बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रधानमन्त्री प्रचण्डसँग उपेन्द्र यादव असन्तुष्ट

शनिबार, १४ माघ २०७९, १६ : ०५
शनिबार, १४ माघ २०७९

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसँग जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको सम्बन्ध चिसिएको छ । पछिल्लो समय सत्ता बाँडफाँटमा जसपालाई किनारा लगाइएकोमा पार्टीले प्रधानमन्त्री प्रचण्डलाई दोषी देखिएको हो । जसपाका एकजना कार्यकारिणी सदस्यले भने, ‘हाम्रो पार्टीले प्रधानमन्त्री प्रचण्डलाई हरेक मोडमा साथ दिएको थियो, तर अहिले आएर हामीलाई बेवास्ता गरिएको छ ।’

तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा आएदेखि जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रचण्डलाई पाइला–पाइलामा साथ दिँदै आएका छन् । गणतन्त्र नेपालको पहिलो सरकार निर्माण हुँदा प्रचण्डलाई प्रधानमन्त्री बनाउनुदेखि लिएर संविधानलाई अधिकार सम्पन्न बनाउन ३३ दलीय गठबन्धन बनाउनसम्ममा यादवले प्रचण्डलाई साथ दिएका थिए । 

तर आज यादवलाई प्रचण्डको आवश्यकता हुँदा प्रचण्डको साथ नपाएको गुनासो पार्टीका नेताहरूले गरेका छन् । 

जसपाका ती नेताले भने, ‘केपी शर्मा ओलीको सरकार भत्काएर काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन उपेन्द्रजीले निकै मेहनत गर्नुभएको थियो । तर त्यो गठबन्धनमा पनि माओवादीका अध्यक्ष प्रचण्डले हामीलाई सहयोग गर्नुभएन । हामी बाध्य भएर गठबन्धन छाडेर निस्किनु परेको थियो । अहिलेको गठबन्धनमा फेरि त्यही अवस्था सृजना भएको छ जहाँ प्रचण्डबाट हामीलाई असहयोग भइरहेको छ ।’

गठबन्धन सरकारमा अरू सबैले रोजी–रोजी मन्त्रालय पाए पनि जसपाले सो अवसर नपाएको नेताहरूको गुनासो छ । जसपाले नयाँ सरकारमा तीनवटा मन्त्रालय माग गरेको थियो । तीनवटा नभए उपराष्ट्रपतिसहित दुईवटा मन्त्रालय दिए पुग्ने पार्टीको भनाई थियो । उपराष्ट्रपति त टाढाको कुरा भयो, दुईटा मन्त्रालयसमेत रोज्न नदिएको ती नेताले बताए ।

प्रधानमन्त्री प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि असन्तुष्ट छन् ।  

‘जसपाले नयाँ सरकारमा सहरी विकास मन्त्रालय र ऊर्जा मन्त्रालय माग गरेको थियो । तर माओवादी र एमाले दिन तयार भएन,’ ती नेताले भने । वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय जसपाका लागि छुट्याएर राखियो । 

सो अफरलाई अस्वीकार गरी जसपा अझैसम्म सरकारमा सहभागी भएको छैन । कसलाई कुन मन्त्रालय दिने नदिने काम प्रधानमन्त्रीको भएको र उनले चाहेको भए जसपालाई मिलाएर सरकारमा सहभागी गराउन सक्थे । तर त्यसका लागि पहल नै नगरेको सो पार्टीका नेताहरूको गुनासो छ । पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र जसपाका अध्यक्ष प्रचण्डबीच संवाद पनि भएको छैन । बोलचाल नै बन्द भएको अवस्था छ । 

उता, जसपा, नेकपा एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रबीच एकता हुने प्रक्रिया सुरु भएको थियो । यस विषयमा प्रचण्ड र यादवबीच छलफल पनि भएको थियो । सोही छलफलका आधारमा दुवै पार्टीले कार्यदल पनि गठन गरे । तर सत्ताको बाँडफाँटका कारण प्रचण्ड र उपेन्द्रबीच दुरी बढेपछि एकता प्रक्रिया पनि रोकिएको छ । एकताको विषयमा पछिल्लो समय दुवै पार्टीबीच कुनै छलफल भएको छैन । 

यता, प्रधानमन्त्री प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि असन्तुष्ट छन् । एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकताका लागि रुची देखाएको छैन । दुई पार्टीका वार्ता समिति गठन भए पनि हालसम्म औपचारिक छलफल भएको छैन । 

सत्ता गठबन्धन बनाउनका लागि माओवादीका अध्यक्ष प्रचण्डले आफूलाई धोका दिएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपाल उनीप्रति असन्तुष्ट देखिन्छन् । माओवादीले नेपाल समाजवादी पार्टीसँग एकता प्रक्रियालाई अगाडि बढाएको छ भने यता एकीकृत समाजवादीले जसपासँग एकता प्रक्रिया अगाडि बढाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप