मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

उपत्यकाका कलेजमा यस्तो छ स्ववियु चुनावको रौनक

बिहीबार, ०२ चैत २०७९, २१ : ५९
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयसहित सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुँदैछ । स्ववियु चुनावको ७२ घण्टे मौन अवधि आज राति १२ बजेदेखि सुरु हुँदैछ ।

काठमाडौँ उपत्यकाका विभिन्न क्याम्पसमा स्ववियु चुनावको प्रचारप्रसार र गतिविधि खासै देखिँदैन । एक प्रकारले भन्ने हो भने स्ववियु निर्वाचनले रौनक ल्याउन सकेको छैन ।

अधिकांश विद्यार्थी संगठनले डिजिटल माध्यमबाट प्रचारप्रसार गरेका छन् । तर, विद्यार्थी संगठनको चुनावी रौनकले विद्यार्थीहरुलाई राम्रोसँग छुन सकेको छैन । स्ववियु चुनावको २८ वर्षे उम्मेर हदका कारण पाको उम्मेदवार नभएकाले चुनाव उत्साहप्रद हुन नसकेको कतिपयको बुझाइ छ ।

यद्यपि विद्यार्थी संगठनका नेताहरु मित्रवत् प्रतिस्पर्धामा उत्रिएका छन् । विगतमा जस्तो झडपको अवस्था खासै देखिएको छैन । स्ववियु चुनावका उम्मेदवारले सेमेस्टर प्रणालीमा परीक्षाको नतिजा समयमै ल्याउन र गुणस्तर कायम गर्ने एजेण्डा बनाएका छन् । यस्तै क्याम्पसका भौतिक संरचना, खानेपानी, सरसफाइ र शैक्षिक बेरोजगारीलाई मुख्य मुद्दा बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

कीर्तिपुर केन्द्रीय क्याम्पसमा त्रिपक्षीय भिडन्त

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कुल ३ हजार ४ सय २६ जना विद्यार्थी अध्ययनरत छन् । स्ववियु चुनावको प्रचारको अन्तिम दिन कीर्तिपुर क्रिकेट मैदानमा नेपाल र युएईबिच खेल भइरहेको थियो । अधिकांश क्रिकेटप्रेमी विद्यार्थी चुनावी रौनक छोडेर क्रिकेट हेर्न मैदानमा पुगेका थिए ।

स्ववियुका उम्मेदवारहरु आफूलाई जिताउन विद्यार्थीसँग मत मागिरहेका थिए । त्रिवि केन्द्रीय क्याम्पसमा चुनावी रौनक सामान्य देखिन्थ्यो । यहाँ कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपाल विद्यार्थी संघबाट अध्यक्षमा श्यामराज ओझा, सचिवमा राजेशकुमार श्रेष्ठ, कोषाध्यक्षमा पद्मा भुसालले उम्मेदवारी दिएका छन् । यस्तै अनेरास्ववियुबाट अध्यक्षमा प्रकाश विष्ट, सचिवमा सिद्धान्त भट्ट, कोषाध्यक्षमा जनक कार्की उम्मेदवार छन् । अखिल क्रान्तिकारीबाट अध्यक्षमा विपिन विश्वकर्मा, सचिवमा दिनेशकुमार ऐर, कोषाध्यक्षमा ममताश्री जोशी चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ निकट विद्यार्थी संगठनबाट अध्यक्षमा मदन केसी, सचिवमा रमेश खत्री र कोषाध्यक्षमा हेमराज अधिकारी उम्मेदवार छन् । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट अध्यक्षमा समिर गौतम, सचिवमा निष्मा भट्ट र कोषाअध्यक्षमा रश्मी आचार्यले उम्मेदवारी दिएका छन् ।

केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालमेल नभएकाले विद्यार्थी संगठनहरु एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा भिडेका छन् । आफूलाई धेरै विद्यार्थीले विश्वास गरेकाले सजिलै चुनाव जित्ने नेपाल विद्यार्थी संघका उम्मेदवार श्यामराज ओझाले बताए । ‘मैले चुनाव जित्ने आधार सम्पूर्ण विद्यार्थीको विश्वास हो । सबै साथीको साथ, सहयोग र समर्थन हो,’ ओझाले भने, ‘म चुनाव लड्न भर्खरै आएको होइन । विश्वविद्यालयका विद्यार्थीका समस्यासँग लामो समयदेखि एकाकार हुँदै आएको छु । सबै विद्यार्थीसँग मलाई चुनाव जिताउने अठोट छ ।’

आफ्नो संगठनबाट बागी उम्मेदवार नभएकाले सजिलै चुनाव जित्ने ओझाको दाबी छ । आफूले विश्वविद्यालयको संरचनागत, नीतिगत, पाठ्यक्रमगत र भौतिक संरचनाको सुधार गर्न पहल गर्ने उनले बताए ।

यस्तै अनेरास्ववियुबाट त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु उम्मेदवार रहेका प्रकाश विष्ट पनि आफूले जित्ने दाबी गर्छन् । ‘अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनपछि संगठन अझ बलियो भएर आएको छ । पार्टीमा फुट विभाजनको असर छैन, झन् संगठन एक ढिक्का छ,’ विष्टले भने, ‘विश्वविद्यालयका समस्या भनेको क्यालेन्डरलाई व्यवहारिक बनाउने, समयमै परीक्षा सञ्चालन र नतिजा समयमै निकाल्नु हो । त्यो पूरा गर्न लाग्ने छु ।’

तर, त्रिवि केन्द्रीय क्याम्पसका अखिल क्रान्तिकारीबाट उम्मेदवार बनेका विपिन विश्वकर्माले आफ्नो संगठनको विरासत कायम राख्ने दाबी गरे । २०६५ सालमा अखिल क्रान्तिकारीले चुनाव जितेकाले यो पटकसमेत आफूले जितेर देखाउने उनको भनाइ छ ।

‘हामीले यस केन्द्रीय क्याम्पसमा २०६५ सालमा चुनाव जितेर जति काम गर्न खोज्यौं, ती सबै काम पूरा गर्नुपर्ने छ । विश्वविद्यालय आज विश्वविद्यालयको रुपमा रहन सकेको छैन,’ विश्वकर्माले भने, ‘विश्वविद्यालय सर्टिफिकेट उत्पादन गर्ने कम्पनीजस्तै हुन पुग्यो । हामीले ज्ञान, विज्ञान उत्पादनको केन्द्र बनाउन सकेनौं । त्यता विशेष ध्यान दिनेछु ।’

विश्वविद्यालयमा सेमेस्टर प्रणाली लागु गरे पनि शिक्षामा गुणस्तर कायम हुन नसकेको उनले बताए । ‘अहिले समयमै परीक्षा र नतिजा आउन सकेको छैन । यहाँ अंग्रेजीमा डिग्री लिएका विद्यार्थीले पुनः अग्रेजी भाषा पढ्नुपर्ने बाध्यता छ । यसले पनि के देखाउँछ भने विश्वविद्यालयको पढाई खस्कदो छ,’ विश्वकर्माले भने, ‘यहाँ पढाउने शिक्षकहरु १५/२० वर्ष पुराना डायरी बोकेर पढाउन आउनुहुन्छ । उहाँहरु समेत परिष्कृत हुन सक्नु भएन । यस्तै अवस्थाले २१ औ शताब्दीको प्रविधिमैत्री शिक्षा हुन्छ ? ती सबै सुधार गर्ने योजना बनाएको छु ।’

पद्मकन्यामा छैन रौनक

काठमाडौँको बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा स्ववियु चुनावको रौनक छैन । सो क्याम्पसमा विद्यार्थी नेताका उम्मेदवारले खासै भोट मागेको वा प्रचार गरेको देखिँदैन । बिहान र दिउँसोको सिफ्टमा कक्षा कोठामा गएर उम्मेदवारले प्रचार गर्ने गरेको पद्मकन्या क्याम्पसका निर्वाचन अधिकृत शैलेन्द्रप्रकाश नेपालले बताए ।

‘यसअघिका चुनावमा पर्चा, पम्प्लेट, ध्वजापताका सबै टाँसेर  भाषण हुन्थ्यो,’ नेपालले भने, ‘अहिले उम्मेदवार कक्षा कोठामा जान्छन् । आफ्नो एजेण्डा र प्रतिबद्धता राख्छन्, सकियो ।’

नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीबाट अध्यक्षको उम्मेदवार भएकी प्रजिता दर्नालले प्रचारप्रसार भड्किलो नभएको बताइन् । शान्तिपूर्ण रुपमा आफ्नो एजेण्डा र प्रतिवद्धतापत्र विद्यार्थीमाझ लगेको उनले बताइन् ।

यस क्याम्पसमा कुल विद्यार्थी संख्या ५ हजार ६ सय ४ छ । निर्वाचनलाई मर्यादित बनाउन आचारसंहिता समेत बनाइएको छ । तर, अहिलेसम्म आचारसंहिता उल्लंघनको उजुरी परेको छैन । मुलतः शान्तिपूर्ण रुपमा उम्मेदवारले प्रचार गरिरहेका छन् ।

यस क्याम्पसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबिच तालमेल भएको छ । अध्यक्षमा संयुक्त उम्मेदवारको रुपमा अखिल क्रान्तिकारीबाट त्रिसना आलेमगरले उम्मेदवारी दिएकी छन् । यस्तै संयुक्त उम्मेदवारको रुपमा अनेरास्ववियुबाट सचिवमा सुनैना श्रेष्ठ र कोषाअध्यक्ष सुजिता सुनार उम्मेदवार छिन् ।

आठ जना सदस्यमध्ये ५ जना अखिल क्रान्तिकारीबाट र ३ जना अनेरास्ववियुबाट उम्मेदवार छन् ।

यस्तै नेपाल विद्यार्थी संघबाट अध्यक्षमा ज्योति पनेरु, सचिवमा भुपेश्वरी ऐर, कोषाध्यक्षमा श्रेया मैनाली उम्मेदवार छन् । विप्लव निकट अखिल क्रान्तिकारीबाट अध्यक्षमा प्रतिजा दर्नाल, सचिवमा प्रमिता बाँनिया र कोषाध्यक्षमा रिता थापाले उम्मेदवारी दिएका छन् ।

अमृत साइन्समा स्ववियु चुनाव अन्योल

विद्यार्थी संगठनहरुको आन्तरिक झगडाले अमृत साइन्स क्याम्पसमा स्ववियु चुनाव अन्योल बनेको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीबिच विवाद हुँदा गत फागुन २८ गते अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ । एमाले निकट अनेरास्ववियुका उम्मेदवार कमलराज जोशी, स्ववियु सदस्य पंकज पाण्डे, गोपालजंग शाही र दिनेश सिग्देललाई फौजदारी अभियोग लागेकाले उम्मेदवारी खोरेज गर्न अखिल क्रान्तिकारीले माग गरेको थियो ।

तर, क्याम्पस निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी कायमै राखेपछि अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो । लगत्तै अनेरास्ववियुले अखिल क्रान्तिकारीलाई काउन्टर दिँदै क्याम्पस प्रमुखसमक्ष स्ववियु अध्यक्षको उम्मेदवार ६ फिट उचाइ भएको हुनुपर्ने माग राखेको छ । अखिल क्रान्तिकारीले अनावश्यक माग राखेको भन्दै त्यसलाई काउन्टर दिन स्ववियु अध्यक्ष ६ फिटको हुनुपर्ने माग गरिएको बताइन्छ ।

फौजदारी अभियोग लागेकालाई कुनै हालतमा उम्मेदवार बनाउन नहुने अखिल क्रान्तिकारीका अमृत साइन्स क्यापसका अध्यक्ष दीपेन्द्र भण्डारीले दाबी गरे । विद्यार्थी संख्याभन्दा मतदाता नामावली संख्या बढी रहेको पनि उनले बताए ।

तर, अनेरास्ववियुका अमृत साइन्स क्याम्पसका स्ववियु उम्मेदवार कमलराज जोशीले आफूलाई क्याम्पसको आन्तरिक झगडामा फसाएर मुद्दा लगाइएको दाबी गरे । ‘निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दिन मिल्छ भन्दै छ,’ उनले भने, ‘विश्वविद्यालयदेखि कानुनका जानकारहरुले मिल्छ भन्दैछन् । उहाँहरु मिल्दैन भनेर अवरोध गर्दै हुनुहुन्छ ।’

चुनावमा पराजित हुने भयले तालाबन्दी गरेर चुनाव रोक्न लागेको हुन सक्ने उनको भनाइ छ । ‘अहिल क्रान्तिकारीमा स्ववियुको अध्यक्षमा ३ जना उम्मेदवार छन् । चुनाव जित्ने अवस्था छैन । हामीलाई लगाएको आरोप पुष्टि गर्न नसकेपछि विज्ञप्ति च्यातेर फाल्नुभयो,’ जोशीले भने, ‘अहिले आएर उम्मेदवार आदि इत्यादि आरोप लगाएर ताला लगाउनु भयो । अब छिटोभन्दा छिटो ताला खोलेर चुनावी प्रक्रियामा जानुपर्छ ।’

विद्यार्थी संगठनहरुले अनावश्यक रुपमा झगडा गरेर अध्ययन गर्ने वातावरण समेत बिगारेको भन्दै जोशीले चिन्ता व्यक्त गरे ।

त्रिचन्द्रमा नयाँ कार्यतालिका सार्वजनिक, चुनावको टुंगो छैन

त्रिचन्द्र क्याम्पसमा स्ववियु चुनावको नयाँ कार्यतालिका सार्वजनिक भएको छ । बुधबार त्रिचन्द्र क्याम्पस मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । १३ गतेसम्ममा मतदान गर्ने भन्दै नयाँ कार्यतालिका सार्वजनिक गरिए पनि विद्यार्थी संगठन ढुक्क हुन सकेका छैनन् । यसअघि समेत कार्यतालिका सार्वजनिक गरेर चुनाव स्थगित भएकाले अब पनि ढुक्क हुन सक्ने अवस्था नरहेको उनीहरुको भनाइ छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् त्रिचन्द्र क्याम्पसका पूर्व नेता रामचन्द्र भट्टले नेपाल विद्यार्थी संघकै कारण चुनाव नहुने स्थितिमा पुगेको आरोप लगाए । ‘यो क्याम्पसमा अहिलेसम्म नेविसंघबाहेक अरु विद्यार्थी संगठनले चुनाव जितेका छैनन् । उनीहरु आफूबाहेक अरुले चुनाव नजितोस् भन्ने चाहन्छन्,’ भट्टले भने, ‘अनेक बहाना बनाएर तोडफोड गर्ने, चुनाव रोक्ने बहाना बनाउँछन् ।’ २०७३ सालको स्ववियु चुनाव समेत नेविसंघकै कारण हुन नसकेको भट्टले बताए ।

तर, नेपाल विद्यार्थी संघका त्रिचन्द्र क्याम्पसका नेता सुजित खड्काले चुनाव गराउन दबाब दिन तोडफोड गरेको जिकिर गरे । ‘हामीले चुनाव गराउन प्रेसर दिइराखेका छौं । त्यही दबाबस्वरुप क्याम्पस प्रमुख सहित अरुको कार्यकक्षमा तोडफोड भयो,’ खड्काले भने, ‘तर, क्याम्पस प्रमुख र निर्वाचन प्रमुख चुनाव नगराएर भागेकाले समस्या भयो । उहाँहरुको खोजी गरेर चुनाव गराउने वातावरण बनाउनुपर्छ ।’

त्रिचन्द्र क्याम्पस प्रमुख प्रा.डा सुनिल अधिकारी र निर्वाचन अधिकृत राजेन्द्र गौतम चुनाव गराउन नसकिने भन्दै क्याम्पसमै आउन छोडेका छन् । उनीहरुले क्याम्पसमा आउने वातावरण नभएको बताउँदै आएका छन् ।

पुल्चोकमा १५ दिने उम्मेदवारको चर्चा

देशभरका ४८ वटा इन्जिनियरिङ कलेजको केन्द्रको हो– पुल्चोक इन्जिनियरिङ कलेज । पुल्चोकमा जे भयो, त्यही लागू गर्न अन्य इन्जिनियरिङ कलेज तँछाड मछाड गर्छन् । चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका सन्दर्भमा पनि अन्य इन्जिनियरिङ कलेजले पुल्चोक कलेजलाई नियालिरहेका छन् ।

पुल्चोकमा स्ववियु अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ । ती सबैले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् ।

अनेरास्ववियुबाट विराज अर्याल स्ववियु अध्यक्षको उम्मेदवार छन् । उनको प्यानलबाट स्वीकृति सुवेदी सचिव र दिपसागर ज्ञवाली कोषाध्यक्षका उम्मेदवार छन् ।

त्यस्तै नेविसंघबाट शंकर पन्थी स्ववियु अध्यक्षका उम्मेदवार बनेका छन् । उनको प्यानलमा सागर शर्मा सचिव र सुस्मिता रेग्मी कोषाध्यक्षका उम्मेदवार छन् ।

त्यस्तै अखिल क्रान्तिकारीबाट अजय कुमार मण्डल अध्यक्षका उम्मेदवार बनेका छन् । उनको टिममा विज्ञान प्रधान सचिव र संगिता भुसाल कोषाध्यक्ष पदका उम्मेदवार छन् ।

युरेका बन र नविन खनालले अध्यक्षमै स्वतन्त्र उम्मेदवारी दिएका छन् । तीमध्ये युरेका नेविसंघकै नेतृ हुन् । उनले बागी उम्मेदवारी दिएकी हुन् ।

पुल्चोकमा २०७३ सालमा भएको निर्वाचनमा अखिल क्रान्तिकारीका रोशन थापाले स्ववियु अध्यक्षमा जितेका थिए ।

२ हजार ६९९ जना विद्यार्थी रहेको पुल्चोक इन्जिनियरिङ कलेज बिहीबार सुनसान जस्तै देखियो । पढाई सकिएकाले विद्यार्थीहरू आ–आफ्नो घरतिर लागेका छन् । निर्वाचन लगत्तै परीक्षाको मिति तय गरिएकाले विद्यार्थीहरू यतिबेला घरघरबाटै निर्वाचनलाई नियालिरहेका छन् । विद्यार्थीहरु घरघरमा रहेकाले उम्मेदवारहरूले समेत सामाजिक सञ्जालको मद्दतबाट आफ्नो प्रचारप्रसार गर्दै आएका छन् ।

अखिल क्रान्तिकारीले पुल्चोकको आमुल परिवर्तनलाई आफ्नो एजेण्डा बनाएको छ । विगतमा स्ववियुले गरेको काम, विद्यार्थीको हकहितका लागि क्रान्तिकारीले गर्दै आएको प्रयासजस्ता कारण आफ्नो जित सुनिश्चित रहेको अखिल क्रान्तिकारीको दाबी छ ।

क्रान्तिकारीका निवर्तमान स्ववियु अध्यक्ष थापाले क्रान्तिकारीको अभियान पुल्चोकमा आमुल परिवर्तन रहेको बताए । स्वच्छ छविको उम्मेदवार भएकाले पनि आफ्नो संगठनको जित सुनिश्चित रहेको उनको भनाइ छ ।

नेविसंघ, अनेरास्ववियु र स्वतन्त्र उम्मेदवारहरू अन्तिम वर्षका छन् । उनीहरू क्याम्पसमा कानुनतः १५ दिनमात्रै रहन पाउँछन् । अर्याल, पन्थी, बन अन्तिम वर्षका भएकाले उनीहरू क्याम्पसमा १५ दिनमात्रै रहनेछन् ।

अखिल क्रान्तिकारीका उम्मेदवार मण्डल भने एक वर्ष अझै क्याम्पसमा रहनेछन् । अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार बनेका विराज अर्यालले विगतका स्ववियु अध्यक्ष पनि अन्तिम वर्षकै रहेको तर, उनीहरूले काम गर्दै आएको बताए ।

‘यसअघिको अध्यक्ष पनि अन्तिम वर्षकै हुनुहुन्थ्यो । उहाँले त काम गर्नुभयो । म जहाँ भए पनि पुल्चोकको हकहितको लागि काम गर्छु । म मास्टर्स पनि यहीँ पढ्ने हो । त्यसैले म यहाँको विकासलाई सधैँ तत्पर रहन्छु,’ उनले भने ।

अनेरास्ववियुले २० ग्यारेन्टी र २० वटा एजेण्डा अघि सारेको छ । विगतमा समानुपातिक मतमा अनेरास्ववियु नै अगाडि रहेकाले यो पटकको चुनाव आफ्नो पक्षमा अनेरास्ववियुका उम्मेदवार बताउँछन् ।

नेविसंघबाट अध्यक्षका उम्मेदवार शंकर पन्थीमाथि पनि १५ दिने उम्मेदवारको आरोप लाग्दै आएको छ । तर, उनले आफू पढ्दामात्र नभएर बाहिर हुँदा पनि पुल्चोक आफ्नो कलेज रहेको बताए । आफू बाहिर रहे पनि त्यहीँबाट कलेज र विद्यार्थीको हितको लागि काम गर्ने उनको भनाइ छ ।

‘म बाहिर भए पनि यहाँ मेरो टिम हुन्छ । उहाँहरूले काम गर्नुहुन्छ । स्ववियुको काम गर्न कुनै समस्या हुँदैन,’ उनले भने ।

नेविसंघले २०७६ सालमा पुल्चोक सुधारका लागि २३ बुँदे माग अघि सारेको थियो । जुन माग अहिले पनि सम्बोधन हुन सकेका छैनन् । नेविसंघले तिनै मागलाई स्थापित गराउन स्ववियु निर्वाचनको एजेण्डा बनाएको छ ।

थापाथली इन्जिनियरिङमा ३ जनाबिच भिडन्त

थापाथली इन्जिनियरिङ कलेजमा स्ववियु अध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीबाट उम्मेदवार बनेका छन् ।

नेविसंघबाट पुष्कर विक्रम शाही स्ववियु अध्यक्षका उम्मेदवार छन् । उनको टिममा अविनाश कुमार झा सचिव र महेश बञ्जाडे कोषाध्यक्षका उम्मेदवार बनेका छन् ।

त्यस्तै अनेरास्ववियुबाट प्रविन थापा स्ववियु अध्यक्षका उम्मेदवार बनेका छन् । उनको टिममा राजकुमार ढकाल सचिव र श्रेया पाण्डे कोषाध्यक्ष छन् ।

त्यस्तै अखिल क्रान्तिकारीको तर्फबाट स्पन्दन थापा अध्यक्षका उम्मेदवार बनेका छन् । उनको टिममा मौसमदेव सुनार सचिव र सिर्जना चौधरी कोषाध्यक्षका उम्मेदवार छन् ।

थापाथलीमा विद्यार्थी संगठनहरूले अन्य कलेजको भन्दा फरक एजेण्डा अघि सारेका छन् । उनीहरूले होस्टेल, क्यान्टिन, लाइब्रेरी लगायतका विषयलाई आधारभूत आवश्यकता मानेका छन् । र ती कुरा क्याम्पस प्रशासनले प्रबन्ध गर्नुपर्ने उनीहरूको भनाइ छ ।

थापाथली क्याम्पसमा भने चुनावी माहोल तातेको देखिन्छ । उम्मेदवारहरू विद्यार्थीकहाँ पुगेर भोट माग्दै गरेका छन् । उनीहरूले आफ्नो एजेण्डा राख्नुका साथै विद्यार्थीका समस्या सुन्ने र त्यसको समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने कुरामा समेत ध्यान दिएको देखिन्छ ।

थापाथलीमा बिहीबार पढाईको अन्तिम दिन थियो । शुक्रबारदेखि कलेज बन्द हुनेछ । प्रचारप्रसारको अन्तिम दिन भएकाले उम्मेदवारहरू प्रचारप्रसार गर्नमा व्यस्त देखिन्थे । यद्यपि विगतको जसरी तडकभडक गरेर प्रचार गरिएको थिएन । उनीहरूले सामाजिक सञ्जाल प्रयोग गरेर विद्यार्थीहरूसँग भोट मागिरहेको समेत देखिन्छ ।

उम्मेदवारहरूले ह्युमन लाइबेरी, स्टुडेण्ट एक्सचेन्ज, जब प्यालेसमेन्ट जस्ता विषयलाई आफ्ना मुद्दा बनाएका छन् ।

नेविसंघले विगतमा आफ्नो संगठनले गर्दै आएको कामको आधारमा अहिले विद्यार्थीहरूसँग भोट मागिरहेको अध्यक्षका उम्मेदवार शाहीले बताए । क्याम्पसमा आर्थिक अनियमितता निकै भएको लाइब्रेरीमा पुस्तक नभएको, वर्कशपमा सामान नभएको जस्ता विषय वर्षौंदेखि भोग्दै आएको उनको भनाइ छ । ती समस्या समाधान गरेर थापाथली इन्जिनियरिङ कलेजलाई नमुना बनाउने योजना रहेको उनले सुनाए ।

क्रान्तिकारीले जब प्यालेसमेन्ट, ह्युमन लाइबे्रेरी, स्टुडेण्ट एक्सचेन्ज जस्ता विषयलाई आफ्ना एजेण्डा बनाएको छ । अखिल क्रान्तिकारीका अध्यक्षका उम्मेदवार थापाले कलेजका आधारभूत कुरालाई आफूले एजेण्डा नबनाएको बताए । ‘इन्जिनियरिङ पढ्ने विद्यार्थीले यस्ता स–साना कुरामा अल्झिएर बस्यो भने अन्य विकास कसरी हुन्छ ? त्यसका लागि हामी आजको आवश्यकताको आधारमा अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने ।

अनेरास्ववियुका थापाले एकेडेमिक प्रिफेक्ट र स्पोर्टस् प्रिफेक्ट प्रमोट गर्ने विषयलाई आफूहरुले एजेण्डा बनाएको बताए । त्यस्तै एलुमुनाई नेटवर्क स्थापना गर्ने र कमिटीहरू गठन गर्ने एजेण्डा अनेरास्ववियुको छ । स्ववियुको आफ्नै वेबसाइट निर्माण गर्ने र त्यही आधारमा स्ववियुका गतिविधि सञ्चालन गर्ने थापाको भनाइ छ ।

भौतिक पूर्वाधारको विकासदेखि लिएर अप्रेशन कस्ट ५ प्रतिशतभन्दा कममा झार्नेसम्मको योजना अनेरास्ववियुको छ ।

आरआरमा चुनाव अनिश्चित

रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा भने स्ववियु निर्वाचन अनिश्चित बनेको छ । आरआरमा मनोनयन दर्तापछिको सबै प्रक्रिया रोकिएको छ ।

निर्वाचन अधिकृत नै कलेज आउन सकेका छैनन् । क्याम्पस प्रशासनले यस्तो अवस्थामा निर्वाचन गराउन सकिने प्रष्ट पारिसकेको छ । सुरक्षाकर्मीले समेत सुरक्षा दिन नसकिने संकेत गरेका छन् ।

आरआरमा नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीबीचको विवादका कारण समस्या भएको हो । आरआरमा अनेरास्ववियुबाट मदन भण्डारीले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट सचिवमा दिलिप खड्का र कोषाध्यक्षमा जन्मराज उपाध्ययले उम्म्मेदवारी दिएका छन् । तीबाहेक अन्य संगठनले उम्मेदवारी नै दिएका छैनन् ।

महेश जैशी, नविन कोइराला र जमुना निउरेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचन प्रक्रिया अगाडि बढाउन भन्दै अनेरास्ववियुले आन्दोलन गर्दै आएको छ । अनेरास्ववियले निर्वाचन गराउन माग गर्दै प्रधानमन्त्रीको पुत्ला जलाएको थियो । रोकिएको निर्वाचन प्रक्रिया तत्काल सुचारु गर्न अनेरास्ववियुले माग गर्दै आएको छ । तर, क्याम्पस प्रशासनले यस्तो अवस्थामा निर्वाचन गराउन नसकिने प्रष्ट पारेको छ । ५ हजारभन्दा बढी विद्यार्थी रहेको आरआरलाई अनेरास्ववियुको पकड क्षेत्र मानिँदै आएको छ ।

आरआरमा चुनाव हुनु भनेको स्ववियु निर्वाचन सफल भएको मानिन्छ । तर, अहिले विद्यार्थी संगठनहरूले अनेकन बहाना गरेर आरआरमा चुनाव हुन नदिने योजना बनाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप