आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एनबीआई, सिबिफिन र पत्रकार महासंघको सहकार्यमा ४ लाखको फेलोसिप पुरस्कार घोषणा

आइतबार, २१ फागुन २०७९, १८ : ३६
आइतबार, २१ फागुन २०७९

काठमाडौं । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्था परिसंघ र नेपाल बिजनेस इन्टिस्च्युटले पत्रकारहरुबीच राष्ट्रव्यापी लेखनवृत्ति प्रतियोगिता चलाउनेगरी ‘नेशनलवाइज जर्नालिस्ट फेलोसिप प्रोगाम, २०२३’ को घोषणा गरिएको छ । 

वर्तमान अवस्थामा देखिएका आर्थिक समस्याहरुको समाधान र यसको रोडम्यापबारे राष्ट्रियस्तरमा बहस पैरवी गर्दै समाधानको निचोड निकाल्नका लागि उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको हो । 

‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ विषयमा २ हजार ५ सय शब्द नबढ्ने गरी देशभरका पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु र स्तम्भकारहरुले लेख पठाउन सक्ने नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले जानकारी दिए । 

उक्त लेखहरु मध्येबाट उत्कृष्ट १५ लेख (लेखक) लाई क्रमशः रु. १ लाख, रु. ७५ हजार, रु. ५० हजार, रु.२५ हजार र रु.१५ हजारका दरले सम्मान गरिने छ । साथै उत्कृष्ट १० लेखलाई प्रति लेखबापत रु. १० हजारका दरले नगद तथा प्रमाणपत्रमार्फत प्रोत्साहन रकम उपलब्ध गराइने आयोजकले जनाएका छन् । छनोटमा परेका लेखकहरुलाई प्रधानमन्त्रीको हातबाट प्रमाणपत्रका साथै नगद हस्तान्तरण गरिने समेत आयोजकले जनाएको छ । 

सहभागीले २०७९ साल चैत्र १३ गतेभित्र आफ्नो लेख नलाइनमार्फत पठाउन सक्नेछन् । 

महासंघका सचिव रोशन पुरीका अनुसार कुनै पनि सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले यो प्रतियोगितामा भाग लिन सक्ने छन् । सहभागी पत्रकारले आफू कार्यरत सञ्चार माध्यमको पुष्टि हुने पत्रकार परिचय पत्र, नियुक्ति पत्र वा मिडिया हाउसको पत्र (कुनै एक) सहित कतै पनि प्रकाशित नभएको खोजमूलक र तथ्यपरक लेख पठाउनुपर्नेछ ।

नेपाल सरकारसहितको सहभागितामा २०८० साल वैशाख पहिलो हप्ता काठमाडौँमा आयोजना हुने नेपाल बिजनेस समिटको पूर्वसन्ध्यामा जर्नालिष्ट फेलोसिप कार्यक्रम आयोजना गरिएको नेपाल बिजनेस इन्स्टिच्युटका अध्यक्ष विशाल गैरले जानकारी दिए । उनका अनुसार अर्थतन्त्रका प्रमुख चुनौती, अवसर र भावी रोडम्यापबारे पत्रकारहरुको सृजनशील क्षमताबाट प्राप्त लेखलाई प्रोत्साहन गरी राष्ट्रिय अर्थतन्त्रको सबलीकरण गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । 

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का महानिर्देशक डा. गोपाल तिवारीका अनुसार लेखको मौलिकता, तथ्यपरकता र लेखले औँल्याएका भावी मार्गदर्शनलाई छनौटको आधार बनाइने छ । अनलाइन माध्यमबाट प्राप्त लेखहरुलाई ५ सदस्यीय छनौट समितिले विभिन्न मापदण्डका आधारमा छनौट गर्नेछ र छनौट भएका उत्कृष्ट लेखहरुलाई नेपाल बिजनेस समिटको समुद्घाटन सत्रमा प्रधानमन्त्रीको हातबाट पुरस्कृत गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप