आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भन्सुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो : अर्थमन्त्री पौडेल

मङ्गलबार, ०२ फागुन २०७९, १९ : ०१
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौं । संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराएका छन् । मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा मन्त्री पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराएका हुन् ।   

सो क्रममा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले बजेटको मध्यावधि समीक्षा नगरे बजेट कार्यान्वयनमा झनै धेरै चुक्ने स्पष्ट पारे ।   

मन्त्री पौडेलले भन्सुनका आधारमा योजना छनोट गर्ने जमानाको अन्त्य भएको बताए । उनले नेपालमा अब भन्सुनका आधारमा योजना छनोट नहुने दाबी गरे ।   

मन्त्री पौडेलले योजनाहरु आवश्यकताका हुन् वा होइनन् भन्नेकुराको अध्ययन गरेर मात्रै डिपिआर बनाउने, अरु युटिलिटीका कामहरु सकिसकेपछि आयोजनालाई कार्यान्वयनमा लैजाने विषयको प्राथमिकीकरण गरेर कार्यान्वयनमा जाने कुरामा सरकार प्रतिबद्ध रहेको बताए । उनले अझैपनि प्रदेश र स्थानीय तहका योजनाहरु संघको सूचिमा रहेको भन्दै संघीयताअनुसारको बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।   

मन्त्री पौडेलले वर्तमान सरकार भन्सुनको आधारमा बजेट विनियोजन गर्ने अभ्यासलाई सम्पूर्ण रुपमा समाप्त गर्न औचित्य, आवश्यकता र प्राथमिकताका आधारमा बजेट कार्यान्वयनको प्रक्रियालाई अघि बढाएर आयोजना छनोटको प्रक्रियालाई अघि बढाउन संकल्पवद्ध रहेको स्पष्ट पारे ।

बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ सभा समक्ष पेस गरेका थिए ।  

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकारबाट मन्त्रीपरिषद्को मिति २०७९/०६/२८ गतेको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सभा समक्ष पेस गरे । 

त्यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाका पूर्व सांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाको अर्को बैठक फागुन १४ गते आइतबार १ः०१ मिनेटमा बोलाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप