शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सत्ता गठबन्धन फेरिने संकेत

वर्तमान गठबन्धन टिक्नेमा गठबन्धनकै नेताहरू छैनन् ढुक्क
मङ्गलबार, ०२ फागुन २०७९, २१ : १८
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । पुस १० मा बनेको सत्ता गठबन्धन आगामी फागुन २५ गते हुने राष्ट्रपतिको चुनावसम्म फेरिने संकेतहरू देखिन थालेका छन् । सरकार निर्माण भएको २ महिना नपुग्दै राष्ट्रपतिको चुनावसम्म समीकरण फेरिन सक्ने नेताहरूका अभिव्यक्ति र केही घटनाक्रमले समेत संकेत गरेका छन् ।

राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलको सहमति हुनुपर्ने अडान लिएका छन् । विगतका राष्ट्रपतिका अनुभवहरूलाई समेत नजिर बनाउँदै प्रचण्डले राष्ट्रपतिमा सबै दलको साझा उम्मेदवार हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री आलोपालो गर्ने र  राष्ट्रपतिमा माओवादीले एमालेलाई सघाउने समझदारी भएको एमाले नेताहरूको दाबी रहने गरेको छ ।

तर, प्रचण्डले गत पुस २६ मा संसदबाट विश्वासको मत लिने क्रममा सत्ता साझेदार दलसहित नेपाली कांग्रेसको समेत मत पाएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउन थालेका हुन् ।

सबै दललाई मान्ने हुने गरी एमाले आफैले राष्ट्रपतिको नाम प्रस्ताव गरेपनि स्वीकार हुने प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

‘राष्ट्रपतिका विषयमा ठोस छलफल र निष्कर्षमा पुगिएको छैन । प्रधानमन्त्रीज्यू राष्ट्रपतिमा राष्ट्रिय सहमति नै कायम हुनुपर्छ भन्नेमा अडानमा यथावत् हुनुहुन्छ’ माओवादी केन्द्रका एक मन्त्री भन्छन्, ‘राप्रपाका मन्त्रीले संघीयता र गणतन्त्र विरोधी अभिव्यक्ति दिइरहेका छन् । रास्वपा सरकारबाट बाहिरिएर अप्ठ्यारो पारेको छ । त्यसैमा केपी कमरेडको निरन्तर असहयोग भएकाले यो गठबन्धन ८० प्रतिशत फेरिने सम्भावना छ ।’

एमाले अध्यक्ष ओलीले सभामुखमा जस्तो खालको पात्र र प्रवृत्तिलाई अघि सारे राष्ट्रपतिमा समेत त्यस्तै दोहोरिने सङ्केत पाएपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमतिमार्फत अघि बढ्न खोजेको ती मन्त्रीको भनाइ छ ।

‘संसदमा कसैको बहुमत छैन । यो संसद् ५ वर्ष पुग्छ भन्ने सुनिश्चितता छैन’ ती मन्त्रीले भने, ‘देश, जनता र व्यवस्थालाई केन्द्रमा राख्ने व्यक्ति चाहिन्छ । विगतका राष्ट्रपतिले पार्टीलाई केन्द्रमा राखेकाले समस्या खडा भयो । त्यसैले जुनसुकै पार्टी वा पात्र भएपनि सबै दललाई मान्य भएमा ठिक हुन्छ भन्ने छ ।’ 

यदि अहिलेको समीकरण फेरिए पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी जुनसुकै दल र नेताबाट राष्ट्रपतिको उम्मेदवार हुनसक्ने ती मन्त्रीको भनाई छ ।

यसरी बढ्दैछ अविश्वास

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि वर्तमान सत्ता गठबन्धन जोगिन्छ भन्नेमा ढुक्क छैनन् ।

मंगलबारमात्रै अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको राजनीतिक अवस्था ठिकठाक नरहेको बताए । उनले निर्वाचन अघिको पाँच दलीय गठबन्धन भत्काउन सफल भएर सरकार गठन भए पनि यही समीकरण रहिरहन्छ भन्ने कुनै ग्यारेन्टी नरहेको बताए ।

त्यस क्रममा उनले देशभित्र र बाहिरका शक्तिहरू देश बरबाद पार्न सक्रिय भएको तर नेकपा एमाले सुरक्षाकवजका रूपमा उभिने बताए ।

‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ । यो सफलताको कुरा हो । हाम्रो पार्टीका आम साथीहरू प्रसन्न भएको देखिन्छ । प्रसन्न हुनुपर्दछ तर कथंकदाचित यो स्थिति फेरियो भने।।। ?’, ओलीले प्रश्न गर्दै भने, ‘यो संसद्को बनावट नै अस्थिरताको कारक हुने बनावट छ ।’

उनले संसद्मा बहुमत कसैको नभएकाले अस्थिरता बढ्ने सङ्केत गरे । ‘बहुमत हाम्रो पार्टीसँग पनि छैन । बहुमतभन्दा निकै तल सिट छ । यसलाई आधार बनाएर देश भित्र र बाहिरका धेरै शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन्’, अध्यक्ष ओलीको सङ्केत छ ।

ओलीले देश बरबाद पार्न लागि परेका षड्यन्त्रकारीहरूले पहिला एमालेमाथि प्रहार गर्न सक्ने र समीकरण नै बिगार्न सक्ने भएकाले कार्यकर्ताहरूलाई तयार रहन निर्देशन समेत दिए । ‘नेकपा एमाले यो देशमा डकैती गर्न नदिने, गेट पाले भएकाले यसमाथि नहानी भित्रै पस्न पाउँदैनन् । त्यसकारण पहिला यसमाथि प्रहार हुनसक्छ । भइआएको छ । फेरि पनि हुनसक्छ’ओलीको भनाइ छ । त्यति मात्रै होइन ओलीले सत्ताका लागि एमालेले राष्ट्रियता नत्याग्ने समेत बताए ।

नेताहरूका अनुसार सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएपछि प्रचण्ड र ओलीबीच अविश्वास थप बढेको छ ।सुदूरपश्चिम प्रदेश सरकार जोगाउन प्रधानमन्त्री प्रचण्डले भूमिका नखेलेकोमा ओली चिढिएका छन् । सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार ढलेर कांग्रेस ‘कम ब्याक’ भएपछि संघमा समेत सत्ता समीकरण बदलिने सत्ता साझेदार दलकै नेताहरूले अभिव्यक्ति दिन थालेका छन् ।

उता राप्रपाबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्रीहरूले संघीयता र गणतन्त्रको विरोध गरिरहेका छन् । यसबाट पनि प्रधानमन्त्री प्रचण्ड चिढिएका छन् । अहिलेको व्यवस्थाका विरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने घोषणा गरेका प्रचण्ड सोध्न सकेका छैनन् । उनीहरूलाई सकेसम्म गठबन्धनबाटै बिदा गरेर जाने पक्षमा प्रचण्ड भएकाले स्पष्टीकरण नसोधिएको प्रचण्ड निकट स्रोतहरूले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको अवस्थामा प्रधानमन्त्री प्रचण्ड जुनसुकै अवस्थामा अप्ठ्यारोमा पर्न सक्ने बुझाई छ । रास्वपाले समर्थन कायमै रहेको बताए पनि दीर्घकालीन रूपमा समस्या पर्ने भएकाले प्रचण्ड ढुक्क हुन सकेका छैनन् । रास्वपालाई प्रधानमन्त्री प्रचण्डले सरकारबाट बाहिर जान नरोकेको भन्दै ओली प्रचण्डसँग असन्तुष्ट छैनन् ।

नेपाली कांग्रेस सहित एकीकृत समाजवादी जसपा लगायत दलहरू अहिलेको गठबन्धन भत्काउन लागि परेका छन् । सात दलीय गठबन्धन भत्काएर उनी सरकारमा जान राष्ट्रपतिलाई भर्‍याङ बनाउन खोजेका छन् ।

त्यसैले सत्ता बाहिर भएका दलका नेताहरू एकपछि अर्को गर्दै गठबन्धन भत्किने अभिव्यक्ति दिँदै आएका छन् । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत सोमबार बुटवलमा आयोजित एक कार्यक्रममा फागुन १० गतेसम्म अहिलेको गठबन्धन भत्किने दाबी गरेका थिए ।

 ‘पुस १० गते बनेको अहिलेको ७ दलीय गठबन्धन फागुन १० गते भत्किएर चुनावअघिको ५ दलीय गठबन्धन ब्युँतिन्छ’, थापाले भने, ‘राष्ट्रपति चुनावमा पनि कांग्रेसले प्रस्ताव गरेको उम्मेदवारले जित्छ ।’

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन राष्ट्रपतिको चुनावसम्म रहने दाबी गरेका थिए । गत माघ अन्तिम साता सकिएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेपालले यो सरकार राष्ट्रपतिको चुनावसम्म थेगिन सक्ने दाबी गरेका थिए । 

जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत समेतले सत्ता गठबन्धन भत्किन सक्ने सङ्केत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप