आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

एलपी ग्यासको घाटा डिजेल र पेट्रोलबाट असुली

बिहीबार, १८ फागुन २०७९, १९ : ०२
बिहीबार, १८ फागुन २०७९

नेपाल आयल निगमले एलपी ग्यासको बिक्रीबाट हुने घाटा डिजेल÷पेट्रोल र हवाई इन्धनको बिक्रीबाट असुल गर्ने भएको छ । मार्च १ मा आएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार नेपाल आयल निगमलाई एलपी ग्यासको बिक्रीबाट चरम घाटा हुने छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा ९२ करोड ८२ लाख रुपैयाँ घाटा हुन्छ ।

तर, यो घाटा डिजेल र पेट्रोलको बिक्रीबाट असुल गर्ने योजना निगमको देखिन्छ । यससँगै, निगमलाई सबै प्रकारका पेट्रोलियम पदार्थको बिक्रीबाट करिब ४४ करोड ७ लाख रुपैयाँ नाफा हुनेछ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मार्च १ देखि १५ तारिखसम्म पेट्रोलियम बिक्रीबाट निगमलाई उक्त नाफा हुने भएको हो ।

निगमले आईओसीबाट प्रत्येक १५÷१५ दिनमा नयाँ मूल्यसूची प्राप्त गर्छ । यसअनुसार हिजो बुधबार प्राप्त नयाँ मूल्य सूचीमा एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । नयाँ मूल्य सूचीमा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९ रुपैयाँ बढेर आएको थियो । यसबाहेक डिजेल प्रतिलिटर ५.५ रुपैयाँ घटेर आएको छ भने पेट्रोल प्रतिलिटर १.२१ रुपैयाँ घटेर आएको छ ।

यस्तै, हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आउँदा मट्टितेलको मूल्य प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको निगमले जनाएको छ । यो मूल्य सूचीअनुसार निगमलाई १५ दिनको पेट्रोलियम पदार्थ बिक्रीमा एलपी ग्यासबाहेक अन्य सबै वस्तुमा नाफा हुनेछ ।

एलपी ग्यासमा ९३ करोड घाटा !

खाना पकाउने एलपी ग्यासमा नेपाल आयल निगमलाई प्रतिसिलिन्डर ६३५ रुपैयाँ घाटा हुने भएको छ । निगमलाई प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमलाई एलपी ग्यासको बिक्रीबाट ६३५ रुपैयाँ घाटा हुने भएको हो । नयाँ मूल्य सूचीअनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९ रुपैयाँ बढेर आएको छ । यससँगै एलपी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ ।

यसअघि एलपी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २ हजार ९६ रुपैयाँ थियो । यो मूल्यअनुसार निगमलाई प्रतिसिलिन्डर २९६ रुपैयाँ घाटा थियो । निगमले उपभोक्तालाई एलपी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँमा बिक्री गर्दै आइरहेको छ । यससँगै, निगमलाई एक महिनामा एलपी ग्यासको बिक्रीबाट १ अर्ब ८६ करोड रुपैयाँ घाटा हुने भएको छ । १५ दिनको अवधिमा मात्रै निगमलाई एलपी ग्यासको बिक्रीबाट ९२ करोड ८२ लाख घाटा हुने छ ।

कुन वस्तुमा कति नाफा ?

एलपी ग्यासबाहेक अन्य पेट्रोलियम पदार्थमा भने निगमले ठुलो नाफा आर्जन गर्नेछ । हाल निगमले आईओसीसँग डिजेल प्रतिलिटर १६० रुपैयाँमा (सबै लागत जोड्दा) खरिद गर्दै आएको छ । तर, बजारमा उपभोक्ताले प्रतिलिटर डिजेल १७५ रुपैयाँमा खरिद गर्दै आइरहेका छन् । यसअनुसार, एक लिटर डिजेल बेच्दा निगमले उपभोक्तासँग १४ रुपैयाँ ४४ पैसा नाफा आर्जन गर्छ । डिजेलको बिक्रीमार्फत १५ दिनमा निगमलाई ७९ करोड ४१ लाख रुपैयाँ नाफा हुने जनाइको छ ।

यस्तै, सबै खर्च जोड्दा समेत पेट्रोलको कूल खरिद लागत प्रतिलिटर १७० रुपैयाँ पर्न आउँछ । जबकि, पेट्रोलको बजार भाउ १७८ रुपैयाँ छ । यसअनुसार, एक लिटर पेट्रोलको बिक्रीमा निगमलाई ८ रुपैयाँ नाफा छ र १५ दिनमा पेट्रोल बिक्रीबाट निगमलाई १७ करोड ६५ लाख रुपैयाँ आर्जन हुन्छ । यस्तै, नयाँ मूल्य सूचीअनुसार निगमलाई हवाई इन्धनमा प्रतिलिटर ३६ रुपैयाँ २० पैसा र १५ दिनमा यसको बिक्रीमार्फत ६ करोड ५७ लाख रुपैयाँ आर्जन हुन्छ ।

प्रतिलिटर ४२ रुपैयाँ ५७ पैसा नाफा रहेको मट्टितेलको बिक्रीबाट भने निगमलाई १५ दिनमा जम्मा १ करोड ७१ लाख रुपैयाँ नाफा हुने तथ्याङ्क छ । निगमले पेट्रोलमा मट्टितेलको मिसावट रोक्ने लक्ष्यसहित सस्तो मूल्यमा पाइने मट्टितेलको बिक्री मूल्य पेट्रोल सरह गरेको छ । निगमको तथ्यांकअनुसार १५ दिनमा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको बिक्रीबाट सबैभन्दा धेरै नाफा हुनेछ ।

अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनका बिक्रीबाट निगमले प्रतिलिटर ७३ रुपैयाँ २६ पैसा नाफा गर्छ । यसअनुसार, १५ दिनमा निगमलाई अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन बिक्रीमार्फत ३१ करोड ५६ लाख रुपैयाँ नाफा हुन्छ ।nfaf

मूल्य नघट्ने

भारतबाट एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा मूल्य नघट्ने भएको छ । निगमले डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य नघट्ने जानकारी दिएको हो । निगमले विज्ञप्ति निकाल्दै मूल्य यथावत् राख्ने जानकारी दिएको हो । निगमले उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै मूल्य वृद्धि नगर्ने निर्णय गरेको निगमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप