बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

अख्तियारको झमेलामा परेकी ममता उपराष्ट्रपतिको उम्मेदवार

लोकमानले यसरी जोगाएका थिए झालाई
शनिबार, २७ फागुन २०७९, १६ : ५८
शनिबार, २७ फागुन २०७९

काठमाडौँ । जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी ममता झामाथि ८ वर्षअघि अख्तियार दुरुपयोग आयोगले मुद्दा लगाएको थियो । साझा प्रकाशनको अध्यक्ष भएको बेला झाविरुद्ध अख्तियारले २०७१ जेठ ४ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनलाई ३ लाख ६६ हजार जरिवाना र सजायको माग गरिएको थियो । तर सो मुद्दामा पछि सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण्ड श्रेष्ठ र न्यायाधीश ओम प्रकाश श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको थियो । 

उनले साझामा माधव प्रसाद थपलियालाई बदनियतपूर्ण तरिकाले अस्थायी कर्मचारीको रूपमा नियुक्ति दिएको आरोप थियो । न्यूनतम शैक्षिक योग्यता बिना नै थपलियालाई नियुक्त गरेर साझामा तलब भत्ता लिनेदिने कार्य गरेकोमा अख्तियारले दुवैलाई कसुरदार ठहराएको थियो । 

यस विषयमा सञ्चारकर्मीले प्रश्न गर्दा झाले अदालतमा कुनै मुद्दा नभएको भन्ने छोटो प्रतिक्रिया दिइन् भने जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले यो विषयमा पछि कुरा गर्ने भन्दै संघीय संसद् भवनबाट बाहिरिएका थिए ।

यस विषयमा साझा प्रकाशनका एक कर्मचारी भन्छन्, ‘उहाँ (ममता झा)ले मुद्दा जित्नु भएको कि हार्नुभएको हो, त्यसको जानकारी प्रकाशनलाई छैन । उहाँले विशेष अदालतबाट सफाइ पाइसक्नुभएको भनेर हामीले सुनेका हौँ । तर साझा प्रकाशनलाई त्यसको बारेमा कुनै जानकारी आएको छैन ।’

झाले त्यहाँ कर्मचारी भर्नालगायतका विषयमा अनियमितता गरेको कुरा बाहिर आएको थियो । अख्तियारले छानबिन गर्ने भन्दै साझा प्रकाशनबाट फाइलहरू उठाएर पनि लगेको थियो । पछि ती सबै फाइल त्यहीँबाट गायब भएको साझा प्रकाशनका निमित्त महाप्रबन्धक होम भट्टराईले आरोप लगाए । 

‘अनुसन्धानका लागि यहाँबाट लगेका निकै महत्त्वपूर्ण कागजातहरू पनि फिर्ता भएको छैन । ती सबै कागजात गायब बनाइयो । त्यसपछि ममता झाको बारेमा थप अनुसन्धान नै भएन,’ भट्टराईले भने । साझा प्रकाशनमा भएको निर्माण कार्य, खरिद, बिक्रीलगायत अन्य विषयमा पनि अनियमितता गरेको आरोप उनीमाथि थियो तर फाइन नै हराएपछि कुनै कुरा अगाडि बढेन । 

साझा प्रकाशन परिसरभित्र चार करोड ६२ लाखमा भवन निर्माण गर्ने ठेक्का लागेको थियो । तर अहिलेसम्म सात करोडभन्दा बढी रकम खर्च भइसकेको छ अझै त्यो भवन जस्ताको त्यस्तै छ । झाले गरेको अनियमितताको नमुना हेर्न साझा प्रकाशन परिसरमा आउन निमित्त महाप्रबन्धक भट्टराईले आग्रह गरे । त्यति बेला झाले त्यही भवन निर्माणका रकमबाट ८० लाख रुपैयाँको गाडी किनेको आरोप लागेको थियो थिइन् । भवन निर्माणको विषयमा अख्तियारले छानबिन गर्न थालेपछि ममता झाले साझा प्रकाशनबाट अध्यक्ष पदबाट राजीनामा दिएकी थिइन् । 

झाले गरेको अनियमितताको बारेमा छानबिन गर्न अख्तियारले सहसचिव गीता तिमिल्सिनालाई अनुसन्धान अधिकृत नियुक्त गरेको थियो । तर अनुसन्धान चलिरहेकै बेला गीतालाई त्यहाँबाट सरुवा गरेर अन्यत्रै पठाइयो । ‘झालाई बचाउने व्यक्ति लोकमान कार्की नै हुन् । त्यति बेला उनी आयोगका प्रमुख आयुक्त थिए,’ अख्तियार स्रोतले रातोपाटीसँग भन्यो ।

पञ्चायतकालमा तत्कालिन राजा वीरेन्द्रको शासनमा ममता झाका बुवा जगदीश झा राज्यमन्त्री भएका थिए । जगदीश झा सधैँ राजतन्त्रकै पक्षमा थिए । पछि ममता झा पनि राजतन्त्रकै वकालत गरिरहेकी थिइन् । जब देशमा माओवादीले जनयुद्ध सुरु गर्‍यो । त्यसपछि ममता झा नेपाल सद्भावना पार्टीमा आबद्ध भएकी थिइन् । उनी नेपाल सद्भावना पार्टीको महिला मञ्चको अध्यक्ष भएको केही दिनमै उनलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेको थियो । 

तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कू’ गरे पछि झा पुनः राजतन्त्रको वकालत गर्न थालिन् । ज्ञानेन्द्र कदमको समर्थन गर्दै उनले विभिन्न ठाउँमा कार्यक्रमहरू पनि गरेकी थिइन् । उनी त्यति बेला जिल्ला विकास समिति सप्तरीको सभापति बन्ने इच्छा गरेकी थिइन् । तर त्यो ठाउँमा मुक्ति मण्डल सभापति भएका थिए । 

शाहको शासन अन्त्य भएपछि उनी राजनीतिबाट निष्क्रिय भएर सप्तरीमा आफ्नो व्यावसायमा लागेकी थिइन् । २०७९ को स्थानीय चुनावअघि उनी जनमत पार्टीमा प्रवेश गरेकी थिइन् । जनमत पार्टीले उनलाई सप्तरी जिल्लाको इन्चार्ज बनाएको थियो । स्थानीय चुनावमा उनले राजविराज नगरपालिकाका लागि मेयरमा उम्मेदवारी दिएकी थिइन् । तर उनले मेयरमा सातौँ स्थानमा सीमित भएकी थिइन् । अहिले उनै झालाई जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ । 

अध्यावधिक गरिएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप