शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
निर्वाचन

विद्यार्थी संगठनबीच स्ववियु निर्वाचनमा कसरी हुँदैछ तालमेल

बुधबार, २४ फागुन २०७९, १८ : ४७
बुधबार, २४ फागुन २०७९

काठमाडौं । प्रमुख विद्यार्थी संगठनहरु स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम तयारीमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायतका पार्टी सम्बद्ध विद्यार्थी संगठनले स्ववियु निर्वाचनका गतिविधिलाई तीब्र पारेका हुन् ।

स्ववियु निर्वाचनका लागि नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायतका विद्यार्थी संगठनले आन्तरिक रणनीति बनाइरहेका छन् । ८ दलीय सत्ता गठबन्धन निकट नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायतका संगठनबीच चुनावी तालमेलको गृहकार्य जारी छ ।

केही ठाउँमा एमाले निकट अनेरास्ववियुसँग पनि नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियूले तालमेलको गृहकार्य गरिरहेको देखिन्छ । मिनी आम निर्वाचनका रुपमा हेरिने स्ववियु निर्वाचन ६ वर्षपछि हुन लागेकाले पनि विद्यार्थी संगठनले यसलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

यसअघि ०६५ चैत ६ र ०७३ चैत १५ मा स्ववियु निर्वाचन भएको थियो । ०७३ मा उपत्यकाका नौवटा आंगिक र बाहिरका १७ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन सम्पन्न भएको थियो । अहिले देशैभरि त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पस छन् । त्रिभुवन विश्वविद्यालयमा आगामी चैत ५, मध्यपश्चिम विश्वविद्यालयमा चैत ३ र सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते चुनाव स्ववियु चुनाव हुँदैछ । २७ फागुनमा उम्मेदवारी दिने मिति छ । सो दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारी गर्न सकिनेछ । ५ चैतका दिन बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्वाचन मिति तय भएको छ ।

विधानतः प्रत्येक वर्ष हुनुपर्ने र व्यवहारमा दुई दुई वर्षमा हुने गरेको स्ववियु निर्वाचन यस पटक तीन वर्ष पुग्दा पनि हुन सकेको छैन । त्रिविमा २०१८–१९ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो । सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकोमा २०३६ सालपछि प्रत्येक दुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको छ ।

पछिल्लो पटक ०६५ चैत ६ गते स्ववियु निर्वाचन भएको थियो । दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा पदाधिकारीसहित ११ जना, दुई सयभन्दा बढी एक हजारसम्म विद्यार्थी संख्या भएमा १५, एक हजारभन्दा बढी तीन हजारसम्म विद्यार्थी भएमा १९ र तीन हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा २१ जनाको स्ववियु कार्यसमिति हुने व्यवस्था छ ।

त्रिविले २०७३ सालदेखि मिश्रित प्रणालीमा निर्वाचन सुरु गरेको हो । जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ भने उपसभापति र उपसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुनेछन् । स्ववियुको कार्यसमितिमा उम्मेदवार हुन उम्मेदवारी दर्ताको दिन २८ वर्ष ननाघेको हुनुपर्नेछ ।

युवा मतदाताहरुको मनोविज्ञान नाप्ने स्ववियु चुनावलाई राजनीतिक दलले पनि महत्त्वका साथ लिएका छन् । स्ववियु चुनावका लागि कांग्रेसले सात वटा प्रदेशमा पार्टीका सह–महामन्त्री खटाएको छ । कांग्रेसले ६० वटा आंगिक क्याम्पसमा पार्टीका केन्द्रीय सदस्यलाई खटाएको छ ।

कांग्रेसले टिकट वितरणका लागि ७ सदस्यीय कमिटी बनाएको छ । एमाले र माओवादी केन्द्रका केन्द्रीय नेताहरुले पनि स्ववियु निर्वाचनलाई केन्द्रमा राखेर गतिविधि बढाएको अवस्था छ ।

तालमेलको तयारी

त्रिविको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका विद्यार्थी संगठनबीच तालमेलका लागि संवाद भइरहेको छ । नेविसंघका नेता दिनेश शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष क्षितिज सापकोटा र अनेरास्ववियूका उपाध्यक्ष हिरेन्द्र शाही सदस्य रहेको कार्यदलले तालमेलको गृहकार्य गरिरहेको छ ।

बिहीबार तीन विद्यार्थी संगठनको संयुक्त कार्यकर्ता भेला गर्ने तयारी छ । मंगलबार पार्टीका विद्यार्थी इन्चार्जसहित नेविसंघ र अखिल क्रान्तिकारीबीच छलफल भएको थियो ।

नेविसंघको स्ववियु चुनाव समन्वय संयोजक किशोरसिंह राठौर, अखिल क्रान्तिकारीका इन्चार्ज हितमान शाक्य, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहबीच छलफल भएको थियो । उक्त छलफलमा एमाले निकट अनेरास्ववियुसँग तालमेल नगर्न पार्टीको विद्यार्थी संगठन हेर्ने राठौर र शाक्यले अध्यक्ष शेर्पा र सिंहलाई निर्देशन दिएका थिए ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले तालमेलबारे अन्तिम निर्णय लिने अधिकार सम्बन्धित क्याम्पस र जिल्लालाई दिएको बताए । बुधबारबाट तीन सदस्यीय कार्यदलले उपत्यकाका २२ वटा क्याम्पसमा तालमेलका लागि काम थालेको छ ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष क्षितिज सापकोटाका अनुसार छलफलमा अखिल क्रान्तिकारी र अनेरास्ववियूले यसअघि आफूले जितेका क्याम्पसमा नेतृत्व लिने प्रस्ताव गरेको छ । ‘६५ साल होस् वा ७३ सालमा होस् । आफूले जितेको क्याम्पसमा अहिले आफैले नेतृत्व पाउनुपर्ने अखिल क्रान्तिकारी र अनेरास्ववियूको अडान छ,’ उनले भने ।

क्याम्पसमा संगठनको उपस्थिति अहिले उनीहरुको अवस्था कमजोर रहेको नेविसंघ नेता शाहीको तर्क छ । यसअघि त्रिवि, सरस्वती, पुलचोक, थापाथली लगायतका क्याम्पसमा अखिलले जितेको थियो ।

अहिले पनि त्रिवि, पब्लिक युथ, सरस्वती, अस्कल, सानोठिमी, भक्तपुर, थापाथली, पुल्चोक लगायतका क्याम्पसमा अखिल क्रान्तिकारीको सशक्त दाबी छ । यस्तै अनेरास्ववियूले विगतमा अनेरास्ववियुले जितेका क्याम्पसमा दाबी गरेको छ । एमाले निकट तत्कालीन अनेरास्ववियुले जितेको क्याम्पस अहिले अनेरास्ववियूलाई सबै ठाउँमा छाड्ने नसकिने नेविसंघको भनाइ छ ।

नेविसंघका नेता दिनेश शाहीले भने, ‘अखिल क्रान्तिकारी र अनेरास्ववियूको विगतको स्टे«न्थ कायमै छैन । विगतमा उनीहरुले जितेका कांग्रेस सबै क्याम्पस अहिले छाड्न सक्ने परिस्थिति छैन ।’

ग्राउण्डको रियालिटीमा रहेर नेविसंघ अखिल क्रान्तिकारी र अनेरास्ववियूसँग सहकार्य गर्न तयार रहेको तर ग्राउण्डको रियालिटीभन्दा बाहिर गएर सहकार्य गर्न गाह्रो हुने उनले बताए ।

अनेरास्ववियूले आरआर क्याम्पस, सानोठिमी क्याम्पस, अस्कल क्याम्पस, एनसीसी, सरस्वती क्याम्पस लगायतमा दाबी गरेको छ । यसका साथै सबै क्याम्पसका पदाधिकारीमा व्यवस्थापन हुनुपर्ने भन्ने अनेरास्ववियूको माग छ ।

नेविसंघ भने अखिल र अनेरास्ववियूले अस्वाभाविक माग राखेको बताउँछ । अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायतका विद्यार्थी संगठनलाई समग्रमा ४० प्रतिशत छाडेर ६० प्रतिशत क्याम्पसको नेतृत्वमा नेविसंघको दाबी छ ।

नेविसंघले सम्बन्धन प्राप्त उपत्यका बाहिरका क्याम्पसबारे निर्णय लिन पार्टी र नेविसंघको जिल्ला कार्यसमितिलाई अधिकार दिएको छ । देशभरका आंशिक र काठमाडौं उपत्यकाका सम्बन्धन प्राप्तको निर्णय केन्द्रीय तहबाट हुने छ । स्थानीय तहमा आफू अनुकुल तालमेलको तयारी देखिन्छ । रोल्पाको जल्जला र रुकुमको मुसीकोटमा अनेरास्ववियु र नेविसंघबीच तालमेल भएको छ ।

नेविसंघ र अनेरास्ववियुको तालमेलमा अखिल छैटौं पनि सहभागी छ । दैलेखमा नेविसंघ र अनेरास्ववियूबीच तालमेल भएको छ । यस्तै मध्यपश्चिम विश्वविद्यालयमा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूबिच तालमेल नजिक पुगेका छन् ।

चुनावी तालमेल कुन मोडलमा टुंगो लगाउने भन्ने विषयमा फाइनल नभएपछि हस्ताक्षर हुन सकेको छैन । अनेरास्ववियुका अध्यक्ष समिक बडालले केन्द्रीय तहबाट कुनै संगठनसँग तालमेल गर्न छलफल नभएको बताए । संगठनले तलबाट तालेमल गरेर जाने भनेर आएमा सहमति दिने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप