शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
उपराष्ट्रपति निर्वाचन

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा, भोलि मतदान

बिहीबार, ०२ चैत २०७९, १२ : ३८
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको छ । शुक्रबार नयाँ बानेश्वरको संसद भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयका प्रमुख महेश शर्मा पौड्यालले चुनावका लागि मतदान केन्द्र निर्माण, मतपत्रको तयारी लगायत सम्पूर्ण तयारी पूरा भएको रातोपाटीलाई जानकारी दिए । 

मतदानका लागि संसद भवनको ल्होत्से हलमा २ वटा मतपेटिकाको व्यवस्था गरिएको छ । मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म गरिने र ४ बजेदेखि मतगणना सूर गरेर साँझ ७ बजेसम्म मतपरिणाम आइसक्ने उनको भनाई छ ।  निर्वाचनमा ४ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । सत्ता गठबन्धन दलबाट ३ जनाको उम्मेदवारी परेको छ भने प्रतिपक्षी दलबाट एकजनाको उम्मेदवारी परेको छ । 

सत्ता गठबन्धनमा सहभागी समेत रहेका जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी दल बाहेकको समर्थनमा रामसहायप्रसाद यादव, प्रमिला कुमारी यादवको उम्मेदवारी दर्ता छ । यद्यपि प्रमिला कुमारीले विज्ञप्तिमार्फत आफूले उम्मेदवारी फिर्ता लिएको बताउँदै रामसहायलाई भोट मागेकी छिन् । 

यस्तै सत्ता गठबन्धनमा रहेको जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेकी छिन् । उपराष्ट्रपति निर्वाचनमा झा को पक्षमा नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीले कार्यगत सहकार्य गर्ने जनाएका छन् । 
यस्तै नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य चुनावी प्रतिस्पर्धामा रहेकी छिन् ।  निर्वाचनमा एउटा मतदान केन्द्रमा ७ जनासम्म कर्मचारी खटिनेछन् । सो निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभा तर्फका ५५० सांसद मतदाताका रुपमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप