मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचन : तीन विद्यार्थी संगठनबीच त्रिविसहित २७ क्याम्पसमा भयो भागबन्डा

शुक्रबार, २६ फागुन २०७९, २२ : ००
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी निकट विद्यार्थी संगठनबीच तालमेलको सहमति भएको छ । कांग्रेसको भ्रातृ संस्था नेविसंघ, माओवादीको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूबीच काठमाडौँ उपत्यकाका २२ आङ्गिक र ५ सामुदायिक क्याम्पसको भागबन्डा टुङ्गिएको छ ।

नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच बिहीबार राति भएको बैठकमा मोटामोटी सहमति भएको छलफलमा सहमति भएको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । बिहीबार राति काठमाडौँको शंखमुलस्थित एवान क्याफेमा नेविसंघ र अखिल क्रान्तिकारीबीच सहमति भएको छ ।

बैठकमा सहभागी २७ वटा क्याम्पस मध्ये नेविसंघको भागमा १५ वटा क्याम्पस परेको देखिन्छ । अखिल क्रान्तिकारीलाई ८ र अनेरास्ववियूलाई ४ वडा क्याम्पसको नेतृत्व भागमा परेको छ ।

नेविसंघले त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र क्याम्पस, शंखरदेव क्याम्पस, सरस्वती क्याम्पस, पब्लिकयुथ क्याम्पस, पद्यमकन्या क्याम्पस, पाटन क्याम्पस, पशुपति क्याम्पस, विश्वभाषा क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, ग्रामिण आदर्श क्याम्पस, जनप्रशासन क्याम्पस र चिकित्सा शास्त्र क्याम्पस महाराजगन्ज र नर्सिङ क्याम्पस महाराजगन्ज लिएको छ ।

अखिल क्रान्तिकारीले अस्कल क्याम्पस, नेपाल ल क्याम्पस, पुलचोक क्याम्पस, थापाथली क्याम्पस, काठमाडौँ इन्जिनियरिङ क्याम्पस, सानोथिमी क्याम्पस, एनसीसी क्याम्पस, एनआर क्याम्पस र ललितकला क्याम्पस लिने गरी सहमतिको तयारी छ । 

यद्यपि यसमा नेपाल ल क्याम्पस  र एनसीसीमा नेविसंघले पनि दाबी छाडेको छैन । अखिल क्रान्तिकारीले पाटन र सरस्वती क्याम्पसमा नेतृत्वको अडान लिइरहेको छ । चार वटा क्याम्पसको दोहोरो दाबी पनि आज दिउँसोसम्म टुङ्ग्याइसक्न छलफलमा सहभागी नेताहरू बताउँछन् ।

अनेरास्ववियूलाई आरआर क्याम्पस ताचाल क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पस र काठमाडौँ शिक्षा क्याम्पस दिने गरी सहमति भएको छ । सहमति अनुसार स्ववियु सभापतिको उम्मेदवार नेविसंघबाट भएको ठाउँमा अखिल क्रान्तिकारीले सचिव पाउने छ । उपत्यका बाहिरका क्याम्पसमा सम्बन्धित जिल्लाका पार्टी र विद्यार्थी सङ्गठन बसेर टुङ्ग्याउने काम भइरहेको बुझिएको छ । करिब ६ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनमा उपत्यकामा नेविसंघ, अखिल र अनेरास्ववियू मिलेर चुनाव लड्ने भएका छन् । 

यसअघि ०७३ चैत १५ मा स्ववियु निर्वाचन भएको थियो । ०७३ मा उपत्यकाका नौवटा आङ्गिक र बाहिरका १७ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन सम्पन्न भएको थियो । अहिले देशैभरि त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पस छन् । त्रिभुवन विश्वविद्यालयमा आगामी चैत ५, मध्यपश्चिम विश्वविद्यालयमा चैत ३ र सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते चुनाव स्ववियु चुनाव हुँदैछ । २७ फागुनमा उम्मेदवारी दिने मिति छ । सो दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारी गर्न सकिनेछ । ५ चैतका दिन बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्वाचन मिति तय भएको छ ।

विधानतः प्रत्येक वर्ष हुनुपर्ने र व्यवहारमा दुई दुई वर्षमा हुने गरेको स्ववियु निर्वाचन यस पटक तीन वर्ष पुग्दा पनि हुन सकेको छैन । त्रिविमा २०१८–१९ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो । सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकोमा २०३६ सालपछि प्रत्येक दुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको छ ।

पछिल्लो पटक ०६५ चैत ६ गते स्ववियु निर्वाचन भएको थियो । दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा पदाधिकारीसहित ११ जना, दुई सयभन्दा बढी एक हजारसम्म विद्यार्थी सङ्ख्या भएमा १५, एक हजारभन्दा बढी तीन हजारसम्म विद्यार्थी भएमा १९ र तीन हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा २१ जनाको स्ववियु कार्यसमिति हुने व्यवस्था छ ।

त्रिविले २०७३ सालदेखि मिश्रित प्रणालीमा निर्वाचन सुरु गरेको हो । जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ भने उपसभापति र उपसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुनेछन् । स्ववियुको कार्यसमितिमा उम्मेदवार हुन उम्मेदवारी दर्ताको दिन २८ वर्ष ननाघेको हुनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप