शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पानी पिउने बोतलमा टोइलेटको सिटभन्दा ४०,००० बढी ब्याक्टेरिया हुने अनुसन्धानको खुलासा

बिहीबार, ०२ चैत २०७९, १५ : ३३
बिहीबार, ०२ चैत २०७९

गर्मी आइरहेको छ । जता जाँदा पनि पानीको बोतल लिएर हिँड्ने दिन नजिकिँदै छ । मानिसहरू पुनः प्रयोग गर्न मिल्ने बोतललाई सुरक्षित ठान्छन्, त्यसैले त्यसमा जुठो हालेर पानी पिउँछन् र त्यसलाई दैनिक सफा पनि गर्दैनन् ।  

यही नै बोतल भित्र ब्याक्टेरिया बढ्ने कारण हुने गर्छ । यसका कारण हामी बिरामी हुन्छौँ । अमेरिकामा भएको वाटरफिल्टरगुरु डट कमले गरेको अनुसन्धानले बारम्बार प्रयोग हुने पानीको बोतलमा ट्वाइलेट सिटभन्दा ४०,००० गुणा बढी ब्याक्टेरिया हुनसक्ने बताएको छ ।

जसले आफ्नो पानीको बोतललाई एक–दुई पटक पानीले खकालेर पानी भर्छन् र बोतल सफा भएको ठान्छन् उनीहरुले यो खबर पढ्नै पर्छ । 

यहाँ माइक्रोबायोलोजिस्ट डा. साइमन क्लार्क र भोपालका प्राथमिक उपचार केन्द्रका इन्चार्ज डा. बालकृष्णसँगको कुराकानी यहाँ साझा गरिएको छ ।

सबैभन्दा पहिले, पानीको बोतलमा भएको अनुसन्धानले के भन्छ, त्यसबारे जानकारी लिनुहोस् ।  

यो बुँदाबाट बुझौँ...

– अमेरिकाका अन्वेषकहरूको टोलीले पुनः प्रयोग गर्न मिल्ने पानीका बोतलहरूको सरसफाइको अनुसन्धान गरेको थियो ।

– उनले बोतलका सबै भागहरू अर्थात् यसको माथिल्लो भाग, ढक्कन, मुख सबैको तीन पटक परीक्षण गरे ।

– अनुसन्धानका अनुसार बोतलमा ग्राम–नेगेटिभ ब्याक्टेरिया र ब्यासिलस ब्याक्टेरिया गरी दुई प्रकारका ब्याक्टेरियाको उपस्थिति पाइएको थियो ।

– ग्राम–नेगेटिभ ब्याक्टेरिया विभिन्न प्रकारका सङ्क्रमणहरू निम्त्याउन जिम्मेवार छन् ।

– ब्यासिलस ब्याक्टेरियाले ग्यास्ट्रोइन्टेस्टाइनल समस्या निम्त्याउन सक्छ ।

– अनुसन्धानमा बोतललाई भान्साका अन्य सामानसँग तुलना गरिएको छ, जसमा भाँडा माझ्ने सिङ्कको तुलनामा बोतलमा दोब्बर कीटाणु रहेको पाइएको छ ।

प्रश्न: यो अनुसन्धान अनुसार के पानीको बोतल दैनिक सफा गर्नुपर्छ ? वा गर्मी मौसममा मात्र यो सफा गर्नु पर्छ ?  

उत्तर : जसरी तपाईँ आफ्नो घरमा अन्य भाँडाकुँडाहरू प्रयोग गर्नुहुन्छ, त्यसै गरी बोतलको प्रयोग गर्नुहोस् ।

गर्मीमा ब्याक्टेरिया बढ्ने सम्भावना बढी हुन्छ । तर यसको मतलब गर्मीमा मात्र होइन, कुनै पनि मौसममा पानीको बोतल प्रयोग गर्दा त्यसलाई सफा गर्नुपर्छ ।

सम्भव भएमा कहिलेकाहीँ केही समय घाममा सुकाउन राख्नुहोस्, जसले गर्दा यसबाट आउने दुर्गन्ध जान्छ र त्यहाँ रहेको ब्याक्टेरिया नष्ट हुन्छ ।

अमेरिकामा भएको अनुसन्धानले पनि पानीको बोतललाई दिनमा कम्तीमा एक पटक साबुन, तातो पानी वा हप्तामा एक पटक सेनिटाइज गर्नुपर्ने सुझाव दिएको छ ।

स्टिल, प्लास्टिक, मेटल वा काँच, पानीको बोतललाई यसरी सफा गर्नुहोस्

कागती, नुन र बरफ

काँच र प्लास्टिकको बोतललाई यसले सफा गर्न सकिन्छ । 

तरिका : एउटा बोतलमा आधा पानी भर्नुहोस् । त्यसमा बरफको टुक्राका साथै कागतीका तीन वा चार टुक्रा हाल्नुहोस् । यसमा थोरै नुन हालेर राम्रोसँग हल्लाउनुहोस् । त्यसपछि बोतल सफा गर्ने ब्रसलाई राम्रोसँग घुमाएर सफा पानीले धुनुहोस् । यसो गर्दा बोतलभित्र हुर्कने ब्याक्टेरिया नष्ट हुनेछ ।

भिनेगर र बेकिङ सोडा

काँच वा प्लास्टिकको बोतल सफा गर्नका लागि यसलाई प्रयोग गर्न सकिन्छ । 

तरिका: बोतलमा दुई चम्चा भिनेगर र एक चम्चा बेकिङ सोडा मिसाउनुहोस् । अब बिर्को लगाएर यसलाई राम्रोसँग हल्लाउनुहोस् । थोरै बेरका लागि यो मिश्रणलाई बोतल भित्र नै रहन दिनुहोस् । त्यसपछि बोतल र बिर्कोलाई सफा पानीले राम्रोसँग धुनुहोस् । आवश्यक पर्दा ब्रस प्रयोग गर्न सकिनेछ ।

भिनेगर र तातो पानी

स्टिलको बोतललाई यो ट्रिकले सफा गर्न सकिन्छ ।

तरिका : भिनेगर र तातो पानीलाई बोतलमा हाल्नुहोस् । यसलाई कम्तीमा पाँच मिनेटसम्म बोतलमा नै राख्नुहोस् । त्यसपछि बोतललाई राम्रोसँग हल्लाउनुहोस् । त्यसपछि सफा पानीले धुनुहोस् र सकाउनु होस् । 

बेकिङ सोडा र ब्लिच

बोतलबाट दुर्गन्ध हटाउनका लागि यो उपाय उत्कृष्ट हो ।

तरिका : पानीको बोतलमा एक चम्चा ब्लिच र एक चम्चा बेकिङ सोडा हाल्नुहोस् । अब बोतललाई पानीले भर्नुहोस् । बोतललाई रात भरी यसरी नै राख्नुहोस् । भोलिपल्ट बोतलको पानी फाल्नुहोस् र पानीले राम्रोसँग धुनुहोस् । 

लिक्विड सोप र तातो पानी

भ्याक्युम फ्लास्क (थर्मस) मा चिया–कफीको दाग हटाउने ट्रिक ।

तरिका : थर्मस भित्र तातो पानीका साथै भाँडा माझ्ने लिक्विड सोप हाल्नुहोस् । हल्लाएर यसलाई २–५ मिनेट राख्नुहोस् । ब्रस चारैतिर राम्रोसँग घुमाउनुहोस् त्यसपछि त्यसलाई राम्रोसँग धोएर सुकाउनुहोस् । चिया कफीको दाग कडा छ भने पानीको साटो भिनेगर प्रयोग गर्नुहोस् । 

प्रश्न : ठिक छ, त्यसो भए हामीले कस्तो बोतलमा पानी भण्डार गर्नुपर्छ ?

उत्तर : अनुसन्धानले काँचका बोतलहरू सुरक्षित छन् भन्ने पत्ता लगाएको छ । तर यसलाई बोक्न सजिलो छैन । त्यसैले यस्तो बोतल लिनुहोस् जसमा पानी पिउनका लागि छुट्टै गिलास हुन्छ वा जसमा जुठो हालेर खान सकिँदैन ।

पानीको बोतलमा हुने ब्याक्टेरियाको प्रभाव खतरनाक हुन्छ

– एन्टिबायोटिक लिइरहेका मानिसहरूलाई औषधिले असर गर्दैन । 

– पेट दुख्ने, एसिडिटी, पखाला लाग्न सक्छ ।

– रक्तचाप तल माथि हुन सक्छ ।

– मुटु रोग लाग्ने खतरा बढ्छ ।

– बान्ता लाग्ने जस्ता समस्या हुन सक्छ ।

– साना केटीहरूमा हर्मोन परिवर्तन समय पूर्व हुन सक्छ ।

– पिसाब नलीमा बारम्बार सङ्क्रमण हुने खतरा हुन्छ ।

प्रश्न : फ्रिजमा राखिएको बोतलमा पनि ब्याक्टेरिया हुन्छ ?

उत्तर : अधिकांश मानिसहरूले फ्रिजमा पानी राख्न प्लास्टिकको बोतलहरू प्रयोग गर्छन् । तिनीहरूमा तपाईँले सोचे भन्दा धेरै ब्याक्टेरिया हुन्छन्, जसले तपाईँलाई बिरामी बनाउन सक्छ । त्यसैले सस्तो प्लास्टिकको बोतल प्रयोग नगर्नुहोस् । उच्च गुणस्तरको बोतल हरेक दुई वा तीन दिनमा पक्कै पनि सफा गर्नुहोस् । 

प्रश्न : प्लास्टिकको बोतलको पानी पिउन किन सुरक्षित छैन ?

उत्तर :  राष्ट्रिय पर्यावरण स्वास्थ्य विज्ञान संस्थानका अनुसार प्लास्टिकको बोतल बनाउन बिपिए नामक रसायन प्रयोग गरिन्छ ।

सन् १८९० मा  पहिलो पटक बिपिए बारे पत्ता लगाइएको थियो । तर सन् १९५० मा यसको प्रयोग बलियो र लचिलो पोली कार्बोनेट प्लास्टिक बनाउनमा पनि गर्न सकिने महसुस गरियो । 

यसको क्षतिको नतिजा सार्वजनिक भएपछि, निर्माताहरूले बिपिए रहित उत्पादनहरू बनाउन थाले ।

प्लास्टिक बोतलको हानी

– यसले रक्तचाप, टाइप–२ मधुमेह, हृदयाघातको जोखिम बढाउँछ ।

– पुरुषको शुक्राणुको गुणस्तर बिगार्छ ।

– महिलामा हर्मोन असन्तुलन पैदा गर्छ ।

प्रश्न : बजारमा उपलब्ध प्याक गरिएको पानीको बोतलमा ब्याक्टेरिया हुँदैन ? 

उत्तर : ब्याक्टेरिया हुन्छन् तर ती प्लास्टिकका बोतलका हुन्छन् । लाइभ साइन्सको रिपोर्टका अनुसार पानी कहिल्यै खराब हुँदैन । अब तपार्इँले भन्नुहोला कि बजारमा पाइने पानीको बोतलमा एक्स्पायरी डेट लेखिएको हुन्छ, यस्तो किन ?

वास्तवमा यसमा लेखिएको एक्सपायरी डेट प्लास्टिकको हो । एक निश्चित समय पछि, प्लास्टिक पानीमा घुल्न थाल्छ । जसका कारण पानीको स्वाद बदलिन्छ र पिउने व्यक्तिलाई यसले हानी पुर्‍याउँछ ।

बजारमा पाइने प्याक गरिएको बोतल एक पटक प्रयोगका लागि बनेको हुन्छ । हामीले यसलाई बारम्बार प्रयोग गरेर गल्ती गर्छौँ र बिरामी हुन्छौँ । 

प्रश्न : पानी पिउनका लागि कुन बोतल राम्रो हुन्छ ?

उत्तर : बिपिए रहित वा काँच वा स्टिलले बनेको बोतल प्रयोग गर्नु राम्रो हुन्छ ।

प्रश्न : विद्यालय जाने बालबालिकालाई कस्तो बोतल दिने ?

उत्तर : बालबालिकालाई स्कुल लैजानको लागि स्टिल वा राम्रो प्लास्टिकको बोतल दिनुपर्छ । त्यो पनि हरेक दिन सफा गर्नुहोस् किनभने बच्चाहरूले बोतलमा जुठो हालेर पानी पिउँछन् ।

जुठो हालेको बोतल छिटो सफा नगरे यसमा लागेको र्‍याल हावाको सम्पर्कमा आउँछ जसका कारण त्यस स्थानमा थुप्रै गुणा कीटाणु आउने गर्छन् । 

प्रश्न : पानीको बोतलमा ब्याक्टेरिया कसरी बढ्छ ?

उत्तर : ई. कोलाईजस्ता विभिन्न ब्याक्टेरिया पानीको बोतलमा भिन्न भिन्न कारणले बढ्ने गर्छन् । 

जस्तै–

– खाना खाइसकेपछि जुठो हातले बोतल छुँदा ।

– जुठो हालेर बोतलबाट पानी पिउँदा र्‍याल लाग्ने भएकोले ।

– रुघाखोकी लाग्दा त्यही हातले बोतल समात्दा ।

– धेरै दिनसम्म बोतलमा पानी भरेर राख्दा । 

– सर–सफाइ गर्ने बेला फोहोर हातले बोतल समात्दा । 

त्यसैले बोतल सफा गर्दा दाँत माझ्ने नयाँ ब्रस वा अन्य ब्रसको प्रयोग गर्नुपर्ने हुन्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप