बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश : मङ्गलवार पनि लागेन मन्त्रिपरिषद् विस्तारको टुङ्गो, फेरि आज बैठक बस्ने सम्भावना

बुधबार, १८ माघ २०७९, १३ : २३
बुधबार, १८ माघ २०७९

जनकपुरधाम । मधेस प्रदेशमा सरकार गठन भएको करिब तीन साता पुग्न लागिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मन्त्रालय बाँडफाँटमा मुख्यमन्त्रीलाई सकस भएपछि मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ भएको देखिन्छ । एउटै मन्त्रालयमा दुई वटा दलले अडान राखेपछि मन्त्रालय बाँडफाँटमा कठिनाई भएको हो । प्रदेशमा सामाजिक विकास मन्त्रालयको लागि जनमत र जसपाबीच मुख्य अडान छ भने माओवादीलाई एउटा मन्त्रालय र एउटा राज्यमन्त्री दिने भनिएपनि उनले दुई वटा मन्त्रालयमा आफ्नो अडान कायम राखेको छ । तर प्रदेशमा सत्ता साझेदार सबैभन्दा ठुलो दल रहेको नेकपा एमाले भने मन्त्रालय बाँडफाँटमा कहिँ कतै विवादमा देखिएको छैन ।

‘आइतबार नै मुख्यमन्त्रीसँग सामाजिक विकास मन्त्रालयमै अडान कायम राखेर छलफल भएको थियो । उहाँले एक दिनको समय माग्नुभएको थियो’ जनमत पार्टीका मधेस प्रदेशका दलका नेता महेशप्रसाद यादव बताए । उनले भने, ‘हिजो (मङ्गलवार) दलको बैठक बसी टुङ्गो लगाउने कुरा थियो । तर, उहाँ बाहिर गएपछि बैठक बस्न नसकेर मन्त्रिपरिषद् बिस्तारको टुङ्गो लाग्न सकेको छैन । दलका नेता यादवकाअनुसार अब सो बैठक आज बस्न सक्ने सम्भावना रहेको छ ।

यता माओवादी केन्द्र मधेस प्रदेश दलका नेता भरतप्रसाद साहले मुख्यमन्त्रीले बैठक बोलाएर आफै अनुपस्थित भएपछि मन्त्रिपरिषद् विस्तारको टुंगो लाग्न नसकेको जनाएको छ । तर, आज फेरि बैठक बस्ने वा नबस्ने भन्ने विषयमा अहिलेसम्म केही जानकारी नआएको उनले जनाए ।

मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलवार साँझ ५ बजे मन्त्रिपरिषद् विस्तार गर्न मन्त्रालयको भागबन्डा टुङ्ग्याउन दलको बैठक बोलाएको थियो । तर, जसपाका वरिष्ठ नेता मृगेन्द्रसिंह यादवको छोराको श्रद्धाञ्जली सभामा सहभागी हुन गएपछि मन्त्रिपरिषद् विस्तारको टुङ्गो लगाउन नसकिएको जनाइएको छ ।

सप्तरीको बोदेबर साईनमा आयोजित उक्त श्रद्धाञ्जली सभामा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत वरिष्ठ नेताहरु सहभागी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप