शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्न सकिँदैनः अध्यक्ष केसी

बुधबार, ०३ फागुन २०७९, २३ : ०८
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले  तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्न नसकिने बताएका छन् । बुधवार नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले आर्थिक सूचकहरूमा देखिएको सुधारले बिस्तारै ब्याजदर घट्ने अवस्था देखिए पनि बैंकहरुले तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्न सक्ने अवस्था नदेखिएको बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रमा केही राम्रो हुने संकेत देखिए पनि बैंकहरु दबाबमा नै रहेको उल्लेख गरे । 

 अध्यक्ष केसीले उद्योगी व्यवसायीहरूबाट बैंकको ब्याजदर बढी भएको भन्दै बैंकको ब्याजदर घटाएर एकल बिन्दुमा ल्याउन मागहरू आए पनि तत्काल ब्याजदर घटाउन सक्ने अवस्था नभएको बताए ।  बैंकहरुले लिएको नीतिले विस्तारै ब्याजदर घट्दै जाने अवस्था देखिएको पनि उल्लेख गरे । उनले बैंकहरु कर्जाको ब्याजदरलाई स्थिर राख्नुपर्छ भन्ने विषयमा सजक रहेको बताए । अध्यक्ष केसीले संसारभर ब्याजदर बढिरहेको भन्दै नेपालमा पनि त्यसको प्रभाव परेको बताए ।

 उनले  चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा २ सय अर्बको निक्षेप बैंकहरुले संकलन गरेको बताउँदै आर्थिक वर्षको अन्तिम ५ महिनामा २ सय ३० अर्ब जति निक्षेप संकलन गर्ने लक्ष्य रहेको बताए । उनले चालु आर्थिक वर्षमा बैंकको निक्षेप ४५० देखि ५०० अर्ब पुग्ने बताए । उनले बैंकहरुले कर्जा प्रवाह पनि चालु आर्थिक वर्षमा ४०० अर्ब हाराहारीमा गर्ने बताए ।  अध्यक्ष केसीले बैङ्कहरूको सिडी रेसियो ८६.३९ प्रतिशत रहेको बताए । 

उनले भने, ‘चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा २ सय अर्बको निक्षेप बैंकहरुले संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्तिम ५ महिनामा २ सय ३० अर्ब जति निक्षेप संकलन थियो । त्यति नै भयो भने पनि चालु आर्थिक वर्षमा ४३० अर्ब पुग्छौँ । पछिल्लो ५ देखि ७ वर्षमा हेर्दा र कोभिड समयलाई छाड्दा अर्को २५० अर्ब बढेर ४५० देखि ५०० अर्ब अबको पाँच महिनामा निक्षेप पुग्छ भन्ने अनुमान हो । कर्जामा पनि ४०० अर्ब जतिको हाराहारीमा पुग्छौँ । यस्तै अवस्थामा जाने हो भने बैङ्कहरूमा तरलताको चाप नहुने अवस्था देख्छौँ । तर अहिलेको अवस्था अलि फरक रहेको छ । अहिले बैङ्कहरूको ८६.३९ प्रतिशत सिडी रेसियो छ । नेपाल बैंक र वाणिज्य बैंकलाई छाड्ने हो भने ८७ प्रतिशत भन्दा माथि रहेको छ । जुन किसिमले बैङ्कहरूमा निक्षेप र कर्जा बढेर जाने अवस्थालाई हेर्दा पर्ख र हेर गर्नुपर्ने परिस्थिति रहेको छ । जुन बेला केही सहज अवस्था देखियो त्यो बेला बैंकहरु सबै मिलेर ब्याजदर घटायौँ । सरकारको तरलतालाई सहज बनाउने नीति हेर्दा अझै पनि बैङ्कहरूमा तरलता चाप पर्ने देखिन्छ । पछिल्लो समय अर्थतन्त्रमा केही राम्रो हुने संकेत देखिरहेका छौँ । तर पनि बैंकहरु दबाबमा नै रहेकाले सहजता बन्नुपर्ने अवस्था रहेको छ । पछिल्लो समय विभिन्न खालमा मागहरू आइरहेको छ । जसमा बैंकको ब्याजदर बढी भयो । बैंकको ब्याजदर घटाएर एकल बिन्दुमा ल्याउनुपर्ने मागहरू रहेका छन् । अहिलेको अवस्थालाई हेर्दा बैंकहरुले कर्जाको ब्याजदर तत्काल घटाउन सक्ने अवस्था देखिँदैन । बैंकहरुले बिस्तारै रूपमा ब्याजदर घटाउँदै अगाडि बढेकाले बिस्तारै घट्दै जाने अवस्था भने देखिरहेका छौँ । बैंकहरु पनि कर्जाको ब्याजदरलाई स्थिर र सहज अवस्थामा राख्ने विषयमा सजक छौँ । त्यसको प्रभावकारिता कसरी बढाउने विषयमा बैंकहरु लागिरहेका छौँ ।’

अध्यक्ष केसीले बैंक वित्तीय संस्थामा खाता खोलेका ४ करोड खातावालालाई संरक्षण दिन खोज्दा बैंक वित्तीय संस्थाबाट ऋण लिएका १८ लाख ऋणीले दबाब सिर्जना गरेको बताए । उनले अहिले नेपालमा मात्रै ब्याजदर बढेको नभएर भारतको केन्द्रीय बैंकले केही दिनअघि मात्रै ०.२५ प्रतिशतले नीतिगत दर बढाएको बताए । उनले बैंक वित्तीय संस्थाले आफ्नो पुँजीभन्दा कैयौँ गुणा रकम सर्वसाधारणबाट लिएर कारोबार गरिरहेकाले ऋणीभन्दा पनि निक्षेपकर्तालाई प्राथमिकतामा राख्नुपर्ने अवस्था रहेको बताए । उनले बजारमा ऋणीको धेरै कुरा आएको तर निक्षेपकर्ताको विषयमा कुनै कुरा नआएको बताए ।

 बैंकहरुले निक्षेपकर्ताको संरक्षणको विषयमा पनि सोच्नुपर्ने भएकाले अहिले बैंकिङ क्षेत्र पनि दबाबमा रहेको बताए ।  अध्यक्ष केसीले पछिल्लो समय अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिए पनि अझै अर्थतन्त्र पूरै लयमा नभएको बताए । उनले बैंकिङ क्षेत्रमा कोभिडको समयमा प्रवाह गरेको कर्जा समेत उठ्न नसकेकाले खराब कर्जाको अवस्था वृद्धि हुँदै गएको बताए । उनले बैङ्कहरूको खराब कर्जाको अवस्था २.२४ प्रतिशत रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप