बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

१ देखि ५ कक्षासम्मका पाठ्यपुस्तक छाप्न किन दिइँदैछ निजीलाई जिम्मा ?

जनक शिक्षामा ३ वटा मेसिन थपियो
बुधबार, १८ माघ २०७९, १९ : ०९
बुधबार, १८ माघ २०७९

काठमाडौं । आगामी शैक्षिक सत्रका लागि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक निजी मुद्रण संस्थाले छाप्न पाउने भएका छन् । जसअनुसार १ करोड १० लाख पाठ्यपुस्तक छाप्ने जिम्मा निजीको काँधमा हुनेछ ।

यसअघि जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले कक्षा ४ देखि १२ सम्मको पाठ्यपुस्तक छाप्दै आएको थियो भने १ देखि ३ सम्मको निजीले छाप्दै आएका थिए । तर, जनक शिक्षाले कुनै शैक्षिक सत्रमा पनि समयमै पाठ्यपुस्तक छाप्न सकेको छैन । जसले गर्दा विद्यार्थीहरू पाठ्यपुस्तकको अभावमै पढ्न बाध्य छन् ।

जनक शिक्षाले विगतमा २ वटा मेसिनबाट पाठ्यपुस्तक छाप्दै आएको थियो । यो वर्षदेखि ३ वटा मेसिन थप गरेर ५ वटा मेसिनबाट पुस्तक छपाइको काम गर्दै आएको छ । सम्म ५० लाखको हाराहारीमा पाठ्यपुस्तक छपाइको काम सकिएको जनाइएको छ ।

जनक शिक्षाले यो वर्ष पनि समयमै पाठ्यपुस्तकको छपाई र वितरणको काम गर्न नसक्ने देखेपछि सरकारले उसको अधिकार खोसेर निजीलाई दिने तयारी गरेको हो । सोहीअनुसार यो वर्षका लागि १ देखि ५ कक्षा सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिन लागिएको अधिकारीहरुको भनाइ छ   । छपाइका लागि माघ २२ गतेसम्म निजीलाई आवेदन दिन समय तोकिएको छ । त्यसपछि छनौट हुने  निजी मुद्रण संस्थाले कक्षा १ सम्मका १ करोड १० लाख पाठ्यपुस्तक छाप्न पाउनेछन् ।

सरकारले उक्त निर्णयपछि विरोध पनि हुने थालेको छ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षामन्त्रीको पुत्ला जलाउनेदेखि जनक शिक्षा घेराउ गर्ने सम्मको काम गर्दै आएको छ ।

खास के हो ?

पाठ्यपुस्तक छपाइको विषयमा पाठ्यक्रम विकास केन्द्र जनकशिक्षाबीचको कुरा बाझिएको देखिन्छ । जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यले दैनिक २ लाख थान पाठ्यपुस्तक छाप्ने काम भइरहेको बताए ।

तीन वटा मेसिन थप गरेपछि दैनिक २ लाख थान पाठ्यपुस्तक छाप्ने काम भइरहेको र कानुनले तोकेको अवधिमा नै पाठ्यपुस्तक वितरणको काम सकिने बताए ।

शिक्षा मन्त्रालयलाई कक्षा ४–१० सम्मका पाठ्यपुस्तक छाप्न सक्छौँ भनेर जनक शिक्षाले कार्ययोजना प्रस्तुत गरेको थियो । सोही आधारमा सरकारले जनक शिक्षालाई पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिएको थियो । तर, वैशाखदेखि माघको आजसम्म ५० लाख थान मात्रै पाठ्यपुस्तक छापिएको छ ।

‘हामीले समयमै पाठ्यपुस्तक छपाइको काम सक्छौं भनेर पाठ्यक्रम विकास केन्द्र र मन्त्रालयलाई जानकारी गराएका थियौं । तर, १ देखि ५ कक्षाको पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिइयो,’ आचार्यले भने ।

कक्षा ४ र ५ का लागि ५० लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । ५० लाख थान निजीले छाप्न पाउने भएपछि जनक शिक्षाले अब १ करोड ५० लाख थान मात्र पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ ।

‘कागजको अभावमा विगतमा केही असहजता भएको थियो । अहिले कागजको पनि सहज आपूर्ति भइरहेको छ । ५ वटै मेसिनबाट पाठ्यपुस्तक छाप्ने काम भइरहेको छ,’ सूचना अधिकारी आचार्यले भने ।

तर, उनको कुरामा पाठ्यक्रम विकास केन्द्रका अधिकारी सहमत छैनन् । केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्यालले जनक शिक्षाले समयमै पाठ्यपुस्तक छाप्न सक्ने नदेखिएपछि यस्तो निर्णय गरिएको बताए ।

‘जनक शिक्षाले १ देखि १२ सम्मकै सबै छापेर पुर्‍याउँछु भन्यो भने कुनै रोकतोक छैन । तर, समयकै पाठ्यपुस्तक पुर्‍याउन सकिने नदेखिएपछि निजीसँग साझेदारी गरेर समयमै पाठ्यपुस्तक पुर्‍याउन लागिएको हो’, महानिर्देशक अर्यालले भने ।

जनक शिक्षासँग मेसिन भएर मात्र नहुने भन्दै उनले अहिलेसम्मको छपाइको अवस्था हेरेर २०८० मा पनि विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक नपाउने देखिएपछि यस्तो निर्णय गरिएको दाबी गरे ।

‘हाम्रो शैक्षिक सत्र वैशाख १ गतेबाट सुरु हुन्छ । शिक्षा नियमावली अनुसार शैक्षिक शत्रु सुरु भएको एक महिना अगाडि नै पाठ्यपुस्तक पुर्‍याइसक्नुपर्छ । फागुन मसान्तभित्र पुर्‍याइसक्नुपर्छ । फागुन मसान्तसम्म भन्नाले डेढ महिना मात्रै बाँकी छ,’ उनले भने, ‘चैतको १५ गतेसम्मकै हिसाब गरे पनि हामीसँग ६५ दिन बाँकी मात्र छ । अब ६५ दिनमा २ करोड २५ लाख पाठ्यपुस्तक छाप्नुपर्नेछ । वर्षभरिमा छाप्न नसकेको जनक शिक्षाले अबको ६५ दिनमा २ करोड २५ लाख पाठ्यपुस्तक कसरी छाप्न सक्छ ?’

जनक शिक्षालाई नै पर्खेर बस्ने र अन्तिममा विगतका जसरी किताब अभावको समस्या यो वर्ष पनि दोहोर्‍याउनु नपरोस् भनेर यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

सरकारले २०८० मा समयमै पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुर्‍याउने प्रतिबद्धता जाहेर गरेको छ । जनक शिक्षाले छपाई गर्न सक्ने सम्भावनालाई यथावत् नै राखेर निजीसँग पनि साझेदारी गरेर अगाडि बढ्ने भनेर सिफारिस गरिएको उनको भनाइ छ ।

‘यो पटकको अभ्यास मात्र होइन, २०६४ सालदेखि नै निजीलाई छाप्न दिँदै आएको हो । जनक शिक्षाले हरेक वर्ष पुर्‍याउँछु भन्छ तर, कहिल्यै नपुर्‍याएको उदाहरण पनि हो,’ उनले भने ।

यो वर्ष ३ वटा मेसिन थप गरेपनि हाल हरेक दिनको डाटा हेर्दा दैनिक ७०÷८० हजारको हाराहारीमा मात्रै किताब छापिरहेको उनको भनाइ छ । ‘वैशाखमा पुर्‍याउनुपर्ने किताब माघमा पनि नपाएपछि जनक शिक्षाले म पुर्‍याउँछु, मसँग मेसिन छ भनेको भरमा बसिरहने कि वैकल्पिक उपाय पनि सोच्ने भन्ने लागेर यस्तो निर्णय गरिएको हो,’ उनले भने ।

अघिल्लो वर्ष पनि माघको १० गते नोटिस जारी गरेर निजीलाई छाप्न दिइएको थियो । कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिइएको थियो । उनीहरूले वैशाख १५ भित्रमा पाठ्यपुस्तक पुर्‍याइसकेका थिए । त्यो भन्दा अघिल्लो वर्ष कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छाप्न दिइएको थियो । त्यो बेलापनि फाट्ट फुट्ट बाहेक सबैले वैशाख १५ गतेसम्ममा लगभग सबै ठाउँमा पाठ्यपुस्तक पुर्‍याएका थिए ।

विगतमा जनक शिक्षाको अवस्था हेर्दा कहिल्यै पनि समयमै पाठ्यपुस्तक छाप्न र पुर्‍याउन सकेको अवस्था छैन । यदि जनक शिक्षाले १ देखि १२ कक्षा सम्मकै पाठ्यपुस्तक छाप्न सक्छु भन्ने ग्यारेन्टी गरेको खण्डमा कुनै रोकतोक नरहने पनि उनले स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप