शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कहाँ जान्छन् कृषिका स्नातक ?

मङ्गलबार, १७ माघ २०७९, १५ : ४९
मङ्गलबार, १७ माघ २०७९

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानअन्तर्गत केही दिनअघि मात्र ४३८ जना स्नातक उत्तीर्ण भएका छन् । यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयसहित गरेर अहिले हरेक वर्ष १५०० भन्दा बढी कृषि स्नातक उत्पादन हुन्छन् । यस आलेखमा कृषिप्रधान देशका समग्र कृषि प्राविधिकलाई प्रतिनिधित्व गर्ने कृषि स्नातकहरूको अवस्था के छ ? भन्ने दृष्टान्त केलाउन खोजिएको छ । 

अवस्था १ 

४ वर्षअघि कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट स्नातक सकेका ४ जना प्राविधिक मिलेर ललितपुरमा आफ्नै कन्सल्ट्यान्ट खोले । ठूलो उत्साहको साथ खोलेको आफ्नो कम्पनीबाट केही वर्ष पकेट खर्च जुटाउँदै स्थापित बन्ने उत्साह त्यो समूहमा थियो । दिन, रात, बिदा नभनी काम गर्दा पनि राम्रो कम्पनी चल्न नसकेपछि सबै आआफ्नो ढङ्गबाट अघि बढ्ने निर्णय गरे । अहिले समूहका सदस्यहरू कोही जागिर खोजिरहेका छन् भने कोही विदेश जाने तयारीमा छन् । “सरकारी कार्यालयका अधिकृत सबैले आआफ्ना कन्सल्ट्यान्ट खोलेका छन्, आफ्नो नभएकाले जता कमिसन मिल्छ, त्यहाँबाट बनेका डकुमेन्टहरू मात्र स्वीकृत गर्छन्, प्रायः सबैको झोलामा फार्म छ । सहुलियत, अनुदान तिनैलाई मिल्छ । सिन्डिकेटले नयाँलाई चल्न त धेरै गाह्रो छ ।” एक जना सदस्यले निरास हुँदै बताए ।  

अवस्था २ 

लमजुङमा अध्ययन सकेको र केही समयपछि नेपाल सरकारको स्थायी अधिकृत जागिर खाएका एक व्यक्ति काठमाडौँमा भेटिए । करिब एक वर्ष सेवा गरिसकेका ती व्यक्तिबाट समग्र स्थानीय क्षेत्रको कृषि र सरकारी योजनाका बारेमा केही बुझिएला कि भन्ने अपेक्षा थियो । सरकारी क्षेत्रमा प्रवेश गरेका युवाको नजर कस्तो कृषि विकासतर्फ होला भनेर बुभ्न खोजेँ । तर सरकारी सेवामा गएको एक वर्षमै पूर्ण असन्तुष्ट उनीले कार्यालयमा नानाथरिको कागज बनाउन, सहरका जग्गाका मूल्य, सेयर बजार र कमिसन आउने क्षेत्रहरूको बारेमा मात्र विशेष छलफल हुने भएकाले त्यसमा मात्र जानकार भएको बताए । “खै यही बसिरहे त कुवाको भ्यागुता भइएला जस्तो छ । पढ्नै भए पनि बाहिर जान पर्छ कि के हो ?” सरकारी सेवामा प्रवेश गर्ने सपना बोकेरै कृषि पढेका उनको त्यो भनाइ साँच्चै निराशाजनक थियो । 

अवस्था ३  

कृषिको स्नातक एउटै क्याम्पसमा पढेका र स्नातकोत्तर कृषि तथा पशु विज्ञान अध्ययन संस्थान र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा पढ्दै गरेका दुई जनासँग कीर्तिपुर त्रि.वि. परिसरभित्रै चिया खाँदै गर्दा भेट भयो । फरक फरक विश्वविद्यालयका स्नातकोत्तर अध्ययन गरिरहेका उनीहरूको भोगाइ चाहिँ एउटै थियो । “चार महिना भयो काठमाडौँमा कोठा लिएर बसेको एउटा क्लास भएको छैन । सरलाई फोन गरेर गुनासो गर्दा उल्टै मलाई सोधेर कोठा लिएको थिस् भन्नुहुन्छ । जिन्दगीलाई मजाक बनाइदिन्छन् यार ।” कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा पढ्ने एक जनाले सुनाए । कृषि तथा वन विज्ञान विश्वविद्यालय पढ्ने साथीको पनि अवस्था त्यही थियो । कृषिविज्ञ बन्न पढाइ सुरु गरेका उनीहरू अनभिज्ञ जिन्दगीदेखि निरस देखिन्थे । पढ्न भनेर काठमाडौँ र चितवनमा कोठा भाडामा लिएर बसेका उनीहरू अब जागिर खोज्नुको विकल्प देख्दैनथे ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक प्राध्यापकले नेपाल कृषि अनुसन्धान परिषद्मा भएको कार्यक्रममा आफूले पढाएका विद्यार्थी विदेशिएको तथ्याङ्क गौरवको साथ प्रस्तुत गर्नुभयो । प्राध्यापकहरूले अध्यापनको उपलब्धि केलाई ठान्नुहुन्छ भन्ने कुरा यही परिदृश्यबाट बुझ्न सकिन्छ ।

परिदृश्य ४ 

चार वर्षअघि नै कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट अध्ययन सम्पन्न गरेर आफ्नै क्षेत्रमा उद्यमी बन्ने हुटहुटीले सुदूरपश्चिममा नगदेबालीको उत्पादन सुरु गरेका एक युवाको सपना निकै ठूलो थियो । चिसो मौसममा भएका उत्पादनलाई लिएर देशभरि नै व्यापार सुरु गर्ने योजना बोकेर उनले नगदे बालीको बीउ उत्पादन सुरु गरे । तर भारतीय सस्तो उत्पादनका अगाडि उनले प्रतिस्पर्धा गर्न सक्ने अवस्था थिएन । तर उनमा बजारभन्दा पनि सरकारी अनुदानसँग धेरै गुनासो थियो । “पाँच लाखको अनुदान दिन्छु, दुई लाख दिनु भनेर पहिल्यै भन्ने सरकारी कर्मचारी छन् । अनुदानले कामलाई प्रोत्साहन गर्नेभन्दा पनि निरुत्साहित गर्ने रै’छ । कागजी प्रक्रिया मिलाउन खेतमा भन्दा बढी समय छुट्टाउनु पर्छ । खै बेकार चर वर्ष खेर गयो, ऋण मिलाएर अस्ट्रेलिया जान सोच बनाएँ,” मन्द हाँसोमै उनले आफ्नो दुःख पोखे । 

परिदृश्य ५ 

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको विद्यार्थी भर्नामा भएको बेथितिविरुद्ध आन्दोलनरत विद्यार्थी र अध्ययन संस्थानका प्राध्यापक र पदाधिकारीबीच आन्दोलनका विषयलाई लिएर छलफल चलिरहेको थियो । अध्ययन संस्थानको शैक्षिक गुणस्तरको विषयमा छलफल हुँदैगर्दा स्नातकका उत्कृष्ट विद्यार्थीहरू किन स्नातकोत्तर अध्ययन गर्न नेपाल बस्दैनन् भन्ने प्रश्न उठ्यो । त्यो प्रश्न उठ्ने वित्तिकै एक प्राध्यापकले झटपट उत्तर दिनुभयो, “राम्रो पढ्न सक्ने कोही यहाँ बस्दैनन्, जो बाहिर जान सक्दैन त्यही यहाँ पढ्छ, अनि आन्दोलन गरेर बस्छ ।” 

त्यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक प्राध्यापकले नेपाल कृषि अनुसन्धान परिषद्मा भएको कार्यक्रममा आफूले पढाएका विद्यार्थी विदेशिएको तथ्याङ्क गौरवको साथ प्रस्तुत गर्नुभयो । प्राध्यापकहरूले अध्यापनको उपलब्धि केलाई ठान्नुहुन्छ भन्ने कुरा यही परिदृश्यबाट बुझ्न सकिन्छ ।

माथिका परिदृश्य कृषिप्रधान देशका कृषि प्राविधिकहरूको प्रतिनिधिमूलक अवस्था हुन् । कृषि अध्ययन गरेर उद्यमी बनेका, सरकारी सेवामा प्रवेश गरेका, स्वरोजगारीको बाटो खोज्दै गरेका र उच्च शिक्षा अध्ययन गर्दै गरेका सबैमा निराशा देखिन्छ । कृषि विकासको सपना देखाएर किसानको भोटले चुनाव जित्ने राजनीतिक दल र तिनका विद्यार्थी सङ्गठन अहिले पनि समृद्ध नेपाल, सुखी नेपालीको नारा लगाइरहेका छन् । तर करोडौँ किसान भएको देशमा भएका सयौँ प्राविधिक अट्न किन सकिरहेका छैनन् भन्ने प्रश्नमा कसैको चासो छैन ।

शिक्षित बन्नु भनेको हातमा प्रमाणपत्र हुनु मात्र होइन सामाजिक चेतना र उत्तरदायित्वको आभास हुनु पनि हो । जुन शिक्षाको प्रमाणपत्र अङ्कमा मात्र सीमित हुन्छ, व्यावहारिक जीवनमा उपयोग हुँदैन त्यस्तो शिक्षा दैनिक जीवनयापनका लागि खतरनाक हुन्छ । अझ कृषिजस्तो प्राविधिक शिक्षाले त मानिसको दैनिक व्यवहार परिवर्तन गर्नुपर्ने हो, सामाजिक अर्थव्यवस्थालाई परिवर्तन गर्नुपर्ने हो । आम मानिसको दैनिकीसँग जोडिएको कृषि क्षेत्रमा विज्ञता हाँसिल गरेको मान्छे समाजमा हरदिन रहनुपर्ने हो । तर हाम्रो अवस्था ठीक विपरीत छ । कृषि प्राविधिकहरू स्थानीय तहमा छैनन् र जानै चाहँदैनन् । कृषि प्राविधिकसँग आफ्नो माटो, आफ्नो कृषिको ज्ञान नै छैन । विदेशी पाठ्यक्रमबाट सारिएका पाठ्यवस्तु पढेर गाउँमा पुग्दा कति प्राविधिकहरू अवाक् भएका र लखेटिएका उदाहरण हामीसँगै छन् । कृषिको उच्च शिक्षाले गाउँमा गएर हलोजुवा समात्न, गोबर उठाउन लजाउने बनाउँछ । कोट टाई लगाएर कार्यालय धाउने मात्र बनाउँछ भने तपाईं आफैँ भन्नुस् त्यस्तो शिक्षाले देश कता पु¥याउला ?

हाम्रो देशमा कृषि स्नातक शिक्षा या  विदेश जान प्रयोग हुन्छ या जागिर खान । उदाहरणका रूपमा अध्ययनपछि के गर्छाै भनेर प्रश्न गर्दा लमजुङबाट भर्खरै  कृषि स्नातक अध्ययन सम्पन्न गरेका ८२ प्रतिशत विद्यार्थीले बाहिर जान तयारी गर्ने बताए । बाँकीका १८ प्रतिशत विद्यार्थीले सरकारी सेवाको तयारीमा लाग्ने बताए । अध्ययन सकेर कृषि क्षेत्रमै काम गर्ने स्नातक एक जना पनि भेटिएनन् । 

नेपालको कृषि शिक्षाको अवस्था परिवर्तन गर्ने र शिक्षित युवालाई नेपालमै कृषि उद्यमी या असल प्राविधिक बनाउने हो भने सर्वप्रथम अहिलेको पाठ्यक्रम पूर्ण परिवर्तन गर्नुपर्ने देखिन्छ ।

कृषि स्नातको विदेश पलायनको अवस्था कस्तो भनेर अर्काे पनि उदाहरण छ– कृषि स्नातक कार्यविधि, २०७८ मन्त्रालयबाटै पारित गरेर कृषि विभागले तत्काल कृषिमा स्नातक अध्ययन सकेकालाई कृषि ज्ञान केन्द्रमा पठाउने योजना बनायो । कृषि स्नातक उत्तीर्ण गरेका ७७ जनालाई करारमा नियुक्ति गर्न पहिलो पटक विभागले २०० जनाको नाम प्रकाशन गरेको थियो । विभागलाई उक्त सङ्ख्या पूर्ति गर्ने तीवटा सूचना प्रकाशित गर्नुप¥यो । त्यसको प्रमुख कारण थियो– उत्कृष्ट विद्यार्थीको विदेश पलायन । 

२०७६ मा लमजुङ क्याम्पसबाट स्नातक अध्ययन सकेका ४३ प्रतिशत विद्यार्थी अहिले उच्च अध्ययनका लागि अन्य देश गएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय र अन्य विश्वविद्यालयमा पनि अवस्था उस्तै नै छ । 

बर्सेनि सयौँ कृषि स्नातकहरू यो वा त्यो बहानामा विदेशिने गरेका छन् । उच्च अध्ययनका लागि बाहिर गएका न्यून विद्यार्थी मात्रै नेपाल फर्किने गरेका छन् । यसरी उच्च अध्ययनको झारो टराइ र अध्ययन संस्थानमा व्याप्त फोहोरी राजनीतिले सरकारको करोडौँ लगानी बालुवामा पानी हाले सरह हुने गरेको छ । आजभन्दा करिब ३० वर्ष अगाडि डोरबहादुर विष्टले आफ्नो पुस्तक फ्याटलिज्म एन्ड डेभलपमेन्टमा कृषि अध्ययनकर्ताहरूको अवस्थालाई लक्षित गर्दै भनेका थिए, “किसानहरू कृषि तालिम लिनै पाउँदैनन्, जसलाई माटोप्रति लगाव नै छैन, उही कृषि प्राविधिक बन्छ । कृषि शिक्षा सरकारी जागिरको लागि मात्र पढिन्छ, पढाइन्छ ।” यो भनाइको सार्थकता अहिले पनि उस्तै नै छ । 

नेपालको कृषि शिक्षाको अवस्था परिवर्तन गर्ने र शिक्षित युवालाई नेपालमै कृषि उद्यमी या असल प्राविधिक बनाउने हो भने सर्वप्रथम अहिलेको पाठ्यक्रम पूर्ण परिवर्तन गर्नुपर्ने देखिन्छ । नेपाली आली र बाली नचिन्ने पाठ्यक्रमले फगत प्रमाणपत्र मात्र वितरण गरेको आभास हुन्छ ।

दोस्रो, कृषि शिक्षामा व्याप्त फोहोरी राजनीतिको अन्त्य गरी गुणस्तरीय प्रयोगात्मक अध्ययनलाई जोड दिनुपर्छ । अध्ययन अध्ययपन बन्द कोठाभित्र होइन किसानको खेतबारीमा गर्ने व्यवस्था मिलाउनुपर्छ र किसानकै खेतबारीमा रहेका समस्या सापेक्षिक अनुसन्धान गराइनुपर्छ । कृषि उद्यममा लाग्ने युवालाई निःसर्त सहुलियत ऋणको व्यवस्था गर्नुपर्छ । नत्रभने हरेक वर्ष कृषि अध्यापन गर्ने शैक्षिक संस्थाले विदेसिएका विद्यार्थीको ग्राफ देखाएर नाक घोक्र्याउने र विदेसिएका युवाको रेमिट्यान्सबाट चलेका सरकार र राजनीतिक दलका नेताले कृषि विकासको सपना देखाउने क्रम दोहोरिरहने छ, कृषिको अवस्था भने झन् निराशाजनक भइरहनेछ । 

लेखक कृषि प्रसारमा स्नातकोत्तर तहमा अध्ययनरत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिपेश नेपाल
दिपेश नेपाल
लेखकबाट थप