बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

त्रिपाठीको पार्टी राष्ट्रपतिको चुनावसम्म चुपचाप

शुक्रबार, १९ फागुन २०७९, १३ : ४८
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । जनता प्रगतिशील पार्टी गठन गरेका हृदयेश त्रिपाठीले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीलाई सफलता दिलाउन सकेनन् । चुनावपछि उनले पार्टीका गतिविधिलाई खासै तीव्रता पनि दिएका छैनन् ।

रुपन्देहीमा एक पालिका मात्र जित्न सकेको जनता प्रगतिशील पार्टीले प्रतिनिधिसभा र प्रदेशसभामा एक सिट पनि जित्न सकेन । चुनावमा पार्टी पराजित भएपछि सो पार्टीका नेता तथा कार्यकर्ता निराश बनेका छन् । पार्टीको कुनै गतिविधि अगाडि बढेको छैन । यहाँसम्म कि, चुनावमा पार्टी किन पराजित भयो भन्ने समीक्षा पनि हुन सकेको छैन ।

महन्थ ठाकुर नेतृत्वको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूह गठन गरेका त्रिपाठीले एमालेसँग गठबन्धन गरेर २०७४ मा प्रतिनिधिसभामा दुई सिट र प्रदेशसभामा समेत केही सिट जिताउन सफल भएका थिए ।

तर जनता प्रगतिशील पार्टी बनाएर यसपटक एमालेसँगै गठबन्धन गरेर चुनाव लडे पनि पराजय भएको हो । अध्यक्ष त्रिपाठीले २०७८ मङ्सिर २८ मा जनता प्रगतिशील पार्टी घोषणा गरेका थिए । त्यसको एक वर्षपछि चुनावमा भाग लिएको सो पार्टीको नतिजा शून्य भयो ।

चुनावमा पार्टी किन कमजोर भयो भन्ने विषयमा समीक्षा हुन बाँकी रहेको पार्टीका उपाध्यक्ष डा.शिवजी यादवले बताए । चुनावपछि पार्टीका अध्यक्ष तथा महासचिव व्यस्त भएका कारण बैठक बस्न नसकेको उनको भनाइ छ ।

राष्ट्रपतिको चुनावपछि समीक्षात्मक बैठक बसेर पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउने उनले बताए । पार्टीलाई फरक ढंगबाट अगाडि बढाउन नसके आगामी राजनीतिक यात्रा सहज नहुने बताउँदै उपाध्यक्ष यादवले पार्टीमा निर्मम समीक्षा गरेर अगाडि बढ्ने जानकारी दिए ।

पार्टीका महासचिव ईश्वर दयाल मिश्रले पनि चुनावपछि नेताहरू आ–आफ्नो काममा व्यस्त भएकाले औपचारिक बैठक बस्न नसकेको बताए । ‘राष्ट्रपतिको चुनावपछि नयाँ ढंगले अगाडि बढ्छौँ,’ उनले भने । राष्ट्रपतिको चुनावसम्म आफूहरू ‘वेट एण्ड सी’को अवस्थामा रहने उनको भनाइ छ ।

नागरिकता, देशको आर्थिक अवस्था, कृषिलगायतको विषयलाई मूल मुद्दा बनाएर अलि फरक ढंगबाट आफूहरू अगाडि बढ्ने उनले बताए ।

चुनावमा पराजित भए पनि तत्काल अरू पार्टीसँग एकता हुने सम्भावना नरहेको उनको भनाइ छ । उनले जनता प्रगतिशील पार्टी आफै नयाँ ढंगबाट अगाडि बढ्ने र एकीकरणको कुनै सोच नरहेको प्रस्ट पारे ।

तर स्रोतका अनुसार जनता पार्टी प्रगतिशील पार्टी अन्य दलसँग मर्ज गर्ने अवस्थामा पुगेको बताइएको छ । सो पार्टीका एक नेताले भने, ‘यो पार्टी चल्न सक्दैन, पार्टी चलाउन त्यति सजिलो छैन । अध्यक्षज्यू नै अन्य कुनै पार्टीसँग मर्ज गर्ने मनस्थितिमा पुगिसक्नु भएको छ । तर पार्टीको बैठक नै बसेको छैन, बैठक बसेपछि मात्र कुनै कुराको टुङ्गो लाग्छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप