शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार छलीका भारतीय गुट्खा बजारभरि

सोमबार, २२ फागुन २०७९, १४ : ३०
सोमबार, २२ फागुन २०७९

बुटवल । भन्सार छलेर भित्र्याइएका भारतीय गुट्खा रुपन्देहीका बजारमा सर्वत्र भेटिन्छन् । जिल्लाका सहरदेखि टोलटोलमा रहेका पसलमा चोरी–तस्करी गरी ल्याइएको भारतीय गुट्खा खुलेआम बिक्री हुँदासमेत अनुगमन भएको पाइँदैन ।

भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरूमा भन्सार छलेर भित्र्याइएका भारतीय गुट्खा छ्यापछ्याप्ती पाइने स्थानीयवासी बताउँछन् ।

खासगरी रजनीगन्धा, तुलसी, काली नाम गरेका गुट्खा तथा सुर्तीजन्य पदार्थ भैरहवा तथा आसपासका क्षेत्रमा झोले व्यापारीमार्फत आउने गरेको स्थानीय व्यापारी बताउँछन् । रुपन्देही खुद्रा किराना व्यवसायी संघका अध्यक्ष मोहन बस्यालले सीमाक्षेत्रमा निगरानी नहुँदा त्यसरी भन्सार छलेर सामान ल्याउने गिरोह सक्रिय रहेको बताउँछन् ।

भन्सार छलेर ल्याइने सामान रोक्नका लागि भन्सार कार्यालयलाई समेत केही अगाडि रुपन्देही खुद्रा किराना व्यवसायी संघले ज्ञापनपत्र बुझाएको थियो । राजस्व चुहावट नियन्त्रणका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति हुन्छ । यसबाहेक स्थानीय तहपिच्छे अनुगमन समिति छन् । सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि राजस्व चुहावट नियन्त्रणका लागि काम गर्दै आएका छन् ।

मुख्य नाकाहरूमा भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालयले पनि निगरानी गर्दै आएको छ । केही महिना अगाडि रुपन्देहीको सिद्धार्थ नगरपालिकामा गुट्खाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने अभियान चलाउने घोषणा गरिएको थियो । त्यसले नेपाली उत्पादन तथा भन्सार तिरेर कारोबार गर्दै आएकालाई समेत असर पर्ने भए पनि अहिले अनुगमन नहुँदा सो अभियान नै निष्प्रभावी भएको छ ।

प्रक्रियागत रूपमा आयात गर्दा चर्को भन्सार महसुल, अन्तःशुल्क, स्वास्थ्य जोखिम लगायतका कर तिर्नुपर्ने भएकाले केही गलत मनसाय भएका व्यवसायीले चोरी–तस्करी गरेर भारतीय गुट्खा नेपाल भित्र्याइरहेको गुनासो जिल्ला प्रशासन कार्यालयमा समेत आएको छ ।

सुर्ती तथा गुट्खा बाह्य मुलुकबाट आयात गर्दा खरिद गरेको मूल्यको ८० प्रतिशत भन्सार महसुल, १३ प्रतिशत मूल्य अभिवृद्धि कर, प्रतिकिलो ८२१ रुपैयाँ अन्तःशुल्क र ६० रुपैयाँ स्वास्थ्य जोखिम कर लाग्ने भन्सार कार्यालयले जनाएको छ ।

अहिले रुपन्देही लगायत नेपाली बजारमा अवैध रुपमा कमला पसन्द, शुद्ध प्लस, रजनीगन्धा, विमल नामका भारतीय गुट्खा भित्रिने गरेको भैरहवाको बर्मेली टोलका व्यापारी रामकृष्ण गुप्ताले बताए ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत उपेन्द्र लामिछानेले वैध बाटोबाट सुर्तीजन्य पदार्थ आयात नभएको बताए । ‘भन्सारको तथ्याङ्कमा गुट्खा आयात भएको देखिँदैन’, उनले भने, ‘नेपाली बजारमा भेटिने र देखिने भारतीय गुट्खा अवैध बाटोबाट आएको हो । अनुगमन गरी त्यस्ता गुट्खा जफत गर्नुपर्छ ।’

उनले चोरी पैठारीले मुलुकको राजस्वमा गिरावट आउने भन्दै यस्ता अवैध काम नगर्न आग्रह गरे । प्रक्रिया पु¥याएर आयात गर्न सकिने तर चोरबाटो प्रयोग गरेर भित्र्याउनु गलत हो,’ उनले भने, ‘यसलाई अपराध मान्नुपर्छ ।’

सुर्तीजन्य पदार्थ सेवन गर्नु स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन । यसबाट सबै नागरिक टाढा रहनुपर्ने चिकित्सकहरु बताउँछन् । लुम्बिनी प्रदेश अस्पताल बुटवलका फिजिसियन डा. हरि पन्थीले सुर्तीजन्य पदार्थ नियमित खाँदा मुखको क्यान्सरसमेत हुन सक्ने बताए ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले भन्सार नतिरी भारतीय गुट्खा भित्रिएको गुनासो जिल्ला प्रशासन कार्यालयमा पनि आएको बताए । उनले सेड्युल अनुसार अनुगमनका लागि जाने सुनाए ।

राजस्व चुहावट नियन्त्रणका लागि प्रशासनले कसैसँग सम्झौता नगर्ने बताउँदै उनले सबै पसलको अनुगमन गरी अवैध भित्रिएका भारतीय गुट्खामात्रै नभई सबै किसिमले राजस्व छली गरेर भित्रिएका सामान बरामद गरिने प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप