आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

उपेन्द्रलाई सहज हुनेगरी जसपाभित्र उपराष्ट्रपति उम्मेदवारको खोजी

शनिबार, १३ फागुन २०७९, १४ : ४०
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारबारे छलफल सुरु भएको छ । आठ दलीय गठबन्धनमा काँग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति पाउने सहमति भएको थियो । जसअनुसार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।   यस्तै उपराष्ट्रपति जसपामा कसलाई उम्मेदवार बनाउने भनेर आन्तरिक छलफल सुरु हुनुका साथै त्यसका लागि नेताहरुले लबिङ समेत थालिसकेका छन् । 

जसपाबाट उपराष्ट्रपतिको उम्मेदवारमा पहिलो नम्बरमा रामसहाय यादवको नाम चर्चामा आएको छ । यस्तै दोस्रो नम्बरमा नवलकिशोर साहको नाम चर्चामा छ ।  पार्टीबाहेकका व्यक्तिहरुले पनि चासो लिइरहेका छन् । तर सांसदमध्ये नै एकजना कसैलाई राजीनामा दिन लगाएर उपराष्ट्रपति बनाउने तयारी जसपाको रहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव हारेको र उपनिर्वाचनमार्फत संसद छिर्ने दाउमा छन् । 

सोहीअनुसार सांसदलाई उपराष्ट्रपति बनाउने र सो ठाउँमा उपनिर्वाचन हुँदा उम्मेदवार बनेर फेरि संसद छिर्ने यादवको रणनीति छ । यादवका लागि सबभन्दा सहज बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव जितेका रामसहाय यादवलाई उपराष्ट्रपति बनाउँदा हुने देखिन्छ । अरु क्षेत्रभन्दा यादवलाई बारा २ बाट चुनाव जित्न पनि सजिलो हुने र रामसहाय यादवलाई राजिनामा पनि गराउन सजिलो हुने भएकाले पार्टीमा त्यही विषयमा छलफल भइरहेको हो । 

जसपाका कार्यकारिणी सदस्य समेत रहेका यादवले यसबारेमा अहिले औपचारिक छलफल नभए पनि पार्टीले गर्ने निर्णय आफूलाई मान्य हुने बताए । उनले भने, ‘उपराष्ट्रपतिमा उम्मेदवारी दिने विषयमा पार्टीमा अहिले कुनै छलफल भएको छैन , मलाई त्यसको बारेमा कुनै जानकारी पनि छैन ।’  उनले अगाडि भने, ‘उपराष्ट्रपतिको विषयमा छलफल हुन बाँकी छ । पार्टीले उपराष्ट्रपतिको विषयमा जे निर्णय गर्छ त्यो मलाई स्वीकार हुन्छ, पार्टीको निर्णयभन्दा बाहिर जान्नँ ।’

सो पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले उपराष्ट्रपति जसपाले पाउने निश्चित भएको बताए ।  तर पार्टीको तर्फबाट को उम्मेदवार बन्ने अहिले टुंगो नलागेको उनको भनाइ छ।   ‘उपराष्ट्रपतिको उम्मेदवारबारे  पार्टीमा विषय नै प्रवेश भएको छैन, राष्ट्रपतिको उम्मेदवारीपछि  बस्ने पार्टीका बैठकबाट त्यसको बारेमा निर्णय हुन्छ’, उनले भने।   फागुन २७ गते उपराष्ट्रपतिको उम्मेदवारी दिने समय तोकिएको छ । त्यसअघि नै उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउनुपर्ने हुन्छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुनेछ ।

जसपाका अर्का कार्याकारिणी सदस्य रकम चेम्जोङले उपराष्ट्रपतिको विषयमा छलफल सुरु नभएपनि पार्टीले सर्वसम्मतिबाट यो विषयलाई टुग्यांउने बताए । पार्टीमा जसको नाममा सहमति बन्छ, उसैलाई सबैले स्वीकार गर्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप