बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

लामिछाने सहभागी भएको बैठकमा किन गएनन् जसपा, जनमत, उन्मुक्ति पार्टी ?

शुक्रबार, २७ माघ २०७९, १२ : ४३
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्च स्तरीय राजनीति संयन्त्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएका छन् । 

उनी यसरी बैठकमा सहभागी भएपछि प्रश्न उठेको छ । सरकार सञ्चालनको विषयमा गठन भएको सो संयन्त्रमा स्वतन्त्र पार्टीका सभापति लामिछाने सहभागी भएका छन् । जब कि रवि लामिछानेले सरकारबाट समर्थन फिर्ता लिइसकेका छन् । यो संयन्त्र सरकारमा सहभागी भएका दलहरूको हो । तर सभापति रवि किन सहभागी भए भनी जिज्ञासामा स्वतन्त्र पार्टीका प्रवक्ता मुकुन्द ढकालले सरकारबाट फिर्ता भए पनि समर्थन फिर्ता नलिएकोले बैठकमा सहभागी भएको बताए । 

सरकारमा नभए पनि सरकार कसरी सञ्चालन गर्ने, त्यसलाई कसरी व्यवस्थित गर्ने त्यसमा सुझाव दिन सकिन्छ, सरकारबाहेक अन्य विषयहरूमा पनि छलफल भएको बताउँदै उनले सरकारलाई समर्थन गरेका अन्य दलहरू पनि बैठकमा सहभागी हुँदै आएको बताए । 

तर सरकारलाई समर्थन गरेका दल जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र सरकारमै सहभागी भएको जनमत पार्टी पनि बैठकमा सहभागी भएका छैनन् । सरकारमा सहभागी नभएको कारण जसपा नेपाल पनि संयन्त्रको बैठकमा जान छाडेको हो । सरकार निर्माण भइरहेको बेला एक दुईवटा बैठकमा जसपाको तर्फबाट सो पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सहभागी हुँदै आएका थिए । 

तर जब सरकारमा सहभागी नहुने अवस्था सृजना भयो अनि जसपा पनि संयन्त्रको बैठकमा जान छाडेको बताइन्छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आवश्यकता अनुसार बैठकमा जाने गरेको बताए । उनी आफू उपत्यका बाहिर रहेको कारण बैठकमा सहभागी नभएको बताए ।

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरू सरकारमा नभएको कारण बैठकमा नगएको बताए । उनले भने, ‘हामी सरकारलाई सुरुमै समर्थन गरेका थियौँ, तर हाम्रो मुद्दा र मागप्रति सरकार संवेदनशील नभएपछि सरकारमा सहभागी भएनौ, अहिले समर्थन पनि फिर्ता लिइसकेका छौँ त्यही भएर बैठकमा सहभागी हुने कुरा नै आउँदैन ।’

आफ्ना पार्टीका सांसद अरुण चौधरीलाई सरकारले पक्राउ गरेपछि समर्थन फिर्ता लिएको बताउँदै उनले सरकारबाट समर्थन फिर्ता लिइसकेको र त्यो सरकारसँग आफूहरूको कुनै सम्बन्ध नरहेको बताए । सरकारमा सहभागी भएकै दल जनमत पार्टी संयन्त्रको बैठकमा सहभागी भएको छैन । सो पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले अध्यक्ष सिके राउत बैठकमा सहभागी हुने कुरा थियो तर किन भएन आफ्नो जानकारीमा नरहेको बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप