बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

समर्थक र प्रस्तावकबाटै जनमतलाई 'धोका', जसपाका उम्मेदवारलाई भोट

शुक्रबार, ०३ चैत २०७९, १४ : ४८
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । जनमत पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी ममता झालाई प्रस्तावक र समर्थक बसेकै पार्टीले मत नदिएको खुलेको छ ।  

उपराष्ट्रपतिमा झाको समर्थक र प्रस्तावकमा लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका थिए । तर यी दुवै दलले जनता समाजवादी पार्टी नेपाल (जसपा)को तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार बनेका रामसहाय यादवलाई मतदान गरेको खुलेको हो । 

उम्मेदवार झाको प्रस्तावकमा जनमतका अब्दुल खान, अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोसपाका अभिराम शर्मा र रूपाकुमारी यादव रहेका थिए । यस्तै, समर्थकमा जनमत पार्टीका गोमा लाभ सापकोटा, विनीता कुमारी सिंह, वसन्तकुमार कुशवाहा, नागरिक उन्मुक्ति पार्टीका रामप्रकाश चौधरी र लोसपाका रानीकुमारी तिवारी रहेका थिए । 

लोसपाका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशको प्रदेश सभा सदस्य जितेन्द्र सोनलले १० दलीय गठबन्धनका साझा उम्मेदवारलाई आफ्नो पार्टीले मतदान गरेको बताए । १० दलीय गठबन्धनको साझा उम्मेदवार रामसहाय यादव रहेको उनको भनाइ छ । 

यस्तै नागरिक उन्मुक्ति पार्टी मधेश प्रदेश सभा सदस्य उर्मिला सिंहले आज विहान बसेको बैठकले उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान गर्ने निर्णय गरेको बताइन् ।  सोही अनुसार आफूहरूले मतदान गरेको उनको भनाइ छ । 

जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाएसँगै जनमत, लोसपा र उन्मुक्ति पार्टीको बीचमा कार्यगत एकता घोषणा भएको थियो । उपराष्ट्रपतिलगायत अन्य राजनीतिक गतिविधिमा सहकार्य गर्ने सहमति तीन दलको बीचमा भएको थियो । तर उपराष्ट्रपतिको निर्वाचनमा एकमत हुन नसकेको हो । 

१० दलीय गठबन्धनमध्ये जनमतबाहेक सबै दलको मत रामसहाय यादवलाई गएको देखिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप