सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अहिले शक्ति राष्ट्रहरूले प्रत्यक्ष रूपमै भूमिका खेलिरहेका छन् : चित्रबहादुर केसी

बुधबार, ०३ फागुन २०७९, १४ : ११
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रूपमा भूमिका खेले पनि यस पटक भने प्रत्यक्ष रूपमा नै भूमिका खेलेको आरोप लगाएका छन् ।  बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन् । उनले शक्ति राष्ट्रहरूले यस पटक प्रत्यक्ष रूपमा आफ्नो देशको स्वार्थ अनुकूल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको बताए । उनले यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको बताए ।

सांसद केसीले नेपालका सरकार प्रमुखहरू विदेशी शक्ति राष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेको दाबी समेत गरे । उनले भारतको सामान्य कर्मचारी आउँदा पूर्व प्रधानमन्त्रीहरूदेखि मन्त्रीहरू र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको बताए । उनले भूगोलको हिसाबले राष्ट्र सानो, ठुलो भए पनि सार्वभौम सत्ता, भौगोलिक अखण्डताको हिसाबले राष्ट्र सानो, ठुलो नहुने उनले बताए ।

उनले भने, ‘एक दुई दिन पहिलो छिमेकी राष्ट्र भारतबाट परराष्ट्र सचिवको नेपाल आगमन भयो । एउटा कर्मचारी । उहाँले नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख, लगायत विभिन्न मानिसहरूको बीचमा उहाँले भेटघाटको अभियान चलाउनुभयो । राष्ट्र सानो ठुलो हुनसक्छ । निश्चय पनि नेपालको तुलनामा भारतको भूगोल, जनसङ्ख्या, आर्थिक दृष्टिकोणले ठुलो छ । तर सार्वभौम सत्ता, भौगोलिक अखण्डताको हिसाबले राष्ट्र सानो, ठुलो हुँदैन । सार्वभौम सत्ता हरेक राष्ट्रको बराबर हुन्छ । तर नेपालबाट पूर्व प्रधानमन्त्रीहरू वा जिम्मेवार मन्त्रीहरू जाँदा भारतीय शासकहरूले, खास गरेर उपल्लो तहका शासकहरूलाई भेट्नै सक्दैन । उहाँहरू निराश भएर फर्किनुपर्छ । तर छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिसहरू आफूलाई असाध्यै जान्ने सुन्ने र देशको स्वाभिमान हुँ भन्दै मुन्टो हल्लाउँदै हिँड्ने, किन यसरी विदेशीहरूको अघि लम्पसार परिरहेका छन्, राष्ट्रिय स्वाभिमानको बारेमा उहाँहरूलाई अलिकति लाज लाग्दैन ।’

पछिल्लो समय राष्ट्रपति कसलाई बनाउने भन्ने बहस चर्किरहेको बताउँदै उनले भने, ‘नेपालमा अहिले चर्चाको विषय छ, राष्ट्रपति कसलाई बनाउने भन्ने चर्चाको विषय छ । त्यस सम्बन्धमा शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रूपले हुने गर्दथ्यो, अहिले त प्रत्यक्ष रूपले नै आफ्नो देशको अनुकूल मान्छे राष्ट्रपति बनाउने खेल भइरहेको छ, यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको छ । विदेशी शक्ति राष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेका छौँ, यसले वास्तवमा राष्ट्रको स्वाभिमान, इज्जतमाथि खलल गरिरहेको छ ।’

सांसद केसीले नेपालमा गणतन्त्र माथिको खतरा गणतन्त्र पक्षधरहरूबाट नै रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप