राज्यले चलचित्र पत्रकारहरुलाई चलचित्रकर्मीको रुपमा समेटेको छ– भुवन केसी
काठमाडौँ । ‘फिल्म जर्नालिज्म इन मोडर्न ईरा’ शीर्षकमा चलचित्र पत्रकार संघ नेपालको आयोजनामा दुई दिने कार्यशाला शनिबार सकिएको छ । शुक्रबारबाट सुरु भएको कार्यशालामा काठमाडौँ र काठमाडौँ बाहिरका सय बढी रंग पत्रकारको सहभागिता रहेको थियो । काठमाडौँस्थित चलचित्र विकास बोर्डको हलमा संचालित कार्यशालामा प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, विकास रौनियार, केपी. ढुंगाना, बिष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्रिय, बिदुर गिरी, बिजयरत्न तुलाधर र डब्बु क्षेत्रीले पत्रकार आचारसंहिता, समाचार लेखन शैली, चलचित्र पत्रकारिताको इतिहास, विश्च सिनेमाको इतिहास, फोटोपत्रकारिता, साइबर क्राईम, भिडियो कथ्य शैली, प्रस्तोता तथा चलचित्र पत्रकारिताको महत्व लगायतका शीर्षकहरुमा कक्षा सञ्चालक भएका थिए ।
सञ्चारकर्मी, लेखक तथा निर्देशक प्रकाश सायमीले चलचित्रको इतिहासबारे चर्चा गर्दै समीक्षा गर्न चलचित्र बुझ्नु आवश्यक रहेको बताए । ‘कथा भन्ने शैलीमा परिवर्तन आइरहेका छन् । त्यसैले मेकर्सझैँ समीक्षक पनि चनाखो हुनु जरुरी छ’, उनले भने । फोटो पत्रकार विकास रौनियारले चलचित्र पत्रकारितामा फोटोको प्रमुख भूमिका रहने बताउँदै यसका आधारभूत मापदण्डहरु पालना गर्नुपर्ने बताए ।
पत्रकार केपी ढुंगाना, नरेश भट्टराई, शान्ति प्रिय, बिदुर गिरी, बिजयरत्न तुलाधर र डब्बु क्षेत्रीले चलचित्र विधाको पत्रकारिताको महत्वबारे चर्चा गरेका थिए । शनिबार नै आयोजना गरिएको समापन कार्यक्रममा प्रमुख अतिथि रहेका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र पत्रकारहरु चलचित्र क्षेत्रकै महत्वपूर्ण अंग रहेको बताए । ‘नीतिगत रुपमा नै राज्यले चलचित्र पत्रकारहरुलाई चलचित्रकर्मीको रुपमा समेटेको छ । यस क्षेत्रमा योगदान गर्ने पत्रकारहरुलाई सम्मान, पुरस्कार प्रदान गर्नुका साथै चलचित्रकर्मी परिचयपत्र समेत राज्यले प्रदान गर्न सक्छ’ केसीले भने ।
चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाले कार्यशालामा सिकेका कुराहरुले चलचित्र पत्रकारिताको कर्म गर्न सहयोगी भूमिका खेल्ने बिश्वास लिएको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण