शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?

बिहीबार, २६ माघ २०७९, २१ : ०९
बिहीबार, २६ माघ २०७९

कैलाली । नेकपा एमाले नेतृत्वमा बनेको सरकारले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा नेपालीका कांग्रेसका तर्फबाट कमल शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

बिहीबार साँझ ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा शाहले दाबी पेश गरेका थिए । अछाम जिल्ला रामारोशन गाउँपालिका–५ तडिगैरामा २०२८ साल फागुन १० गते जन्मेका शाह हाल कैलालीको लम्की चुहा नगरपालिका–१ मा स्थायी रुपमा बसोबास गर्दै आएका छन् । 

उनले विद्यालय शिक्षा अछाम र कैलालीबाट अघि बढाएका थिए । शाह २०४४ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहेका थिए । 

शाहले २०४६ देखि २०५२ सालसम्म नेपाल विद्यार्थी संघको क्याम्पस इकाई समिति सदस्य र पार्टीको महाधिवेशन प्रतिनिधि भएर काम गरेका थिए । 

त्यसैगरी उनले २०५४ देखि २०६८ सालसम्म विभिन्न समयमा नेपाल तरुण दलको केन्द्रीय खेलकुद विभाग सदस्य, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्ष पदमा रहेर पनि काम गरेका थिए । उनी २०५३ सालदेखि हालसम्म नेपाली कांग्रेसको नौं, दशौं, एघारौं, बाह्रौं, तेह्रौं र चौधौं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहेका छन् । 

शाह २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवार रहे पनि पराजित भएका थिए । उनी २०६४ र २०६२/०६३ सालको जनआन्दोलनका क्रममा पटकपटक गरी ४ महिना जेल परेका थिए । 

हाल लम्कीचुहा–१ लम्कीमा बस्दै आएका उनी मंसिरमा ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र 'क'बाट निर्वाचित भएका थिए । प्रदेश सभामा निर्वाचित भएसँगै कांग्रेस संसदीय दलको नेता हुँदै शाह मुख्यमन्त्री बनेका हुन् ।

सरल, शिष्ट, जिज्ञासु, सहयोगी  स्वभावका शाहले आफ्नो ठाउँका लागि थुप्रै सहयोग तथा विकासका काम गर्दै आएका छन् । उनले कोरोना संक्रमण कालमा कैलाली क्षेत्र नम्बर २ का सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री, एम्बुलेन्स चालक र महिला स्वास्थ्य संयम सेवीकाको  निःशुल्क कोरोना  बीमाका साथै सोल्टामा रहेको स्वास्थ्य चौकीलाई  निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेर सहयोग गरेका थिए ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप