बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वर्षौँदेखि खुला आकाशमा रात बिताउँदै बीजमायाको परिवार

शनिबार, २१ माघ २०७९, ११ : ४८
शनिबार, २१ माघ २०७९

जुम्ला ।  'हिउँ पर्ने समयमा सुत्न सकिन्न, पानी र शीतले कपडा भिजेका हुन्छन् । तीन वर्षदेखि राम्ररी सुत्न पाएको छैन । छोराछोरी ठुला भइसके, टहरामा नअट्ने भइसके' जुम्लाको गुठिचौर गाउँपालिका – ५ फोइगाउँकी ४० वर्षीय बीजमाया जैसीले आफ्नो पीडा पोखिन्।  विभिन्न निकाय र सम्बद्ध पक्षसँग निवेदन दिए पनि आर्थिक सहयोग जुट्न नसक्दा उनको आवास अहिलेसम्म बन्न सकेको छैन । 

पत्रकार महासङ्घ, जुम्लामा आएकी बीजमायाको परिवारको कथा कठिन छ । उनी पत्रकार महासङ्घसहित सबै निकायमा सहयोगको याचना गर्दै ३ वर्षदेखि धाइरहेकी छिन् । ३ वर्षअघि पुस महिनाको हिमपातले उनको घर भत्केपछि गाउँवासीको सहयोगमा बनेको सानो टहरा नै जैसीको लागि सुरक्षित आवास बनेको छ । उनीसँगै १३ वर्षकी छोरी र १५ वर्षको छोरा सानो काठको टहरामा दुःख जिलो बसेका छन्, तर वर्षा र हिउँको पानी चुहिएर रातभर जाग्राम बस्नुपर्ने पीडा छ । 

चुल्होमै पानीको ताल पर्छ । टहराले न घाम छेक्छ न पानी । ओढ्ने ओछ्याउने लत्ताकपडा पनि गतिलो छैन । १२ वर्षअघि भारत गएका उनका श्रीमान् रित्तो हात बिरामी भएर घर फर्किएपछि माइतीले दिएको जग्गामा बनेको टहरामा झन् साँघुरो भएको छ । उनी भन्छिन् 'साँझ बिहानको छाकको जोहो गर्न गाह्रो छ । दुःखमा सबै माइत जान्छन् । सुख दुःख साट्छन् । आफ्नो त माइतको पनि आर्थिक स्थिति राम्रो छैन ।' 

छोराछोरीलाई विद्यालयको पोसाक किन्न नसक्दा नियमित रूपमा विद्यालय पठाउन सकेकी छैनन् ।  दुःख पनि दुखीको घरमा घरी घरी आइरहन्छ । घर भत्किएपछि गाउँपालिकाले दिएको  १५ हजार रुपियाँ  पनि छोराको खुट्टा भाँचिएपछि खर्च भयो, जीविकोपार्जन सुधारका लागि पालिकाले दिएको १० बाख्रा पनि वनमा  विषालु जडीबुटी खाएर मरे । न राहत रकमले राहत दिन सक्यो न बाख्राले जीविकोपार्जनमा सहज बनाउन । 

बीजमायाको समस्या देखेर  गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा र उपाध्यक्ष शान्ति मल्ल (भण्डारी)ले गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यता सहरी विकास तथा भवन डिभिजन आयोजना, जुम्लाका नवइन्जिनियर चन्द्र खड्काका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रममा ७५ हजार रुपियाँ दिने व्यवस्था छ । सहयोगी मनले थप  सहयोग गरे बासको टुङ्गो लाग्ने थियो भन्ने आसमा बीजमायाको दिनहरू ढल्ने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप