शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघद्वारा रवि लामिछानेको अभिव्यक्तिको विरोध

आइतबार, २२ माघ २०७९, २० : ०२
आइतबार, २२ माघ २०७९

काठमाडौँ । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनका क्रममा दिएको अभिव्यक्तिको विरोध गरेको छ ।

आइतबारको पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाएको भन्दै महासंघले धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको जनाएको हो । 

संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र  सञ्चारक्षेत्रमाथिको प्रहार भएको महासंघको विज्ञप्तिमा उल्लेख छ । 

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने महासंघले जनाएको छ । 

महासंघले  लामिछानेले धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै कडा शब्दमा निन्दा गरिने पनि विज्ञप्तिमार्फत जनाएको छ । 

‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार  प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ’, महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् अध्यक्ष लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप