शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन, दुबईको अस्पतालमा भर्ना थिए

आइतबार, २२ माघ २०७९, ११ : ५३
आइतबार, २२ माघ २०७९

पाकिस्तानका पूर्व राष्टपति परवेज मुशर्रफको निधन भएको छ । पाकिस्तान मिडियाले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको छ । मुशर्रफ लामो समयदेखि बिरामी थिए । उनी ७९ वर्षका थिए । दुबईको अस्पतालमा उनको उपचार भइरहेको थियो ।

लामो समयदेखि अमाइलोइडोसिस रोगबाट पीडित थिए

मुशर्रफ धेरै महिनादेखि अस्पतालमा भर्ना थिए । उनको परिवारले ट्विटरमा जानकारी दिँदै उनी अमाइलोइडोसिस नामको रोगबाट जुधिरहेका कारा उनका सबै अंगले काम गर्न बन्द गरेको बताएका थिए । 

ब्रिटेनको नेशनल हेल्थ सर्भिसका अनुसार अमाइलोइडोसिस दुर्लभ र गम्भीर रोगको एक समूह हो । यसमा मानिसको शरीरमा अमाइलोइड नामको असामान्य प्रोटिन बन्न थाल्छन् । यो मुटु, मिर्गौला, स्नायु प्रणाली, दिमाग आदि अंगमा जमा हुन थाल्छन् जसका कारण यी  अंगका तन्तुले राम्रोसँग काम गर्दैन ।

सेनामा जोडिए मुशर्रफ, सन् १९६५ मा भारतसँग लडेका थिए युद्ध, पाकिस्तानले वीर ठानेको थियाे

कलेज पढेपछि २१ वर्षको उमेरमा परवेज मुशर्रफ पाकिस्तानी सेनामा जुनियर अफिसरको रूपमा भर्ना भए । उनले सन् १९६५ को युद्धमा भारतविरुद्ध लडेका थिए । यो युद्ध पाकिस्तानले हार्यो । यसका बावजुद मुशर्रफलाई बहादुरीका साथ लडेको भन्दै पाकिस्तान सरकारले पदक दिएको थियो ।

मुशर्रफले सन् १९७१ को युद्धमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । यो देखेर सरकारले उनलाई पटकपटक बढुवा गरेको थियो । परवेज मुशर्रफ सन् १९९८ मा जनरल बनेका थिए । आफ्नो जीवनी ‘इन द लाइन अफ फायर – ए मेमोयर’ मा जनरल मुशर्रफले कारगिल कब्जा गर्ने बाचा गरेको लेखेका छन् । तर नवाज सरिफका कारण उनले त्यसो गर्न सकेनन् ।

जुन नवाज शरिफले सेनाध्यक्ष बनाए, उनले नै सत्ताबाट निकालिदिए

सन् १९९८ मा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले परवेज मुशर्रफलाई विश्वास गर्दै पाकिस्तानी सेनाको प्रमुख बनाएका थिए । तर एक वर्षपछि नै १९९९ मा जनरल मुशर्रफले नवाज शरीफलाई सत्ताच्युत गरे र पाकिस्तानलाई कब्जामा लिए । नवाज सरिफले सत्ता सम्हाल्नेबित्तिकै परिवारसहित पाकिस्तान छोड्नुपरेको थियो ।

दिल्लीमा जन्मिएका थिए

११ अगस्ट सन् १९४३ मा परवेज मुशर्रफको जन्म दरियाग्रज नयाँ दिल्लीमा भएको थियो । सन् १९४७ मा उनको परिवारले पाकिस्तान जाने निर्णय गरे । विभाजनको केही दिन अघि मात्रै उनको पूरा परिवार पाकिस्तान पुगेको थियो । उनका पिता सईदले नयाँ पाकिस्तान सरकारका लागि काम गर्न सुरु गरे र विदेश मन्त्रालयसँग जोडिए ।

टर्कीमा पनि बित्यो जीवन

त्यसपछि उनको पिताको सरुवा पाकिस्तानबाट टर्कीमा भयो । उनी सन् १९४९ मा टर्की गए । केही समय उनी आफ्नो परिवारसँग टर्कीमा बसे, त्यहाँबाटै उनले टर्कीस् भाषा बोल्न सिके । मुशर्रफ आफ्नो युवा समयमा खेलाडी पनि रहे । सन् १९५७ मा उनको पूरा परिवार पुनः पाकिस्तान फर्कियो । उनको स्कूले शिक्षा कराँचीको सेन्ट प्याट्रिक स्कूलमा भयो र कलेजको पढाई लाहौरको फरम्यान क्रिश्चियन कलेजमा भयो ।

मुशर्रफले पाएका थिए मृत्युदण्डको सजाय

स्मरण रहोस्, परवेज मुशर्रफ ती व्यक्ति हुन् जसलाई पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएको थियो । पाकिस्तानको इतिहासमा पहिलो पटक पेशावर सर्वोच्च अदालतका प्रधानन्यायाधिस वकार अहमद सेठको अध्यक्षतामा विशेष अदालतको तीन सदस्यीय बेन्चले यस्तो सजाय सुनाइएको थियो ।

पाकिस्तानमा ३ नोभेम्बर, २००७ मा आपतकाल लगाउने र डिसेम्बर २००७ को मध्यसम्म संविधानलाई निलम्बित गरेको अपराधमा परवेज मुशर्रफमा डिसेम्बर २०१३ मा देशद्रोहको मुद्दा दर्ता गरिएको थियो । मुशर्रफलाई ३१ मार्च, २०१४ मा दोषी ठहर गरिएको थियो । ७९ वर्षीय मुशर्रफले सन् १९९९ देखि २००८ सम्म पाकिस्तानमा शासन गरेका थिए । मुशर्रफ मार्च २०१६ देखि दुबईमा बसिरहेका थिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप