आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

२० वर्षमा देशलाई समृद्धिको शिखरमा पुर्‍याउन सकिन्छ : बाबुराम भट्टराई

शुक्रबार, २७ माघ २०७९, १२ : २८
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई जोगाउँदै अबको २० वर्षभित्र नेपाललाई समृद्धिको शिखरमा पुर्याउन सकिने बताएका छन् ।  शुक्रबार काठमाडौँमा सुरु भएको विवेकशील साझा पार्टीको प्रथम अधिवेशन सफलताको शुभकामना दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले लोकतन्त्रलाई भत्काएर वैकल्पिक राजनीति हुन नसक्ने पनि बताए । 

‘अबको वैकल्पिक राजनीतिको एजेन्डा भनेको लोकतन्त्रलाई जोगाएर अघि जाने हो । यसलाई भत्काएर राजा ल्याउँछु भन्ने साथीहरू पनि वैकल्पिक भनिरहनुभएको छ तर त्यस्तो होइन, त्यो भ्रममा पर्नुहुँदैन’, भट्टराईको भनाइ छ । 

उनले यही लोकतन्त्रमा टेकेर अपूर्णताहरुलाई पूर्ण बनाउँदै विगतका राम्रा कुरा सिकेर अघि बढ्न सके वैकल्पिक राजनीतिको भविष्य रहेको पनि बताए । ‘लोकतन्त्रको जगमा सुशासन र समृद्धि हुँदै १५,२० वर्षभित्र देशलाई कमसेकम मध्यम स्तरतिर पुर्‍याउने हो’, उनले भने, ‘त्यो भनेको अहिलेको औसत प्रतिव्यक्ति १३ हजार डलर छ त्यो सम्म हाम्रो राष्ट्रिय आम्दानी पुर्‍याउने हो । राष्ट्रिय आम्दानीको प्रतिफल सबैले पाउनुपर्‍यो । केही अरबपति र कोही सडक पति हुन भएन । प्रकृतिको संरक्षणसँगै दिगो विकासलाई ध्यान दिने आर्थिक वृद्धि समन्यायीक वितरण, सस्टेनेवल डेभलपमेन्ट र ह्याप्पीनेससहितको विकास र समृद्धि ल्याउने हाम्रो लक्ष्य हो । अबको वैकल्पिक राजनीति गर्ने भनेको त्यो प्राप्त गर्ने हो ।’

उनले पुराना पार्टीहरूलाई गालिगलोज गरेर नभई आफ्ना गतिविधिहरूलाई सुधार गर्दै जानुपर्ने बताए । उनले राजनीति भनेको अपजसे पेसा पनि भएको भन्दै एक पटक लडे पनि धुलो टकटक्याएर अघि बढ्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप