शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हिन्दु विश्वविद्यालय स्थापनाका लागि  अध्ययन समिति गठन

बिहीबार, ०२ चैत २०७९, १८ : ४१
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्नको लागि सम्भाव्यता अध्ययनका लागि डा.जगमान गुरुङको नेतृत्वमा ५ सदस्य समिति गठन गरेको छ ।

बिहीबार कोषले विश्वविद्यालय निर्माणका लागि सम्भाव्यतासहित अवधारणा पत्र तयारी समिति गठन गरेको हो । पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चैत भित्रमा अवधारणा पत्र तयार पारिसक्ने गरी काम अगाडि बढाउने जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको भन्दै सबै धर्मको सम्मान हुने बताए । उनले डा.जगमान गुरुङलाई हिन्दु विश्वविद्यालय स्थापना गर्नको लागि अध्ययन गर्ने जिम्मेवारी भन्दा पनि सम्मान भएको बताए ।  उनले हिन्दु विश्वविद्यालय स्थापना गर्नु अहिलेको मुलुकको आवश्यकता भएको बताए । उनले आधुनिक नेपालको सम्भवयताको प्रारम्भ हिन्दु विश्वविद्यालय स्थापनाबाट हुने दाबी गरे । उनले मुलुकको मूल्य मान्यताहरुलाई स्थानीयकरण गर्न नसकेको भन्दै हिन्दु विश्वविद्यालय विश्वभर वुद्धिजीवि उत्पादन उद्देश्य रहेको बताए । उनले नेपालको सांस्कृतिक कूटनीतिलाई सशक्त माध्यम बनाएर पर्यटन विकास गर्न योगदान पुग्ने बताए ।

हिन्दु विश्वविद्यालय २०८१को मंसिरभित्र मा सबै प्रक्रिया पूरा गर्ने घोषणा गरिएको छ । अध्ययन सहित अवधारणा पत्र तयार गर्न गुरुङसहित ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा प्रा.डा.रामचन्द्र गौतम, प्रा. चेतनाथ गौतम, कमल ढकाल र सदस्य सचिवमा डा. घनश्याम खतिवडा रहेका छन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप