शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

अन्तर्घातीलाई किन कारबाही गरेन माओवादीले ?

सोमबार, २२ फागुन २०७९, २२ : ५१
सोमबार, २२ फागुन २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रको गत असार १३ गते बसेको स्थायी समिति बैठकले स्थानीय तह अन्तर्घात छानबिनका विषयमा टङ्क राईको नेतृत्वमा तीन सदस्यीय कमिटी बनायो । राईको नेतृत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहने गरी तीन सदस्यीय समितिले बन्यो ।  राई नेतृत्वको तीन सदस्यीय अन्तर्घात समितिले झन्डै २ महिना लगाएर स्थलगत रूपमा अध्ययन गरेर प्रतिवेदन तयार गर्‍यो ।

गत भदौ ६ गते अन्तर्घात प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाए पनि अहिलेसम्म सार्वजनिक भएको छैन । स्थानीय तह चुनावमा अन्तर्घात गर्ने र बागी उम्मेदवारी दिने कसैलाई कारबाही भएको छैन । अन्तर्घात छानबिन प्रतिवेदन सार्वजनिक नगरेर माओवादीले लुकाएर राखेको छ । चुनावमा अन्तर्घात गर्नेलाई कारबाही नगरिएकाले पार्टीमा अराजकता मच्चिएको नेताहरूले गुनासो गरेका छन् । 

यस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा अन्तर्घात गर्नेलाई छानबिन समिति बनाएर कारबाही गर्ने अध्यक्ष प्रचण्डले उद्घोष गरेका थिए । तर, अहिलेसम्म अन्तर्घात छानबिन गर्न समिति बाएको छैन । उता चुनावमा बागी उम्मेदवारी दिएर कारबाहीमा परेका र अन्तर्घात गरेको भन्दै कारबाहीमा परेका नेताको कारबाही समेत फिर्ता भएको छैन । पार्टीमा एकपछि अर्को गर्दै अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही नभएको भन्दै नेताहरूले आपत्ति जनाउने गरेका छन् ।  तर, पार्टी अनुशासन आयोगका अध्यक्ष टङ्क राईले स्थानीय तहसँगै प्रदेश र प्रतिनिधि सभामा अन्तर्घात गरेका नेताका विषयमा आगामी केन्द्रीय समितिमा छलफल हुने बताए ।

‘अहिले पार्टीको २ महिने अभियान जारी छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको वडा तहदेखि समीक्षा गरेर कसको भूमिका कस्तो रहयो सबै जम्मा गरिने छ । कसले पार्टीलाई सहयोग गर्‍यो कसले असहयोग गर्‍यो निर्णयको कसले अवज्ञा गर्‍यो कसले गरेन भन्ने विषयमा छानबिन हुनेछ’ राईले भने, ‘वडा तहदेखि तयार परेको प्रतिवेदन पालिकामा पठाइने छ । पालिकाबाट जिल्लामा हुँदै प्रदेशबाट  केन्द्रमा पठाइने छ ।’ 

पार्टीको केन्द्रीय समितिमा अन्तर्घातका विषयमा गम्भीर छलफल गरेर निर्णयमा पुगिने राईले बताए । यस्तै सोही केन्द्रीय समितिमा स्थानीय तह चुनावमा अन्तर्घात गरेका विषयमा समेत छलफल हुने बताए । ‘हामीले स्थानीय निर्वाचनको अन्तर्घातको विषयमा छानबिन गरेर प्रतिवेदन बुझायौँ । लगत्तै प्रदेश र सङ्घको निर्वाचन आइहालेको हुनाले कार्यान्वयनमा लग्न सकेनौँ’ राईले भने, ‘सङ्घ, प्रदेश र स्थानीय तह तीन वटै निर्वाचनको अन्तर्घातका विषयमा छानबिन गरेर कारबाही गर्ने छौँ । प्रवृत्तिगत गल्ती र कमजोरी सच्याउने गरी निर्णय लिने छौँ ।’ अन्तर्घातको प्रकृति हरेर नेताहरूलाई कारबाही गरिने राईले बताए । यदि गल्ती सच्याएर सच्चिने अवस्था भएमा कारबाही नगरिने नेताहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप