २५ अर्ब ९५ करोड ९० लाख २४ हजारमा सीमित हुन पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा कायम २७ वटा वाणिज्य बैंकहरुले ३० अर्बमाथिको नाफा आर्जन गरेका थिए । 

केन्द्रीय बैंकको बिग मर्जरको नीति अनुरूप बैङ्कहरू मर्जरमा जाँदा चालु आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंकहरुको सङ्ख्या घटेर २२ वटामा झरेका छन् । जसमध्ये भर्खरै मात्र मर्जर भएर एकीकृत कारोबारमा गएका दुईवटा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र कुमारी बैंकले वित्तीय रिपोर्ट सार्वजनिक गरेका छैनन् । 

बाँकी वित्तीय रिपोर्ट सार्वजनिक गरेका २० वटा बैंकले अघिल्लो वर्षको तुलनामा २९.९८ प्रतिशतले नाफा वृद्धि गर्दै २५ अर्ब ९५ करोड ९० लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । जसमध्ये, ७ वटा बैंकको नाफामा ब्रेक लाग्न पुगेको छ । 

कुन बैंकको नाफा कतिले घट्यो ?

वित्तीय रिपोर्ट अनुसार यस पटक सबैभन्दा बढी कृषि विकास बैंकले नाफामा सङ्कुचन भोगेको छ । सरकारी स्वामित्वको बैंकको खराब कर्जाको दरसँगै सञ्चालन खर्च समेत बढ्दा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ घाटाको व्यापार गर्न पुगेको हो । जबकि अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४२ करोड रुपैयाँ माथिको नाफा आर्जन गरेको थियो । तर यसपटक बैंकले उच्चतम १०९.०६ प्रतिशतको नाफामा सङ्कुचन बेहोरेको छ । 

यस्तै, अर्को सरकारी स्वामित्वको बैंक नेपाल बैंक लिमिटेडले समेत चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७.३९ प्रतिशतको घाटा बेहोरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले यस पटक १ अर्ब १७ करोड ६ लाख ५५ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । 

यस्तै, नाफा गुमाउनेमा सनराइज बैंक, सिद्धार्थ बैंक, प्रभू बैंक, सिटिजन्स् बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् । यी बैंकहरुले अघिल्लो वर्षको तुलनामा यस वर्षको दोस्रो त्रैमासमा १.५८ देखि ३२ प्रतिशतसम्मले नाफा गुमाएका छन् ।

नाफा वृद्धि गर्ने बैङ्कहरू 

तुलनात्मक रूपमा अघिल्लो वर्षभन्दा बढी नाफा कमाउने बैंकहरुमा १३ वटा बैङ्कहरू रहेका छन् । एनआईसी एसिया बैंक, नबिल बैंक, लक्ष्मी बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, माछापुच्छ्रे  बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, सिभिल बैंक र हिमालयन बैंकले नाफा वृद्धि गरेका छन् । 

सबैभन्दा बढी एनआइसी एसिया बैंकले आफ्नो नाफामा ३३६.६४ प्रतिशतले वृद्धि गरेको छ भने सबैभन्दा कम माछापुच्छ्रे बैंकले अघिल्लो वर्षको तुलनामा जम्मा १.४३ प्रतिशतले मात्र नाफामा वृद्धि गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा क्रमशः ८५ करोड ९३ लाख ९० हजार रुपैयाँ र १ अर्ब १ करोड ९९ लाख ९८ हजार नाफा कमाएका बैंकहरुले यस पटक ३ अर्ब ७५ करोड २४ लाख ५५ हजार रुपैयाँ र १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएका छन् ।

कुन बैंक वित्तीय स्थिति के छ ?

बैंकहरुको आर्थिक वर्ष २०७९/८० को नाफा/नोक्सानको स्थिति (रकम हजारमा) 

Bank-profit--&-lost-news-story

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप