शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रपतिका बारेमा आधिकारिक निर्णय गर्दै माओवादी केन्द्र

बुधबार, ०३ फागुन २०७९, ११ : ३१
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने भएको छ । फागुन १३ गतेअघि माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए । यही साताभित्र माओवादी केन्द्रको पदाधिकारी बैठक बसेर राष्ट्रपतिका बारेमा निर्णय लिने बताउँदै उनले यसका लागि पार्टीभित्र गृहकार्य भइरहेको समेत जानकारी दिए ।

यो पार्टी वा त्यो पार्टी भन्दा पनि सहमतिमा राष्ट्रपति कसलाई बनाउने विषयमा छलफल हुने उनले बताए । ‘कांग्रेसलाई राष्ट्रपति दिने विषयमा छलफल भइरहेको छ तर आधिकारिक निर्णय भएको होइन’ उनले भने, ‘माओवादी केन्द्रले सबै दलसँग परामर्श गरिरहेको छ, बैठकबाट ती सबै कुराको टुङ्गो लगाउँछ, यी सँगै राष्ट्रपतिका बारेमा पनि आधिकारिक धारणा माओवादीले ल्याउँछ ।’

नेकपा एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने गरी माओवादी केन्द्रसँग सहमति भइसकेको दाबी गर्दै आइरहेको छ । उसले माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउँदा प्याकेजमै सबै पदमा सहमति भएको भन्दै  राष्ट्रपति आफूहरूको भागमा परेको बताउँदै आएको हो । एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यो विषयमा दुवै अध्यक्ष (ओली र प्रचण्ड) का बीचमा सहमति भइसकेको बताए । उनले सोही सहमति अनुसार सबै कुरा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले सहमतिलाई कायम राख्नेमा आफूहरू विश्वस्त रहेको समेत गुरुङले बताए । तर माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका विषयमा कुनै दलसँग सहमति नभएको बताउँदै आएका छन् । उनले राष्ट्रपति सबै दलको सहमतिमा निश्चित गर्ने धारणा राख्दै आएका छन् । त्यसैले पनि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीको बीचको दुरी बढ्दै गएको छ । राष्ट्रपतिको चुनावसँगै सत्ता समीकरणमा हेरफेर हुने चर्चा पनि सुरु भएको छ । कांग्रेसले राष्ट्रपतिमा उम्मदवार उठाउने निर्णय गरिसकेको छ भने त्यसका लागि माओवादीले साथ देला भन्नेमा सो पार्टी ढुक्क देखिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप