सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेताहरुको स्वार्थले लोसपा गठन भएको डेढ वर्ष बित्दापनि बनेन केन्द्रीय समिति

मङ्गलबार, १७ माघ २०७९, १५ : २८
मङ्गलबार, १७ माघ २०७९

काठमाडौँ । महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन भएको डेढ वर्ष बितिसक्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन । डेढ वर्षदेखि लोसपा केन्द्रीय समिति बिनै सञ्चालन भइरहेको हो । 

जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट अलग भएर ठाकुरले २०७८ भदौ २ गते निर्वाचन आयोगमा लोसपा दर्ताका लागि निवेदन दिएका थिए । भदौ ९ गते दलको मान्यता प्राप्त गर्दा आयोगमा ३३ सदस्यीय कार्यकारिणी समिति सदस्यको नामावली बुझाइएको थियो । 

हालसम्म सोही समितिबाट पार्टी सञ्चालन भइरहेको हो । ३३ सदस्यीय कार्यकारिणी समितिमा रहेका नेताहरूमध्ये तीन जनाले त पार्टी नै छाडिसकेका छन् । विधानअनुसार कार्यकारिणी समिति ५२ सदस्यीय रहेको भनिएकामा त्यसलाई समेत पार्टीले पूर्णता दिन सकेको छैन । 

पार्टी गठन भएपछि स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव सम्पन्न भइसकेको छ । दुईवटा सरकारलाई सो पार्टीको समर्थन पनि छ । तर पार्टीको केन्द्रीय समितिसँगै कुनै निकाय, विभाग, समितिहरू पनि बन्न सकेको छैन । 

भ्रातृ सङ्गठनहरूको नामकरण भएको छ तर सङ्गठन विस्तार भएको छैन । केही प्रदेश तथा जिल्ला कमिटी बनाइएको छ । तर सबै जिल्ला तथा प्रदेशले पूर्णता पनि पाएको छैन । बेलाबेला केन्द्रीय समिति बनाउनेबारे पार्टीमा कुरा उठे पनि कार्यान्वयन हुन नसकेको छैन । 

लोसपामा एक जना अध्यक्ष भए पनि विगतको राजपाको अध्यक्ष मण्डलमा जस्तै चार जनामा भागबन्डा हुने गरेको छ । राजपा हुँदा छ जनाको अध्यक्ष मण्डल थियो । त्यसमध्ये महेन्द्र राय यादव र राजकिशोर यादव अन्य पार्टीमा गइसकेका छन् । 

तत्कालीन राजपामा रहेका अध्यक्ष मण्डलको सदस्यमध्ये महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा लोसपामा रहेका छन् । लोसपामा यिनै चारजनाको बीचमा हरेक कुराको भागबन्डा हुने गरेको छ । लोसपाका एक जना कार्यकारिणी सदस्यले भने, ‘राजपाको अध्यक्ष मण्डल लोसपामा ब्युँतिएजस्तो छ, अध्यक्ष मण्डलका कारण राजपा जसरी ठिकसँग चलेन, त्यस्तै हालत अहिले लोसपाको भएको छ ।’

एकल अध्यक्ष प्रणालीको पार्टीमा अध्यक्षलाई ठिक ढङ्गले काम गर्न दिनुपर्छ । तर लोसपामा त्यस्तो छैन । हरेक कुरामा शीर्ष नेताहरूबाट अवरोध भइरहेको ती नेताले दाबी गरे । उनले भने, ‘अध्यक्ष ठाकुरलाई काम गर्न दिएको भए अहिलेसम्म सबै भइसकेको हुन्थ्यो । तर अन्य शीर्ष नेताहरूको तर्फबाट डिस्टर्व भइरहेको छ ।’

केन्द्रीय समितिमा आ–आफ्नो मान्छे पर्नुपर्ने गरी नाम ठाकुरलाई बुझाइएको छ ।  सबैलाई समेट्न कठिनाइ हुने भएकाले केन्द्रीय समितिलगायत अन्य विभाग र समितिहरू गठन नभएको सो पार्टीका एक नेताले बताए । उनका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको आफ्नै चाहना छ, शरसिंह भण्डारी र अनिल झाको आआफ्नै स्वार्थ  छ । जसका कारण पार्टी सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ । 

कार्यकारिणी सदस्य अकबाल अहमदले केन्द्रीय समिति बनाउने बारेमा शीर्ष नेताहरूको बीचमा छलफल भइरहेको बताए । उनले भने, ‘पार्टी गठन भएदेखि चुनावै चुनाव भयो, केन्द्रीय समिति तथा अन्य भ्रातृ सङ्गठन विस्तार गर्ने त्यस्तो मौका नै भएन ।  अब बिस्तारै सबै समितिहरू बन्छन्’, उनले भने । 

त्यस्तै, सोही पार्टीका अर्का नेता मनिष मिश्रले पनि केन्द्रीय समितिलगायत अन्य विभाग तथा भ्रातृ सङ्गठनहरू चाँडै विस्तार हुने बताए । उनले भने, ‘शीर्ष नेताहरू केन्द्रीय समिति बनाउनका लागि आन्तरिक छलफलमा जुटेका छन् । यही महिनाभित्र केन्द्रीय समिति घोषणा हुन्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप