शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

वर्तमान सरकारप्रति माधव नेपालको टिप्पणी : ‘वाम–दक्षिणपन्थी खिचडी गठबन्धन’

शनिबार, २१ माघ २०७९, १३ : ५९
शनिबार, २१ माघ २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हालको सत्ता गठबन्धनलाई वाम–दक्षिणपन्थी खिचडी गठबन्धनको संज्ञा दिएका छन् । काठमाडौँमा जारी पार्टीको पाँचौ विस्तारित केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले अहिलेको सत्ता गठबन्धन खिचडी प्रकृतिको रहेको बताउँदै यसमा संविधानको पालना नगर्ने एमाले, गणतन्त्रको पक्षधर माओवादी केन्द्र र गणतन्त्रको विरोधी एवं हिन्दू राज्य र राजतन्त्र पुनःस्थापना गर्न चाहने राप्रपा, सङ्घीयताको पक्षधर जसपा र सङ्घीयता विरोधी राप्रपा एवं रास्वपा, जातीय पहिचानवादी नाउपा र पृथकतावादी पृष्ठभूमिको जनमत पार्टी एकै ठाउँमा रहेका उल्लेख गरेका छन् । 

उनले हालको सत्ता गठबन्धन दल प्रगतिशील चरित्रको नभएको उल्लेख गर्दै यसको वैचारिक धरातल र राजनीतिक गन्तव्य केही पनि स्पष्ट नभएको बताएका छन् ।  उनले भनेका छन्– ‘यो गठबन्धन विचारहिन र अराजनीतिक चरित्रको छ । यसलाई वाम–दक्षिणपन्थी खिचडी गठबन्धन भन्नु उपयुक्त हुन्छ ।’ निर्वाचनबाट मुलुकको राजनीतिक शक्ति सन्तुलनमा परिवर्तन भएको उल्लेख गर्दै स्थापित राजनीतिक दलहरूको जनमत आम रूपमा घटेको र राजतन्त्र पुनःस्थापना गर्न चाहने राप्रपाको जनमत बढेको बताएका छन् । 

स्पष्ट सिद्धान्त, विचार र कार्यदिशा केही नभएको केवल पुराना पार्टी र तिनका नेतालाई गाली गरेर उदाएको रास्वपा, विगतमा पृथकतावादी गतिविधि चलाएका सिके राउतको जनमत पार्टी र थारु पहिचानको माग उठाएका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी समेत नयाँ शक्तिको रूपमा अस्तित्वमा आएको उनले उल्लेख गरेका छन् ।  उनले अहिलेको सरकार दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कार्यबाट सुरु भएको प्रतिगमनकारी यात्राकै परिणाम रहेको उनको भनाई छ । 

अध्यक्ष नेपालले टिप्पणी गरेका छन्– ‘तिनै केपी ओली वर्तमान सत्ता गठबन्धनले निर्माण गरेको राजनीतिक सन्यन्त्रको प्रमुख बनेका छन् । उनले आफ्नो दृष्किोण र उद्देश्य अनुरुप गठबन्धनलाई घोर दक्षिणपन्थी दिशातर्पm लाने प्रयत्न गर्दै छन् । वर्तमान सत्ता गठबन्धनले निर्माण गरेको सरकार पनि प्रगतिशील होइन खिचडी चरित्रकै छ । सरकारको स्वरूप एकदमै भद्दा छ । चार चारओटा उपप्रधानमन्त्री राखिएको छ र स्वार्थ बाझिने गरी मन्त्रीहरू नियुक्त गरिएको छ । राजनीतिक रूपमा अपरिपक्व व्यक्तिहरू मन्त्री बनेका छन् । सत्ता गठबन्धनका नेता र मन्त्रीहरूका अभिव्यक्ति र प्रतिबद्धताहरू यथार्थसँग पटक्कै मेल नखाने खालका छन् । उनीहरूका अभिव्यक्तिबाट संविधान, गणतन्त्र र सङ्घीयतामाथि खतरा पैदा भएको छ ।’

सरकारको सुरुवाती कामले नै जनतामा नकारात्मक प्रभाव पर्न थालेको र  गठबन्धनभित्रै पनि मतभेद र असन्तुष्टि देखापरेको बताएका छन् । यसले  राजनीतिक वृत्तमा एक प्रकारको अन्योल सिर्जना भएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप