शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेस प्रदेशमा कुष्ठरोगीको सङ्ख्या अत्यधिक

आइतबार, १५ माघ २०७९, २२ : ४५
आइतबार, १५ माघ २०७९

धनुषा । मधेस प्रदेशमा कुष्ठरोगीको सङ्ख्या अत्यधिक रहेको देखिएको छ । सत्तरीऔँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार जनकपुरधाममा सामाजिक विकास मन्त्रालयमातहतको स्वास्थ्य निर्देशनालयद्वारा आयोजित एक कार्यक्रममा कुष्ठरोगी अत्यधिक रहेको जानकारी दिइयो ।

स्वास्थ्य निर्देशनालय कुष्ठरोग, क्षयरोग तथा एचआइभी एड्स शाखाका प्रमुख राजवीर यादवले चालु आर्थिक वर्ष २०७९/८० मा नेपालमा दुई हजार दुई सय ८५ नयाँ कुष्ठरोगी रहेकामा मधेस प्रदेशमा मात्रै नौ सय १० जना कुष्ठरोगीका बिरामी रहेको बताए ।

सबैभन्दा बढी बारा जिल्लामा कुष्ठरोगी रहेको बताउँदै यादवले  नेपालका कुल रोगीमध्ये मधेस प्रदेशमा मात्र ४० प्रतिशत भेटिएको जानकारी दिए । प्रमुख यादवले उल्लिखित सङ्ख्याभन्दा पनि बढी कुष्ठरोगी रहे पनि सामाजिक विभेद, घृणाका कारण अस्पताल जाने वातावरण नरहेकाले वास्तविक सङ्ख्या पत्ता लगाउन समस्या रहेको बताए ।

सरकारी तथ्याङ्कानुसार देशभरका १६ जिल्लामा कुष्ठरोग प्रति १० हजार जनसङ्ख्यामा एक भन्दा धेरै रहेको स्थिति छ । बाँके, सर्लाही, झापा, बर्दिया, महोत्तरी, धनुषा, मोरङ, सिरहा, कैलाली, रुपन्देही, कपिलवस्तु, रौतहट, पर्सा, अछाम, नवलपरासी पश्चिम र बारामा कुष्ठरोगी रहेका छन् । मधेस प्रदेशको सप्तरीबाहेक सबै जिल्लामा अहिले कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ ।

‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मूल नाराका साथ धनुषाको सपहीमा सम्पन्न विश्व कुष्ठरोग दिवस कार्यक्रममा सहभागी लालगढ कुष्ठरोग सेवा केन्द्रका उपनिर्देशक डा.कृष्णबहादुर तामाङले कुष्ठरोगीलाई उपचारमात्रै नभई सामाजिक सहयोगसमेत आवश्यक रहेको बताए ।

लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रले अहिले दैनिक चार सय छालाका रोगी तथा कुष्ठरोगीको उपचार गर्दै आएको छ । उपनिर्देशक तामाङले लालगढ अस्पतालले ९२ शय्यामार्फत छाला तथा कुष्ठरोगीका बिरामीको उपचार गर्दै आएको जानकारीसमेत दिए ।

एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) कार्यक्रमअन्तर्गत महोत्तरी र धनुषा जिल्लाका ३३ स्थानीय तहमा कुष्ठरोगका बिरामीसँग सम्पर्क व्यक्तिको पहिचान गर्नुका साथै उनीहरूलाई सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ ।

नेपालमा विसं २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याका रूपमा निवारण (प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कम बिरामी) भएको घोषणा गरिएको थियो । त्यस समयमा राष्ट्रियस्तरमा कुष्ठरोगको प्रकोप दर शून्य दशमलव ७७ रहेको थियो भने आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म शून्य दशलमव ८१ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप