शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

महन्थलाई राष्ट्रपति बनाउन लोसपा नेताको दौडधुप : प्रचण्डपछि ओली र देउवासँग भेट्दै

मङ्गलबार, ०९ फागुन २०७९, १८ : ३८
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन दौडधुपमा लागेका छन् । अध्यक्ष ठाकुरसहितका नेताहरुले मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् भने साँझ ७ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दैछन् । 

मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरुले अध्यक्ष ठाकुरलाई राष्ट्पतिमा राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन राखेको प्रस्तावमा प्रचण्डले सकारात्मक रूपमा लिँदै आफ्नोतर्फबाट पहल गर्ने बचन दिएको नेता राजेन्द्र महतोले जानकारी दिए । 

महतोले रातोपाटीसँग भने, 'तपाईँले राष्ट्रपतिमा सहमतिको उम्मेदवार चाहिन्छ भन्नुभएको छ । त्यो अवस्थामा महन्थजीलाई उम्मेदवार बनाउनुस् यो उपयुक्त प्रस्ताव हुनसक्छ भनेर हामीले राखेको प्रस्तावमा उहाँले महन्थजी पनि राष्ट्यि सहमतिको उम्मेदवार हुनसक्ने व्यक्ति र पात्र हो, तर मसहित तपाईँहरू पनि अन्य दलसँग त्यसका लागि पहल गर्नुस भन्नुभयो ।’

लोसपाका नेताहरुसँगको संवादमा प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउनुपर्छ भन्ने पक्षमा रहेपनि अहिलेसम्म कोही व्यक्तिको हकमा निर्णयमा नपुगेको दोहोराएका थिए । 

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि लोसपाका नेताहरुले आजै साँझ एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्न लागेको महतोले बताए ।

 ‘हामी आजै एमाले अध्यक्ष केपी ओलीसँग र भोलि बुधबार बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर महन्थजीलाई राष्ट्रपतिको उम्मेदवार बनाउन आग्रह गर्छौ । त्यसका लागि समय तय भइसकेको छ’, महतोको भनाइ छ ।  

राष्ट्रपतिका लागि अबको चार दिनपछि फागुन १३ मा उम्मेदवारी मनोनयनको समय तोकिएको छ भने मतदान फागुन २५ मा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप