‘२०५९ सालको मापदण्ड कायमै रहँदा हिमाल र पहाडमा विद्यालय नै नरहने खतरा भयो’
सारांश
- नेकपा (एमाले) का सांसद अर्जुन कुमार कार्कीले सरकारले तय गरेको विद्यार्थी र शिक्षक अनुपात सम्बन्धी मापदण्डले दुर्गम भेगका विद्यालयहरू बन्द हुने अवस्थामा पुग्ने चेतावनी दिएका छन् ।
- सांसद कार्कीले हिमाल, पहाड र तराईका लागि तोकिएको विद्यार्थी संख्याको अनुपात व्यवहारिक नभएको र यसले हिमाल र पहाडका विद्यालयहरू धराशायी हुने दाबी गरे ।
- उनले शिक्षा क्षेत्रको बजेट अन्तर्राष्ट्रिय प्रतिवद्धताभन्दा आधा मात्रै रहेको, बाल विकास सहजकर्ताको तलब न्यूनतम पारिश्रमिकभन्दा कम भएको र बजेटको वितरण असन्तुलित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
काठमाडौँ । नेकपा (एमाले) का सांसद अर्जुन कुमार कार्कीले सरकारले तय गरेको विद्यार्थी र शिक्षकको अनुपात सम्बन्धी मापदण्डले दुर्गम भेगका विद्यालयहरू बन्द हुने अवस्थामा पुग्ने चेतावनी दिएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले सरकारले हिमाल, पहाड र तराईका लागि राखेको विद्यार्थी संख्याको सिलिङ व्यवहारिक नभएको दाबी गरे ।
हिमाल र पहाडका विद्यालय रित्तिने डर
सांसद कार्कीले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै भने, ‘हिमालमा ५०, पहाडमा ४५ र तराईमा ४० विद्यार्थी बराबर १ शिक्षक मान्ने हो भने अब हिमाल र पहाडमा विद्यालय नै रहँदैनन् । यो मापदण्डले दुर्गमका बालबालिकालाई शिक्षाको पहुँचबाट टाढा धकेल्ने निश्चित छ ।’ भौगोलिक विकटता र पातलो बस्ती भएका क्षेत्रमा यस्तो संख्यात्मक मापदण्ड लागू गर्दा गाउँगाउँका विद्यालयहरू धराशायी हुने उनको तर्क थियो ।
शिक्षाको बजेट अन्तर्राष्ट्रिय प्रतिवद्धताभन्दा आधा
शिक्षा क्षेत्रका लागि विनियोजित २ खर्ब ८८ अर्ब रुपैयाँ पर्याप्त नभएको उल्लेख गर्दै उनले यो कुल बजेटको २० प्रतिशत हुनुपर्ने अन्तर्राष्ट्रिय प्रतिवद्धताको आधा मात्रै रहेको बताए । उनले शिक्षा प्रणाली प्रमाणपत्रमुखी मात्र भएको भन्दै अब लर्निङ आउटकममुखी हुनुपर्नेमा जोड दिए ।
बजेटको असन्तुलित वितरणप्रति टिप्पणी गर्दै उनले भने, ‘अहिले २ हजार भन्दा धेरै विद्यार्थी संख्या भएका विद्यालयलाई १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको देखियो, तर यस्ता पूर्वाधार भएका विद्यालय देशभर १२८ वटा मात्रै छन् । यसले ठूलालाई मात्र समेट्ने र साना विद्यालयलाई उपेक्षा गर्ने काम गरेको छ ।’
बाल विकास सहजकर्ताको अधिकार उल्लंघन
सांसद कार्कीले बाल विकास सहजकर्ताहरुको १२ हजार रुपैयाँ तलब तोकिनु मानव अधिकारको उल्लंघन भएको बताए । ‘श्रमिकको न्यूनतम पारिश्रमिकभन्दा पनि कम तलब दिएर शिक्षक र कर्मचारीको अपमान गरिएको छ,’ उनले भने ।
विशिष्टीकृत विश्वविद्यालयको प्रस्ताव
उच्च शिक्षाको विकासका लागि योगमाया आयुर्वेदिक विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट विश्वविद्यालयका रूपमा अगाडि बढाउनुपर्ने सुझाव उनले दिए ।
साथै, सरकारी विद्यालयको गुणस्तर सुधार नहुँदा विपन्न नागरिकले पनि चर्को शुल्क तिर्न बाध्य हुनुपरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट इतिहास : १ अर्बदेखि ३६ अर्बसम्म
-
‘बिग–गेम प्लेयर’ ओयार्साबालको लोभलाग्दो लय
-
सेयर बजारमा १२.२६ अङ्कको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार
-
स्पेन र नवप्रवेशी केप भर्डे आज भिड्दै, यस्तो छ दुवै टोलीको अवस्था
-
मधेस सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट (पूर्णपाठ)
-
विकास निर्माणका काम अनुगमन गर्न मधेस सरकारले मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालनमा ल्याउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण