आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
कथा

अमृतश्री–३

आइतबार, १४ फागुन २०७९, ११ : ४३
आइतबार, १४ फागुन २०७९

नवमी मेलामा मलाई क्षणभरमै आफ्नो प्रेममा चुर्लुम्मै डुबाउने पुरुष को हो ? ऊ आज आउँदैन कि ! हिजो मलाई के भयो र आफूलाई धान्न सकिनँ ? के यो प्रेम हो ? यस्ता अनेक प्रश्नसहित कल्याणी हातमा चिराक बोकेर उभिइरहेकी थिइन् । 

आगो हातमा भएका बेला उनलाई कुनै कुराको डर हुँदैनथ्यो । रातले दिनलाई सम्पूर्ण निलिसकेको थियो, आकाशमा अर्धाकारावस्थामा फागुन शुक्ल दशमीको चन्द्रमा टल्किरहेको थियो । उनी कल्पनामा हराइरहेकी थिइन्, कतैबाट उसको स्वर आओस्– कल्याणी ! 

कल्याणी ! भोलि यही ठाउँमा यही बेला भेट्नुपर्छ– त्यो अञ्जान प्रेमीको अन्तिम वाक्य यही थियो । अघिल्लो रात उनीहरू पूर्णवतीग्राम नजिकैको झाडीमा भेटिएका थिए । 

पछाडिबाट उनलाई कसैले अकस्मात् समायो, उनको हातको चिराक खसेर निभ्यो । 

कति ढिला गरेको ? म यहाँ आएको चार–पाँच घडी बितिसक्यो होला । यति भनेर उनी आफूलाई पछाडिबाट समाउने पुरुषतिर फर्किइन् । त्यस पुरुषको केशबाट आएको सुगन्ध बेग्लै थियो । शरीरको गन्धमा ध्यान दिइन्, त्यो झनै अर्कै थियो । बेसरी धकेलेर त्यस पुरुषलाई भुइँमा लडाइन् र बगलीको छुरा झिक्दै सोधिन्– को होस् तँ ? 

त्यही बेला अश्व सवार भई उनका अञ्जानप्रेमी आइपुगे, दुवैबीच खुँडायुद्ध चल्यो । खलनायक शैलीमा आउने अघिल्लो पुरुष एकछिन टिक्न सकेन, ऊ पराजित भएर भाग्यो । 

‘त्यो मान्छे को हो ? मैले त तिमी सम्झेर धन्नै !’ आफ्नो सञ्चा प्रेमीको आलिंगनमा पर्दै कल्याणी बोलिन्, ‘मैले हिजो तिम्रो नाम सोध्नै बिर्सेंछु, साँच्चि तिम्रो नाम के हो ? आउन किन ढिला गरेको ?’

– हरे ! एकपटकमा एउटा प्रश्न सोध न । यहाँ हामी सुरक्षित छैनौँ, हिँड अलि पर जाऊँ । 

उनीहरू हिँड्दै केही पर एकान्तमा रहेको चौतारीमा पुगे । कल्याणीलाई आफ्नो प्रेमीको नाम हरिगुप्त भन्ने थाहा भयो । 

‘तिमी एक ठाउँमा उभिँदा चारैतिर कति छिटो हेरिभ्याउँछौ किन ? तिम्रो नाम सामन्तको जस्तो छ त ! खुँडा पनि तिमीले भट्टारकले जसरी चलाउँछौँ । कतै तिमी दरबारको मान्छे त होइनौ ? आज तिमीले साँचो भन्नैपर्छ,’ कल्याणीले जिद्धी गर्न थालिन् । 

– मैले भनिसकेँ, म साधारण पुरुष हुँ ।

उनले कल्याणीलाई आलिंगनमा लिएर चुम्बन गर्न खोजे, किन्तु कल्याणीले अस्वीकार गरिन् । त्यसपछि उनले ठूलो चिराक बालेर वरको रुखमा अड्याए । चिराकको उज्यालोले कल्याणीको छाया भुइँमा पोखिएको थियो । कल्याणीदेखि परै उभिएर र अलिकति झुकेर उनले आफ्नो टाउकोको छाया कल्याणीको टाउकोको छायामा खप्टाए, अनि छायातिर हेर्दै चुम्बनको हावभाव व्यक्त गरे । मप्रति यत्रो आशक्ति ! कल्याणी पग्लिएर हरिगुप्तको आलिंगनमा गइन् । 

छायाचुम्बन ! यसको बारेमा साधारण पुरुषलाई थाहा हुँदैन । यो कामसूत्रको कुरा हो, यसको ज्ञान दरबारिया पुरुषलाई मात्रै हुन्छ । पक्कै पनि तिमी भट्टारकको सिपाही हुनुपर्छ ।  

– अनि, तिमीलाई छायाचुम्बनको ज्ञान कसरी भयो ? के तिमी दरबारिया स्त्री हौँ ? 

यसबारे मलाई अमृतश्रीले बताएकी थिइन् । 

– अमृतश्री ! तिमीले उनलाई चिन्छ्यौ ? 

ऊ मेरी सँगी थिई । उसलाई विभिन्न शास्त्रहरूको ज्ञान थियो, ऊ त्यसमा तर्क गर्थी । 

यस रात उनीहरूबीच विभिन्न विषयमा कुरा भए, हरिगुप्तले कल्याणीलाई मध्यरातमा उनको घरमा पुर्‍याए र आफ्नो बाटो लागे । फागु शुक्ल पूर्णिमाको रात यही ठाउँमा भेट्ने वाचा दुवैको थियो । 

०००

अघिल्लो दिन ।

कल्याणी दूध–घिउ बेच्न नवरात्रि मेलामा गएकी थिइन् । पूर्णवतीग्रामदेखि पश्चिम किनारमा अर्थात् वागमती र विष्णुमतिको दोभानमा हरेक नवमी तिथिमा मेला लाग्ने गथ्र्यो । आश्विन शुक्ल र माघ शुक्ल पक्षमा भने नवरात्रभर अर्थात् नौ दिनसम्मै मेला लाग्थ्यो । त्यसैले हरेक नवमी तिथिमा लाग्ने एकदिने मेलालाई पनि मानिसहरू नवरात्रि मेला भन्ने गर्थे । खोपृङ्ग्राम, ललितपत्तन, फर्पिङदेखिका मानिस यहाँ व्यापार गर्न र मेला भर्न आउँथे । मेलामा जडिबुटी, दूधघिउ, फलामका कृषि औजार, भाँडावर्तन, वस्त्र, आभूषण आदिको व्यापार चल्थ्यो ।

रातको समयमा चोरी–डकैती नहोस् भनी ठाउँठाउँमा दीपस्तम्भको व्यवस्था गरिएको थियो । एउटा दीपस्तम्भ नजिकै दूधघिउ बेचिरहेकी कल्याणीमाथि हरिगुप्तको दृष्टि पुग्यो । शृंगार, आभूषण र यौवनले कल्याणी धपक्कै बलझैँ देखिन्थिन् । हरिगुप्त घिउ किन्ने बहानामा उनको समीप पुगे । 

‘घिउ त भर्खरै सकियो, दूध बाँकी छ,’ स्मित हाँसोसहित कल्याणी बोलिन् । 

घिउ सकिएको हरिगुप्तलाई थाहा थियो, उनलाई घिउ किन्नु थिएन, केवल कल्याणीसँग बोल्नु थियो । सबै अवलोकन गरेरै उनी घिउ सोध्न गएका थिए । मेलामा ओहोरदोहोर गर्दा यी दुईका नयन दुई नदीझैँ धेरैपटक मिसिने र रोकिने भइसकेको थियो । 

‘मलाई आवश्यक घिउ हो, दूधको के काम !’ हरिगुप्तले आलाप लम्ब्याउन चाहे । आफूतिर परपुरुष आकर्षित भएको बुझ्न एउटी यौवनालाई त्यति कठिन हुँदैन । अघिदेखि यो पुरुष मेरै वरिपरि घुमिरहेको छ, मसँग नभएको चिज मागिरहेको छ, जिउडाल र बोली–व्यवहार राम्रै देखिन्छ— कल्याणीलाई पनि हरिगुप्ततिर चासो बढ्न थाल्यो । 

‘घिउ बन्ने दूधबाट न हो, दूधै लैजाऊ ! घिउबाट दूध बनाउन सकिने होइन आखिर,’ कल्याणीले जवाफ फर्काइन् । 

हरिगुप्त हाँस्दै बोले, ‘मैले घिउबाट दूध बनाउन सक्छु ।’

‘सकेनौ भने ?’

‘सकेँ भने ?’ हरिगुप्तले प्रतिप्रश्न गरे । 

यहीबेला दूध किन्न अर्का ग्राहक आए । बाँकी रहेको दूध पनि बिक्री भयो । त्यतिन्जेल हरिगुप्त उभिइरहेका थिए । 

‘किन बसिरहेका छौ ? दूध र घिउ दुवै सकियो !’ उनी मन्द हाँसोसँगै बोलिन् ।

– तिम्रो यो मखमली र महजस्तो हाँसो अलिकति दिन मिल्दैन ?

फूल हो, टिपेर लैजाऊ न । 

– कुन बोट वा कुन वनमा आउनुपर्ने हो फूल टिप्न ?

 ‘थाहा छैन, वनवन चहार्दै डुल्नु नि,’ कल्याणी ठुस्किएजस्तो गरिन्, अनि दूध र घिउ राख्ने खाली ठेकीलाई ढाकरमा बोकेर आफ्नो घरतिर लागिन् । उज्यालोका लागि उनले हातमा चिराक बोकेकी थिइन् ।

हरिगुप्तले कल्याणीलाई पछ्याउन थाले । पूर्णवती ग्राममा पुग्नुअघि सानो झाडी आउँथ्यो । त्यहाँ पुगेर उनले आवाज दिए– कल्याणी ! 

निर्जन वनमा अकस्मात् कसैले नाम लिएर बोलाउँदा उनी झस्किन पुगिन्, उनको हातबाट चिराक खसेर निभ्यो । उज्यालोको बानी लागेका उनका आँखाले केहीबेर चकमन्न अँध्यारो मात्रै देख्न पुगे, उनी उसै अलमलमा परी उभिइरहेकी थिइन् । हरिगुप्त हतारहतार नजिक गएर उनलाई आलिंगनमा बेर्दै सोधे– डरायौ !

‘तिमी को हौ ? तिमीलाई मेरो नाम कसरी थाहा भयो ? अनि, किन यसरी एकैचोटि अर्काकी छोरीलाई अँगालेको ?’ यसो भने पनि उनले हरिगुप्तलाई धकेल्ने वा उनको आलिंगनबाट फुत्कने कोसिस गरेकी थिइनन् ।  

‘एकैचोटि तीनवटा प्रश्न ? क्षमा गर, मैले तिमीलाई आलिंगन गरेर गल्ती गरेको भए । यो एकान्त स्थानमा तिमी डरायौ कि भन्ने सम्झेर आलिंगन गरेको हुँ,’ आफ्ना बाहु हटाउँदै हरिगुप्तले बोले । 

यो रातको समयमा, यो निर्जन ठाउँमा यसरी नाम लिएर बोलाउँदा आधा त्रास भयो, आधा आशंका !

– डराउने मान्छे किन एक्लै हिँडेको ?

त्यसैले त आगो बोकेर हिँडेकी थिएँ । साथमा आगो भएका बेला मलाई केही कुराको डर हुँदैन, आगो निभेपछि पो डर लाग्यो । घिउबाट दूध बनाउने मान्छेले अहिले यहाँ आगो बाले हुने !

– यो अँध्यारोमा कसरी चिन्यौ मलाई ? 

यी कान त्यति कमजोर छैनन्, अघि भर्खर सुनेको स्वर नठम्याओस् । 

हरिगुप्तले पटुकामा अड्याएको सानो आकारको अग्नियन्त्र निकालेर बाले, अनि भुइँको चिराक टिपेर सल्काए । 

– तिमी दरबारको मान्छे हौ ? युवराज वा राजकुमार हौ ?  

 होइन, खोपृङ्ग्रामको सामान्य पुरुष हुँ ।  

 – सामान्य पुरुषको साथमा अग्नियन्त्र ? तिम्रो केशबाट सुगन्ध आएको थियो । सुगन्धित सामग्रीको प्रयोगले स्नान गर्ने व्यक्ति सामान्य पुरुष कसरी हुन्छ ?

‘तिम्रो केशको सुगन्ध पनि मैले महसुस गरिसकेँ, के तिमी राजकुमारी हौ ?’ हरिगुप्त हाँस्दै बोल्छन्, ‘किन्तु, तिम्रो तनबाट घिउको गन्ध आइरहेको छ ।’

परबाट मानिसहरू होहल्ला गर्दै आउँछन्, लडाइँ भएर भागे जसरी । कुनै अप्रत्याशित घटना नहोस् भनी उनले कल्याणीलाई झाडीतिर लगे । 

केही सोच्नै नभ्याएकी कल्याणी गणपतिले डोर्‍याएतिर गएकी थिइन् । अँध्यारो भएकाले उनीहरू एकअर्कालाई समाएर हिँडेका थिए । केही पर पुगेपछि कल्याणीले कानमा साउती गरिन्, ‘तिमीले मलाई झाडीमा किन ल्यायौ ? मेरो ढाकर खै ?’ 

‘एकपटकमा एउटा प्रश्न गर्ने गर न । तिम्रो ढाकर मैले बोकेको छु । त्यहाँ लडाइँ–झगडा भएको भए हामी बित्थैँमा किन पर्ने ? त्यसैले यहाँ आएको । नडराऊ, म छु,’ हरिगुप्तले उनलाई आलिंगनमा लपेटे । 

झाडीमा केही घडी बिताउँदा उनीहरूले आफूलाई सम्हाल्न सकेका थिएनन्, दुवै अतृप्त हुँदै तृप्त हुन पुगेका थिए । 

०००

किसानकी छोरी कल्याणीले घरमा धेरै काम गर्नुपथ्र्यो । हरिगुप्तको प्रेममा परेदेखि उनको कामको लय मात्रै बिग्रिएन, बोली–व्यवहारमै परिवर्तन आउन थालेको थियो । एउटा काम गर्दा उनले अर्को काम बिर्सन्थिन् । 

एक साँझ, उनले दाल सम्झेर दूधलाई झानिदिइन् । मेथी, जिरा र जिम्मु राखेर घिउले झानेको दूध परिवारका सबैले खाए । त्यही साँझ उनलाई आमाले सोधिन्– कल्याणी ! तँ कसको प्रेममा परिस् ? भूत वा राक्षसको प्रेममा पर्लिस् र दुःख होला । मान्छेको प्रेममा पर्नू ।

‘भूत र राक्षेसको प्रेम ! त्यो कसरी सम्भव हुन्छ ?’ कल्याणीले सोधिन् । 

विभिन्न राजाका मान्छेहरू ग्रामग्राममा दिनमा भन्दा रातमा बढी सक्रिय हुन्छन् । उनीहरू अनेक षड्यन्त्र बुनिरहेका हुन्छन् । कहिलेकाहीँ उनीहरू आफ्नो स्वार्थसिद्धिका लागि मान्छे होइन राक्षस बनेर डुलिरहेका हुन्छन् । उनीहरूको वास्तविक रूप कुन हो भनी जान्न हामीजस्ता सोझा किसानले सक्दैनौँ । उनीहरू छल र बलको प्रयोग गर्छन् । त्यस्तैको प्रेममा पर्लिस् नि ! 

– बाले भन्नुभएको थियो– हातमा आगो भए कुनै भूतप्रेतले केही गर्न सक्दैन । किन्तु आमा ! हजुरले मेरो मनमा डर घुसाउँदै हुनुहुन्छ । 

आगो र पानी हाम्रा देउता हुन्, जीवन हुन् । यही आगो र पानी मिलेर त संसार चलेको छ । हेर, यसपालि हिउँदभरि पानी परेन । घामरूपी आगोले मात्रै धर्तीलाई डसिरहेको छ । भट्टारकले उज्जयिनीबाट झिकाएका ब्राह्मणहरू भन्दै छन् रे– पानी पार्नका लागि कोटीहोम महायज्ञ गर्नुपर्छ । कोटीहोमबाट निस्केको सुगन्धले वातावरण शुद्ध हुनेछ र महामारी फैलने छैन । 

– हजुरलाई यस्ता कुराको ज्ञान कसरी भयो ? 

यति जाबो कुरा घामपानी र समाजसँग जुद्धाजुद्धै जानिन्छ । 

– आमा ! साँच्चि, मान्छे र राक्षेसलाई कसरी छुट्ट्याउने ? 

उनीहरूको साथमा फलामको हतियार हुन्छ । उनीहरूसँग आगो बाल्ने यन्त्र हुन्छ । उनीहरूको भोटोमा सुन, चाँदी वा रत्न जडिएको हुन्छ । उनीहरू एक ठाउँमा उभिँदा चारैतिर हेर्न भ्याइसकेका हुन्छन् र उनीहरूलाई धेरै प्रश्न गरेको मन पर्दैन । 

कल्याणीलाई निश्चित भयो– लौ म त भूतको प्रेममा परेँछु । यद्यपि उनले आफू प्रेममा परेको पुरुषको कुरा आमालाई बताइनन् । उनको मनमा कुरा खेल्न थाले– त्यो भूत हो वा मान्छे हो, यसको सत्य त अमृतश्रीलाई थाहा हुन्थ्यो । ऊ मरी जस्तो मलाई लाग्दैन । अस्ति पशुपति प्रांगणदेखि साँढेले जसलाई पछ्यायो, ऊ अमृतश्री नै हुनुपर्छ । मान्छेहरू यही हल्ला गर्दैछन् । हुन त यो हल्लाको कुरा हो, यतिखेर म प्रेममा परेको साँचो हो नि ! मैले आफ्नो प्रेमीको सत्य पत्ता लगाउनैपर्छ । 

कल्याणीले पत्ता लगाइन्–

नवमीको दिन, गणपति गुणकामदेव अश्व सवार भई नागार्जुन वनमा सिकार खेल्न गएका थिए, फर्कंदा झमम्क साँझ पर्‍यो । उनले आफ्ना सिपाहीलाई भने, ‘आज म भेष बदलेर मेला हेर्छु । तिमीहरू पनि भेष बदलेरै बस्नू । भट्टारक र उनका सिपाहीहरूले यहाँ मेला हेरिरहेका छन् भन्ने कसैलाई सुइँकोसम्म नहोस् ।’

सिपाहीले गणपतिको आदेश अनुरूप गरे । सिकारका लागि लगेका शस्त्र–अस्त्र र अश्वलाई उनीहरूले मेला लाग्ने स्थलभन्दा निकै परबाट विष्णुमति पार गराई पूर्णवती ग्राम नजिकै ल्याइपुर्‍याए । 

गुणकामदेव सामान्य प्रजाको भेषमा मेलाको अवलोकन गर्दै थिए, उनलाई कस्ता वस्तु उत्पादन बढाउनुपर्नेछ भनी बुझ्नु थियो । उनको पछिपछि केही सिपाही पनि थिए, आ–आफ्नै सुरमा ।

मेलाको भीडका कारण गुणकामदेव आफ्ना सिपाहीका दृष्टिदेखि ओझेल पर्न पुगे । गुणकामदेव हराएपछि नै मेलामा हल्लाखल्ला भएको थियो ।

कल्याणीले अर्को हल्ला सुनिन्– 

सोही दिन फर्पिङका राजा पनि आफ्ना केही सिपाहीसहित भेष बदलेर मेला हेर्दै थिए । एउटी दूध बेच्ने केटीलाई उनले औधि मन पराउन पुगे, किन्तु त्यस केटी छिटै मेलाबाट घर फर्की र उनी आवेशमा आएर होहल्ला गरे । 

०००

भट्टारक गुणकामदेवले अद्भुत सपना देखे– वागमती र विष्णुमतिको दोभानतिर उनलाई देवीले दर्शन दिइन् । रूप, लावण्य र अस्त्रशस्त्रले सुज्जित देवी उनको सामु प्रकट भएर भनिन्, ‘यहीँ वरपर मेरो मन्दिर बनाउनू । यो क्षेत्र पवित्र छ र सामरिक महत्त्वको पनि छ ।’ 

अर्को हल्ला चल्यो– भट्टारक गुणकामदेव बिरामी परेका छन् । उनले गर्दै आएको देवीको साधनामा विधि बिग्रियो, त्यसैले प्रत्येक मध्यरातमा देवी प्रकट भई उनको दरबारको ढोका ढकढकाउन पुुग्छिन् । किन्तु, ढोका ढकढकाएको भट्टारकले मात्रै सुन्छन् । यस कुराले चिन्तित बन्न पुग्दा गुणकामदेव बिरामी भएका हुन् । उनलाई राजगुरुको सल्लाह छ– चैत्र शुक्ल नवरात्रिमा एक हजार ८ कन्याको पूजा गर्नुपर्छ, त्यस उपरान्त देवीले ढोका ढकढकाउन छाड्नेछिन् ।

क्रमशः...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप