शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
कांग्रेसमा किचलो

कांग्रेस अन्तरविरोध : दुवै पक्षका अडान पार्टी जुटाउन कि फुटाउनतिर ?

शुक्रबार, २६ असार २०८३, १० : ००
शुक्रबार, २६ असार २०८३

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापाले १४औँ महाधिवेशनबाट आएका १११ केन्द्रीय समिति सदस्यलाई वर्तमान समितिमा समायोजन गर्ने र क्रियाशील सदस्यता अद्यावधिक नगर्ने कुरा विधानसम्मत नभएको बताएका छन् ।
  • इतर समूहका नेताहरूले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष बनाउन आफूले राखेका दुई शर्त मान्नुपर्ने माग गर्दै यी माग पूरा नभए पार्टी एक राख्न नचाहेको आरोप लगाएका छन् ।
  • महामन्त्री गुरुराज घिमिरेले पार्टी एकताका लागि छलफल अगाडि बढेको र आन्तरिक रूपमा एकताको सम्भावना रहेको बताउँदै सहमतिका लागि राजनीतिक संयन्त्र बनाउने प्रस्ताव आएको जानकारी दिएका छन् ।

काठमाडौँ । तीन दिनको अन्तरालमा नेपाली कांग्रेसमा दुई समूहबाट दुई फरक–फरक विषय बाहिर आए । सभापति गगन थापाले असार २२ गते सोमबार सार्वजनिक कार्यक्रममै १४औँ महाधिवेशनबाट आएका १११ केन्द्रीय समिति सदस्यलाई पनि वर्तमान समितिमा समायोजन गर्ने र क्रियाशील सदस्यता अद्यावधिक नगर्ने विषयलाई आफूले स्विकार्न नसक्ने बताए ।

पार्टीकोे जनसम्पर्क समिति जापानको अधिवेशनमा भर्चुअल सम्बोधन गर्दै सभापति थापाले भने, ‘विधानले जुन कुरा दिँदैन, त्यो कुरा मैले चाहेर पनि गर्न सक्दिनँ । एउटा, नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक नगरीकन चलाउँ भन्ने कुरा नेपाली कांग्रेसको विधानमै भएको व्यवस्थाको बर्खिलाप हुन्छ । त्यो अव्यावहारिक पनि हुन्छ, त्यो अराजनीतिक पनि हुन्छ ।’

इतर समूह निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा.शेखर कोइराला समूहको माग सम्बोधन गर्न नसक्ने जनाउँ दिँदै सभापति थापाले त्यस्तो बताएका थिए । उनले थप भनेका थिए, ‘विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय समिति बनिसक्यो । यो सबैको केन्द्रीय समिति हो । सभापतिले पाएको अधिकार अनुसार बढीभन्दा बढी साथीहरूलाई सहभागी गराउने जिम्मेवारी पूरा गरिहाल्छु, तर यो अघिल्लो केन्द्र समितिको एक सय कति जना बाँकी हुनुहुन्छ, त्यो सबै साथीहरूलाई ल्याएर यसमा मिसाउनु पर्छ भन्ने विधानले नदिने कुरा गर्नु पनि हुँदैन ।’

सभापति थापाले विधानमा व्यवस्था गरिएको क्रियाशील सदस्यता अध्यावधिक नगरी महाधिवेशनमा भाग लिन नपाइने विषय पनि सच्याउन नसकिने उनको भनाइ थियो ।

यता इतर समूहका नेताहरू भने महाधिवेशनलाई स्वच्छ निष्पक्ष बनाउन आफूहरूले राखेका दुई शर्त मान्नुपर्ने बताउँछन् । यी माग पूरा नगरेर विशेष महाधिवेशनबाट संस्थापन बनेको समूहले पार्टीलाई एक राख्न नचाहेको इतर समूहको भनाइ छ । गत सोमबारदेखि बुधबारसम्म काठमाडौँको चुनदेवीमा बसेको देउवा समूहको बैठक समापनका क्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले सहमतिका लागि पहल गर्नुपर्ने भए पनि उनीहरू सहमति गर्न पहल गर्ने कुराबाट निकै टाढा रहेको बताए ।

‘जसले एकता गर्नुपर्ने हो, उनीहरू बहुत टाढा–टाढा छन्,’ बैठक समापनका क्रममा खड्काले भनेका थिए, ‘पार्टी विभाजन हाम्रा कारणले हुँदैन । सभापतिले चाह्यो भने पार्टी विभाजन हुन्छ ।’

दुई समूहका नेतृत्वकर्ताका यी भनाइबाट कांग्रेस एकता टाँढिदै छ भन्ने देखिन्छ । तर, बाहिर एकता नहुनेजस्ते देखिए पनि भित्र त्यस्तो नरहेको र सहमतिका लागि प्रयास भइरहेको महामन्त्री गुरुराज घिमिरे बताउँछन् ।

‘पार्टीको आन्तरिक विवाद मिलाउने विषयमा छलफल निकै अगाडि बढेका छन् । अब त्यसले आकार–रङ लिन नपाएको मात्रै हो,’ महामन्त्री घिमिरेले रातोपाटीसँग भने, ‘व्यक्तिगत तवरमा, संस्थागत तवरमा छलफलहरू अगाडि बढेका छन् । दुवै पक्षबाट प्रस्ताव आदानप्रदान पनि भएका छन् । बाहिर जटिलता जस्तो देखिन्छ, आन्तरिक रूपबाट आन्तरिक आयाम हेर्दाखेरि त्यति जटिल देखिँदैन ।’

घिमिरेले संस्थापन र इतर समूहका नेताहरूको एक भएर अगाडि बढ्ने चाहना रहेकाले पार्टी एक नै रहने बताए । ‘पार्टीका सबै साथीहरू एकजुट भएर अगाडि बढ्नु पर्छ भन्नेमा हुनुहुन्छ । साथीहरूको भावनालाई कदर गर्दै हामी हुन सक्ने अधिकतम लचिलो अवलम्बन गर्ने र संस्थापन इतरका नेताहरू पनि आफ्नै कुरामा नअडिएर सहमतिको सम्भावनाका सूत्रहरू खोजेर अगाडि बढ्ने भन्ने कुरामै छौँ,’ महामन्त्री घिमिरेले भने ।

कुरा मिल्न नसकेको १४औँ महाधिवेशनबाट आएको कार्यसमितिलाई विशेष महाधिवेशनबाट आएको कार्यसमितिमा मिसाउने विषय विधानले नदिने भएपछि सहमतिमा राजनीतिक संयन्त्र बनाएर अगाडि बढ्ने कुरा भएको घिमिरेले बताए ।

‘महाधिवेशनलाई सफलतापूर्वक निर्विवाद सम्पन्न गराउनका लागि एउटा राजनीतिक संयन्त्र बनाउने भन्ने कुरा आएको छ । सभापतिकै नेतृत्वमा राजनीतिक संयन्त्र बनाउने भन्ने कुरा छ,’ घिमिरेले भने । त्यो प्रस्ताव इतर समूहका नेताहरूकै रहेको उनले बताए ।

यता संस्थापनले पार्टीलाई एक राख्न नचाहेको भन्दै चुनदेवीमा सम्पर्क कार्यालय नै खोलेको देउवा समूहले पनि सकभर एकता नै चाहेको देखिन्छ । राष्ट्रिय भेला बोलाउन भन्दै समूहको बैठक बसेको देउवा समूहले भेलाबारे निर्णय गरेन ।

समूहका नेता मीन विश्वकर्माले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापालाई सभापति मान्न आफूहरू तयार रहेको तर एक भएको पार्टीको सभापति बन्ने कि विशेष महाधिवेशनमा समाहित भएका नेताहरूको मात्रै सभापति बन्ने भन्ने विषय सभापति थापामै निहित रहने बताए । ‘हामी गगन थापालाई सभापति मान्न तयार छौँ,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘पार्टीभित्रका सबै नेता कार्यकर्ताको सभापति बन्ने कि विशेष महाधिवेशनमा सहभागी भएका नेता कार्यकर्ताको मात्रै सभापति भन्ने भन्ने उहाँको पहलमा भर पर्ने कुरा हो ।’

एकताका लागि सभापति थापालाई स्वीकार्ने तर १५औँ महाधिवेशनको निष्पक्षता सुनिश्चितता गरे अरु मागमा लचक बन्न सक्ने इतर समूहको भनाइ छ ।

१५औँ महाधिवेशनको निष्पक्षता सुनिश्चितताका लागि महाधिवेशन प्रभावित हुन सक्ने तयारीसँग जोडिएका अनुशासन समिति, क्रियाशील सदस्यता वितरण समिति, अधिवेशन आयोजक समितिलगायतमा सभापतिकै बहुमत कायम राखेर इतर समूहलाई पनि समावेश गरेमा र सर्वसम्मतिमा मात्र निर्णय हुने सहमति भएको अवस्थामा एकतासहित अघि बढ्न कुनै समस्या नरहेको इतर समूहले बताएको छ ।

यता संस्थापनले पनि इतर समूहकै माग बमोजिम सभापति थापाले नै पार्टी एकताका लागि निर्णायक वार्ता गरेर अन्तिम पहल गर्ने भएको छ । बुधबार बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकले त्यस्तो निष्कर्ष निकालेको हो ।

‘पदाधिकारी बैठकले संवादमार्फत निकास खोज्ने निर्णय भएको छ । साथीहरूको मागलाई सम्बोधन गरेर १५औँ महाधिवेशनको तयारीमा एकताबद्ध बनाएर लैजाने गरी माग सुनेर विधानको परिधिभित्र रहेर, अधिकतम सीमासम्म रहेर अघि बढ्ने निर्णय भएको छ,’ महामन्त्री घिमिरेले भने ।

देउवा समूहका अर्का नेता डा. प्रकाशशरण महतले आफूहरूका तर्फबाट एकता नहुने भन्ने कुनै विषय नरहेको बताए । ‘हाम्रो तर्फबाट एकता नगर्ने भन्ने विषय भन्ने कुरा छैन । हामी सदैव तयार नै छौँ’ डा. महतले रातोपाटीसँग भने ‘तर एकताको पहलकदमी लिने नेतृत्वले हो । नेतृत्वबाट खासै पहल भएको छैन । भयो भने कुराकानी गर्न र मिलाउन हामी तयार छौँ, तर सहमतिका लागि भन्दै धेरै समय कुर्न सक्ने अवस्था भने छैन ।’

इतर समूहका नेताहरू खड्का र डा. शेखर कोइरालाले पार्टी एकता बचाउन सहमतिको बुँदागत प्रस्ताव गरेका थिए । त्यो बुँदागत प्रस्तावलाई सभापति थापाले ‘रेस्पोन्स’ गरेर वार्ता र छलफलबाट हल गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

अर्कोतर्फ डा. कोइरालाले एक हप्ताभित्र छलफलमार्फत टुङ्ग्याएर पार्टी एकता बचाउन भन्दै ५ बुँदे मध्यमार्गी प्रस्ताव राखेका थिए । यो प्रस्तावको म्याद शुक्रबार सकिँदैछ ।

इतर समूहका केही नेताहरू भने सभापति थापाले झुलाएको भन्दै बाटो अलग गर्नु पर्ने पक्षमै लागेको देखिन्छ । पूर्वउपसभाति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता मोहनबहादुर बस्नेत, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कान्छाराम तामाङसहितका नेताहरू झुकेर कांग्रेसमै बस्नुपर्छ भन्ने नरहेको बताउँछन् । समूहको बैठकमा पनि उनीहरूले यही आशयका कुरा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप