शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

रविबारे सत्ता गठबन्धनमा खटपट हुँदा कांग्रेसमा उत्साह

मङ्गलबार, १७ माघ २०७९, १२ : ५८
मङ्गलबार, १७ माघ २०७९

काठमाडौँ । सत्ता गठबन्धनमा खटपट सुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर विपक्षीमा बसेको नेपाली कांग्रेस उत्साहित देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चिढिँदा कांग्रेस उत्साहित देखिएको हो ।

गत पुस १० मा कांग्रेस नेतृत्वको गठबन्धन छाडेर माओवादी केन्द्रले सरकार निर्माणका लागि एमाले नेतृत्वको गठबन्धनसँग सहकार्य थालेको थियो । माओवादीले साथ छाडेपछि सङ्घदेखि सातै प्रदेशसम्म कांग्रेस विपक्षी बेन्चमा धकेलिएको छ । तर सरकार बनेको एक महिनामै सत्ता गठबन्धनमा खटपटले चाडै चुनावताकाको गठबन्धन व्युत्याउनेमा कांग्रेस नेताहरू आशावादी देखिएको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्री प्रचण्डको अडानले एमाले सशङ्कित छ । फागुनमा २५ हुने राष्ट्रपतिको निर्वाचनमा एमाले पुस १० को सहमति अनुसार सत्ता गठबन्धनबाट आफ्नो पार्टीको उम्मेदवारलाई

हुनुपर्ने अडानबाट टसमस भएको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेले उठाउने उम्मेदवारमा बाहेक राष्ट्रिय सहमति नहुने बताइरहेका छन् । 

अध्यक्ष ओलीको यो चाहाना र अभिव्यक्तिविपरित स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने राष्ट्रपतिमा राष्ट्रिय सहमतिका आधारमा सबैलाई स्वीकार्य पात्र खोज्नुपर्ने पक्षमा छन् । 

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा भएको छलफलमा समेत माओवादीका अधिकांश नेताहरूले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने निष्कर्ष निकालेको छ । कांग्रेसले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने धारणा सार्वजनिक गर्नु र त्यसमा माओवादीको टोन मिल्न गएपछि आफ्नो पहलमा बनेको सत्ता समीकरण भत्किने हो कि भन्ने त्रास एमालेमा छ । 

त्यसैमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री दिने नदिने विषयमा मतभेद सुरु भएको छ । नागरिकता विवादमा रास्वपाका सभापति रवि लामिछानेको गृहमन्त्रीको पद गुमेसँगै गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हालेको अवस्था छ । लामिछानेले आइतबार नागरिकता पुनः प्राप्ति गरेपछि लामिछानेले  आफूलाई गृह मन्त्रालयको जिम्मेवारी दिन दौडधुप थालिसकेका छन् । आइतबार नेपाली नागरिकता कायम भएपछि लामिछाने पुन गुमेको पद फर्काउन प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

भेटमा उनले पहिलाको सहमति अनुसार नै उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी दिन प्रचण्डसँग आग्रह गरेका थिए । सांसद नभए पनि ६ महिनासम्म गैरसांसद मन्त्री बन्न पाउने व्यवस्थाअनुसार आफूलाई जिम्मेवारी दिनुपर्ने लामिछानेको जोड छ । मंगलबार बिहान पनि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री चाहिने अडान राखेका थिए । प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृहमन्त्री दिन नसकिने जवाफ पठाएको बालुवाटार स्रोत बत्ताउँछ । राहदानी विवाद र गैरसांसदलाई गृहको चाबी दिन नहुने माओवादीमा आवाज उठेको छ । सरकारको नेतृत्वको गरेको दलसँग प्रभावशाली मन्त्रालय नभएको भन्दै गृह रास्वपालाई दिन नहुने माओवादी नेताहरूको दबाब छ । तर गृह मन्त्रालय नपाए रास्वपाले सरकारबाटै बाहिरिने चेतावनी दिएको छ ।

यस्तो अवस्थामा वर्तमान सत्ता समीकरणमा फेरबदल हुनसक्ने एमालेको आङ्कलन भइरहेको छ । सत्ता गठबन्धनभित्रको सबै गतिविधि कांग्रेसले नियालिरहेको छ । कांग्रेस उपत्यका बाहिर भएका पार्टीका शीर्ष नेतालाई काठमाडौँ बोलाएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आजै गृह जिल्ला तनहुँबाट काठमाडौँ आउँदै छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूसँग आन्तरिक छलफल गरिरहेका छन् । कांग्रेस नेताहरू कुनै पनि बेला सत्ता समीकरण फेरबदल हुन सक्ने आशामा छन् । 

कांग्रेस सांसद चन्द्र भण्डारीले सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने बताएका थिए । उनले भने, ‘अहिलेको सरकार खिचडी सरकार हो । त्यसैले यो सत्ता गठबन्धन पनि धेरै समय टिक्दैन । प्रचण्ड जता पनि टर्न लिन सक्ने नेता हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप