शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
क्रिकेट

स्पट फिक्सिङ प्रकरण : शङ्काको घेरामा क्यान, थाहा पाएर पनि चुपचाप

बुधबार, ११ माघ २०७९, १४ : ५७
बुधबार, ११ माघ २०७९

काठमाडौँ । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग नेपाल क्रिकेट संघ (क्यान)ले दुई वर्ष पहिले नेपाल टी–ट्वान्टी लिग सञ्चालनका लागि एसथ्रीलाई सम्पूर्ण जिम्मेवारी दिने निर्णय गर्‍यो । जसअनुसार वर्षको चार करोड भन्दा धेरै रकम दिने सम्झौता अघि बढाइयो ।  उल्लेखनीय छ, भारतीय कम्पनीसँग सम्झौता गर्नु पूर्व क्यानले उक्त संस्थाको विषयमा कुनै जानकारी लिएको थिएन । उसो त एसथ्रीले अफिसियल वेबसाइटमा समेत आफ्नो विषयमा सम्पूर्ण जानकारी राखेको छैन । 

एसथ्रीबारे पर्याप्त अध्ययन नगरी नेपाली क्रिकेटको सम्पूर्ण जिम्मेवारी दिने निर्णय हुनु क्यानका लागि अहिले महँगो साबित भएको छ । जुन निर्णय नेपाली क्रिकेटसँगै क्रिकेट खेलाडीको भविष्यमाथि प्रश्न खडा भएको छ भने स्पट फिक्सिङ प्रकरणले नेपाली क्रिकेटको छविमा धक्का पुगेको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्पट फिक्सिङको आरोपमा विभिन्न प्रमाणसहित दुई खेलाडीलाई नियन्त्रणमा लिइसकेको छ । सोमबार पक्राउ परेका उनीहरूमाथि जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको समय दिएको छ । 

क्यान नै शङ्काको घेरामा तानिएको अवस्थामा विभिन्न टीकाटिप्पणी सुरु भइसकेको छ । यो प्रकरणमा यदि क्यानको संलग्नता पुष्टि भएमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को निलम्बनमा पर्ने स्पष्ट देखिन्छ । 

नेपाल टी–ट्वान्टी लिगको सुरुवातमा नै स्पट फिक्सिङको विषयमा चर्चा चलेको थियो । त्यसमा क्यानले सीआईबीलाई खबर गर्नुको साटो उल्टै स्पट फिक्सिङ भएको विषय भ्रामक भएको र त्यसलाई नपत्याउन भन्दै विज्ञप्ति निकाल्नेको थियो । 

यहीबिचमा नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सिनाले स्टप फिक्सिङ भएको बताएपछि खेलाडीले पनि आफूहरूलाई अफर पनि आएको बताएका थिए । काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले त आफ्ना खेलाडीहरूलाई स्पट फिक्सिङको अफर आएको बताए थिए । 

विज्ञप्तिमा हामीले स्पट फिक्सिङ भएको छैन भनेका थिएनौंः अध्यक्ष चन्द 

क्यानले स्पट फिक्सिङको चर्चा चलेको दोस्रो दिनमा विज्ञप्ति निकालेको थियो । उक्त समयमा स्पट फिक्सिङ नभएको र भ्रामक हल्लाको पछि नलाग्न क्यानले भनेको थियो । सोही विज्ञप्तिमा क्यानले कुनै प्रमाण भेटिए आफूलाई बुझाउन पनि भनेको थियो ।  

त्यसको एक साता नबित्दै क्यानको विज्ञप्तिले फेल खायो । आदिल अन्सारीको फारवेस्ट युनाइटेडविरुद्धको खेलमा भएको नो बल र वाइड बलको चर्चाको अनुसन्धान सीआईबीले गरिसकेको थियो । 

यस्तै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले पनि यसअघिको भनाइलाई मोड्दै स्पट फिक्सिङको विषयमा आफूहरूले सीआईबीलाई जानकारी गराएको र त्यो विषयमा आफूहरू पूर्ण रूपमा लागेको बताए । 

तर, प्रतियोगिता नै भाँडिने सक्ने परिस्थितिलाई मध्यनजर गर्दै सीआईबीसँगै अनुसन्धानमा खटिएको उनको भनाइ छ । सोहीअनुसार प्रतियोगितालाई पनि निरन्तरता दिएको उनले बताए । 

‘प्रतियोगिता दौरानमा नै स्पट फिक्सिङको हल्ला चलेपछि सीआईबी र आईसीसीको एन्टी करप्सन युनिटलाई जानकारी गराइसकेका थियौँ’, उनले भने, ‘प्रतियोगिता भाँडिने सोचका कारण हामीले विज्ञप्तिमार्फत अझै धेरै सूचना भए मागौँ भनेका थियौँ ।’ 

चन्दले एसथ्रीले पनि सम्झौताको बखत राम्रो पक्ष मात्र देखाएको बताए । त्यसैले पनि आफूहरू सम्झौताका लागि अघि सरेको उनले दाबी गरे ।  अब भने एसथ्रीको विषयमा क्यानले आवश्यक निर्णय लिने उनको भनाइ छ । 

यता क्यानका महाप्रबन्धक वृत्तान्त खनालले आफूहरूले क्यानले लिगमा स्पष्ट फिक्सिङ नभएको भनेर विज्ञप्तिमा उल्लेख नगरेको बताए । ‘बरु अझै कतैबाट थप जानकारी आउँछ कि भनेर नै लागेका थियौँ’, उनले भने र

पन्छिँदै कार्यवाहक सचिव मल्ल

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल नेपाल टी–ट्वान्टी लिगको सम्झौता भएको समयमा सबैभन्दा धेरै चासो राख्ने व्यक्ति हुन् । उनले नेपाली क्रिकेटमा भारतीय लगानी भित्रिनु सुखद् कुरा भएको बताउँदै विरोध नगर्न आग्रह गरेका थिए । 

उनले एसथ्रीको विषयमा क्यानले राम्रोसँग जानकारी लिएको र उक्त संस्था राम्रो भएको बताएका थिए । तर, अहिले भने उनले आफू सम्झौताको समयमा नभएको बताए । 

सम्झौता गर्दा आफू पदमा नभएको बताउँदै उनले अहिले त्यो विषयमा धेरै बोल्न नमिल्ने तर्क गरे ।  क्यानले यसबारे आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने उनले बताएका छन् । 

‘क्यानले एसथ्रीको साइट हेरेर अध्ययन गरेको थियो । त्यसैको आधारमा हामीले सम्झौता गरेका हौँ । घोषणाको समयमा म थिएँ तर, सम्झौताको समयमा थिइनँ,’ मल्लले भने । 

एसथ्रीबाट पैसा पाउन नै मुस्किल, क्यान दबाबमा 

एसथ्रीका जतिन अहुवालिया नेपालमा टी–ट्वान्टी लिग भइरहेका समयमा भारततर्फ लागे ।सीआईबीले अनुसन्धान गरिरहेको जानकारी पाउन साथ उनी भारततर्फ लागेका हुन् । भारत पुगेका उनले क्यानलाई एक करोड रुपैयाँ दिए तर आफू भने नेपाल फर्केनन् । 

सुरक्षाको कारण देखाएर नेपाल फर्किन आनाकानी गरेका उनी अहिले सीआईबीको अनुसन्धानमा छन् । क्यानले जतिनले सञ्चालन गरेको सेभेन थ्री स्पोर्टससँग ८ वर्षका लागि सम्झौता गरेको छ । सम्झौताअनुसार कुल ३३ करोड रुपैयाँ क्यानले पाउने भनिएको छ । पहिलो वर्ष ३ करोड ९० लाख रुपैयाँ दिनुपर्नेमा सेभेन थ्रीले दुईपटक गरी जम्मा १ करोड २० लाख रुपैयाँ दिएको छ ।

पट फिक्सिङ गराउन दुई वटा समूहको संलग्नता रहेको सीआईबीको निष्कर्ष छ । ब्युरोका डिएसपी सुन्दर तिवारी सहित ५ जनाको छानबिन समितिले पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलम सहित दुई वटा टिमले ‘स्पट फिक्सिङ’ गराएको प्रतिवेदन बुझाएका छन् ।

प्रतिवेदनका आधारमा प्रहरीले पूर्वराष्ट्रिय क्रिकेटर मेहबुव आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप