शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण एसियाली देशहरूबीच कनेक्टीभीटी र क्षेत्रीय मूल्य श्रृंखलाको विकास गर्न महासंघको आग्रह

बुधबार, १८ माघ २०७९, १८ : ४७
बुधबार, १८ माघ २०७९

काठमाडौं । नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी) र नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिबीच भेटवार्ता भएको छ । भारतको उत्तरपूर्वी क्षेत्र र नेपाल बीचको कनेक्टीभीटी परियोजनाहरूको अध्ययनको सिलसिलामा नेपाल आएको नेडफी महासंघले भेटवार्ता गरेको हो ।

भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छा, महानिर्देशक गोकर्णराज अवस्थी र जेएनयूका वरिष्ठ प्राध्यापक एवं नेपाल सम्बन्धी जानकार महेन्द्र पी. लामाको नेतृत्वमा नेपाल भ्रमणमा आएको निगमको तीन सदस्यीय टोली सहभागी थियो । बैठकमा दुई देशबीचको व्यापार तथा लगानीको पछिल्लो अवस्थाका साथै हालको व्यापार तथा लगानीको अवस्थामा सुधारका विषयमा छलफल भएको थियो ।

नेपाल, भारतको उत्तरपूर्वी क्षेत्र र अन्य दक्षिण एसियाली देशहरूबीच क्षेत्रीय मूल्य श्रृंखलाको विकासका सम्भावनाहरूबारे पनि सो अवसरमा छलफल भएको थियो । छलफलमा दुई देशले प्रयोग गर्दै आएका व्यापारिक नाकाहरूमा रहेका अवरोध, आयात निर्यातलाई थप सहजीकरण गर्न गर्नुपर्ने पहल, लगानी विस्तार तथा निर्यातमा रहेका समस्यामाथि सुझाव दिन भारतीय टोलीले आग्रह गरेको थियो । आयात÷निर्यात सम्बन्धी नीतिगत समस्या, पूर्वाधार, सीमा सुरक्षा, प्राविधिक तालमेल आदिका विषयमा पनि सो अवसरमा छलफल भएको थियो ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले नेपाल भारतबीच विशिष्टीकृत सम्बन्ध रहेको र आर्थिक विकासको प्रयासमा पनि नेपालले सधैँ भारतीय सहयोगको अपेक्षा गरेको बताए । दुई देशबीचको व्यापारिक नाकाहरूको अवस्था अत्यन्त कमजोर रहेको, चिया, अलैँची, अदुवा लगायतका नेपाली कृषि उत्पादनहरु भारतीय ब्रान्डको नाउमा विश्व बजारमा जाने गरेकाले यसमा भारतीय पक्षबाट उदारतापूर्वक सहयोग हुनुपर्ने सुझाव राखे ।

कृषि उत्पादनको परीक्षणका नाउँमा गैह्र भन्सार अवरोध सृजना गरिदा नेपाली निर्यातकर्ताहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको पनि उनले बताए । अहिले भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली उद्योगहरू समस्या परेको पनि जानकारी गराए ।

नाकाहरू अत्यन्त कमजोर रहँदा नेपालको पारवहन÷ढुवानी खर्च अत्यन्त महंगो हुन जाँदा भारत सहित तेस्रो मुलुकका बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न कठिनाइ भएको अध्यक्ष गोल्छाले स्पष्ट पो । नेपाली उत्पादनहरु भारतीय बजारका साथै बंगलादेश लगायत तेस्रो मुलुकमा सहज निकासीमा भारतीय पक्षबाट सहयोग हुनुपर्ने, निर्यात नाकाहरूको विस्तार तथा स्तरीकरणमा सहयोग हुन सो अवसरमा आग्रह गरे ।

नेडफीले भारतको उत्तरपूर्वी क्षेत्रमा औद्योगिक, पूर्वाधार, कृषि सम्बद्ध परियोजनाहरू स्थापना गर्नका लागि लघु, साना, मझौला र ठुला उद्यमहरूलाई वित्तीय सहायता प्रदान गर्दै आएको र यसमा नेपालसँग पनि कसरी सहकार्य गर्न सकिन्छ भनी अध्ययन गर्न नेपाल भ्रमणमा आएको नेडफीका अध्यक्ष मुर्तीले जानकारी गराए । 

जेएनयूका वरिष्ठ प्राध्यापक लामाले दुवै देशबीच रहेका नीतिगत, संरचनागत, पूर्वाधार, कार्य तौरतरिका, प्रविधि आदिमा रहेका असमानतालाई कम गरी आर्थिक विकासका माध्यमबाट आपसी लाभ लिने कार्यमा कसरी संयुक्त रुपमा अगाडि बढ्न सकिन्छ भन्ने अध्ययन गर्न आफूहरु नेपाल भ्रमणमा आएको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप