मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

परिक्रमा मार्ग सहज बनाउन हरसम्भव सहयोग गर्छु : मुख्यमन्त्री यादव

सोमबार, ०८ फागुन २०७९, १५ : ४४
सोमबार, ०८ फागुन २०७९

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले १५ दिवसीय मिथिला मध्यमा परिक्रमाको शुभारम्भ गरेसँगै मिथिला बिहारीको डोला जनकपुरधामको लागि प्रस्थान गरेको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका–८, कचुरीस्थित मिथिला बिहारी मठमा मुख्यमन्त्री यादवले मिथिला बिहारीको डोला उठाएर जनकपुरधामका लागि बिदाइ गरेका थिए । मिथिला बिहारीको डोला आज जनकपुरधामको हनुमानगढी पुग्ने छ ।

मिथिला बिहारी नगरपालिकाले आज बिहान आयोजना गरेको परिक्रमा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले परिक्रमा यात्रीको मार्ग सहज बनाउन प्रदेश सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वृहत् धार्मिक यात्रालाई व्यवस्थित गर्न स्थानीय सरकारसित समन्वय गर्नुका साथै संघीय सरकारलाई पनि सहयोगका लागि मुख्यमन्त्री यादवले आग्रह गरे । तीनै तहको सरकारले परिक्रमामा सहभागी हुने यात्रीको यात्रा सहज बनाउनुपर्ने उनको भनाइ थियो ।

वृहत् परिक्रमा विकास समिति गठनका लागि संघीय सरकारसित समेत पहल गर्ने मुख्यमन्त्री यादवले बताए । उनले मिथिला बिहारी मठलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

जनकपुरधाम आउने धार्मिक पर्यटकहरू मिथिला बिहारी मठमा दर्शन पूजा गर्दै धनुषाधाम जाने वातावरण बनाउनुपर्ने उनले बताए ।

धनुषाको मिथिला विहारी नगरपालिका–८ कचुरीको मठबाट डोला निस्केसँगै प्रत्येक वर्ष झैं मिथिला मध्यमा परिक्रमाको शुभारम्भ भएको छ । अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला परिक्रमा फागुन प्रतिपदामा सुरु भई पूर्णिमाका दिन सम्पन्न हुन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप