एउटा यस्तो देश जसमाथि सबैभन्दा कम ऋण छ र सरकारले खाँचोमा परेकालाई दिन्छ जग्गा, तयारी घर
कोरोना महामारी होस् वा युक्रेन युद्ध, एसियाको यो सानो मुलुकको अर्थव्यवस्थामा यसको कुनै असर परेन ।
विश्वका धेरै देशहरूको ऋण अत्यधिक रूपमा बढेको छ तर ब्रुनाईमा सबै कुरा नियन्त्रणमा छ ।
कोरोना महामारीसँग जुध्नका लागि थुप्रै देशले आफ्नो खर्च बढाउनुपरेको थियो किनभने अचानक आएको समस्याका लागि कुनै बजेट थिएन । कोभिड–१९ ले विश्व अर्थतन्त्रमा निकै गम्भीर असर पार्यो ।
एक हिसाबले विश्वभर मुद्रास्फीति बढ्नुको पछाडि यो महामारीमा भएको खर्च नै थियो ।
तर यी सबै चुनौतीहरूबाट टाढा ब्रुनाईमा कुनै समस्या छैन । कुल गार्हस्थ्य उत्पादनको तुलनामा यो देशमा १.९ प्रतिशत मात्र ऋण छ । यो विश्वकै सबैभन्दा कम ऋण हो ।
तर यसको मतलब ब्रुनाईको अर्थतन्त्र स्वस्थ छ भन्ने होइन ।
धेरै विकासोन्मुख देशहरूको जिडिपीको तुलनामा ऋण निकै कम छ किनभने यी देशमा धन र ऋण, दुवै कम हुन्छन् ।
यद्यपि, ब्रुनाईको अवस्था यस्तो छैन ।
पेट्रो स्टेट र अपार सम्पत्ति
ब्रुनाईका जनताको जीवनस्तर विश्वका समृद्ध देशहरूसँग तुलना गर्न सकिन्छ । यसको कारण यहाँ तेल र ग्याँसको भण्डार छ ।
लन्डन स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडीजका प्रोफेसर उलरिच वाल्ज भन्छन्, ‘ब्रुनाई एक पेट्रो राज्य हो । कच्चा तेल र ग्यास उत्पादनले देशको कुल गार्हस्थ्य उत्पादनको ९० प्रतिशत हिस्सा ओगटेको छ ।’
एक अनुमान अनुसार, सन् २०१७ को अन्त्यसम्म, ब्रुनाईमा एक अरब ब्यारेल भन्दा बढी तेल थियो । त्यसै गरी त्यहाँ २ दशमलव ६ ट्रिलियन घन मिटर ग्यास रहेको थियो ।
दक्षिण पूर्वी एसियाको ब्रुनाई टापुको उत्तरी तटमा अवस्थित यस देशले मलेसिया र इन्डोनेसियासँग आफ्नो सिमाना साझा गर्दछ ।
सुल्तान हसनल भोल्किया र उनको शाही परिवारसँग अपार सम्पत्ति छ ।
कल्याणकारी राज्य जसले नागरिकबाट आयकर लिँदैन
ब्रुनाईका नागरिकहरूले कुनै आयकर तिर्दैनन् । सरकारले निःशुल्क शिक्षा र चिकित्सा सेवा पनि निःशुल्क उपलब्ध गराएको छ ।
देशको राजधानी बन्दरसेरी बगावन घुम्न आएकाहरुले यसलाई सुरक्षित, सफा र शान्त ठाउँ भएको बताउँछन् ।
यसबाहेक देशका शासक अर्थात् सुल्तान आफ्नो प्रजामाझ निकै लोकप्रिय छन् । उनले समय समयमा खाँचोमा परेकाहरूलाई जग्गा र तयारी घरहरू पनि दिइरहन्छन् ।
यो जनसङ्ख्याको हिसाबले सानो देश हो । यहाँ करिब पाँच लाख मानिस बस्छन् । र यो जनसङ्ख्या पनि देशको सानो क्षेत्रमा बसोबास छ ।
ब्रुनाईमा ऋण घट्नुको कारण पेट्रोकेमिकल उत्पादनको बिक्रीबाट प्राप्त रकम हो ।
तेल र ग्यासबाट हुने आम्दानीका कारण देशमा ठुलो नगद सञ्चिति छ । यही पैसाबाट देशका शासकहरूले सानातिना घाटाको भरपाई गरिरहेका छन् । उनीहरुले ऋण लिनु नै पर्दैन ।
वास्तवमा, ब्रुनाईको अर्थतन्त्र एकदम सानो छ र सम्पूर्ण क्षेत्रमा यसको कुनै प्रभाव छैन । यो देशको महत्त्व यसको तेल र ग्यासको भण्डारका कारण मात्रै हो ।
प्राध्यापक वाल्ज भन्छन्, ‘तेल र ग्यासको निर्यातका कारण देशको चालु खाता बचतमा छ । यसको मतलब यो देशले आफूबाट ऋण लिएको भन्दा अरू देशलाई बढी ऋण दिएको छ ।’
ब्रुनाई सायद विश्वमा नगण्य विदेशी ऋण भएको एक मात्र देश हो । पेट्रोलियम पदार्थबाट हुने आम्दानीले यहाँका बैङ्क तथा सरकारी खजाना भरिएका छन् ।
यही कारणले गर्दा सारा विश्व आर्थिक मन्दीको सामना गरिरहेको बेला ब्रुनाई शान्त छ ।
बाँकी विश्वले आफ्नो व्यवसाय चलाउन विदेशबाट ऋण लिनुपर्छ । महामारीका कारण धेरै देशको राजस्व घटेको र खर्च बढेकाले सरकारबाहेक निजी ऋणदाताबाट पनि यो ऋण लिनुपर्छ ।
अर्थतन्त्रको गुणस्तर कस्तो छ ?
ब्रुनाईको अर्थतन्त्रको पक्षमा एउटा कुरा यो हो कि उसले जतिसुकै थोरै ऋण तिर्नु पर्छ, त्यो विदेशी मुद्रामा तिर्नु पर्दैन ।
अर्को राम्रो कुरा यो हो कि सरकारले सबै नाफा आफ्नै देशमा राख्छ ।
मुडिजका अर्थशास्त्री एरिक चियाङ भन्छन्, ‘सरकारको लागि प्रभावकारी वित्तीय व्यवस्थापन प्राथमिकतामा पर्छ । यसले देश र यसका नागरिकहरूमा पर्ने आर्थिक भारलाई निकै कम गर्छ ।’
‘ब्रुनाईमा चालू खाता प्रायः बचतमा रहन्छ। यसले विदेशी ऋणको वित्त पोषण गर्न सजिलो बनाउँछ । देशमा ब्याज दर पनि कम छ । त्यसैले देशले कल्याणकारी कामहरूमा पैसा कटौती गर्नुपर्दैन ।’
तर ब्रुनाईमा सबै कुरा मात्रै छ भन्ने होइन ।
देशले आफ्नो अर्थतन्त्रको पेट्रो उत्पादनमा निर्भरता अन्त्य गर्नुपर्नेछ किनभने सम्पूर्ण विश्व कार्बन उत्सर्जन घटाउने लक्ष्यमा काम गरिरहेको छ र समयसँगै पेट्रो उत्पादनको खपत घट्नेछ ।
त्यसैले सिङ्गो अर्थतन्त्र एउटै उत्पादनमा भर पर्नु खतरनाक हुन्छ ।
आइसीइएक्सका विदेशी व्यापार विशेषज्ञ भन्छन्, ‘परिवर्तित समयमा ग्यास र तेलमा धेरै निर्भरता समस्या हुन सक्छ । किनभने विश्वको ऊर्जा मोडेल सङ्क्रमणको चरणमा छ ।’
कडा इस्लामी कानुन
ब्रुनाई सन् १८८८ मा बेलायती संरक्षक बनेको थियो । सन् १९२९ मा यहाँ तेलको भण्डार फेला परेको थियो र ड्रिलिङको काम सुरु भएको थियो ।
सन् १९६२ मा देशमा विद्रोह भयो जसमा राजतन्त्रको विरोध गर्नेहरूले हतियार उठाए । यस विद्रोहलाई मत्थर पारेपछि देशका सुल्तानले मलेसियासँग विलय गर्न अस्वीकार गरे ।
यसै वर्षदेखि ब्रुनाईले आफूलाई छुट्टै राष्ट्र घोषणा गरेको छ । सन् १९८४ मा ब्रिटिस गए र यो एक स्वतन्त्र देश बन्यो ।
ब्रुनाईका सुल्तान हसनल बोल्कियाह हुन् । उनको राज्याभिषेक अगस्त १९६८ मा भएको थियो । उनका पिता हाजी उमर अली सैफुद्दीनले राजगद्दी त्यागेर उनलाई राजगद्दी सुम्पेका थिए ।
सन् १९८४ मा स्वतन्त्र भएपछि सुल्तान हसनलले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरे र देशमा ‘मलय मुस्लिम राजतन्त्र’ को विचारधारा अपनाए । यस नयाँ प्रणालीमा, सुल्तानलाई इस्लामको संरक्षकको रूपमा प्रस्तुत गरियो ।
सन् २०१४ मा, ब्रुनाई पूर्वी एसियामा सरिया कानुन लागू गर्ने पहिलो देश बन्यो ।
तर २०१९ मा उनले समलिङ्गीहरूलाई ढुङ्गाले हानेर मृत्युदण्ड दिने कानुन खारेज गरे। यसका लागि उनलाई हलिउड अभिनेता जर्ज क्लुनी जस्ता ठुला व्यक्तिहरूले दबाब दिएका थिए ।

बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण