शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
संसद बैठक

प्रतिपक्षी बेञ्चमा पुगेसँगै संसदमा एमालेको आक्रामक प्रस्तुति

आइतबार, ०५ चैत २०७९, १५ : १६
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । संसदको दोस्रो ठुलो दल नेकपा एमाले संसदमा प्रमुख प्रतिपक्ष बेन्चमा बसेसँगै सरकारसँग आक्रामक बनेको छ । आइतबारदेखि नेपाली कांग्रेसले सत्ता पक्षमा बस्ने निर्णय गर्दै नेकपा एमालेलाई संसदको प्रतिपक्षी बेन्च छाडेको थियो । आइतबारबाट प्रतिनिधि सभाको प्रतिपक्ष बेन्चमा बसे लगत्तै एमाले सांसदहरूले सरकारको कडा आलोचना गरे ।  आइतबारको संसद् बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बैठकमा उपस्थित भएर पनि विधेयकहरू सञ्चारमन्त्री रेखा शर्माले पेस गरेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीबाटै विधेयक प्रस्तुत गर्न सभामुखसँग रुलिङको माग गरे । 

‘यो संसदको गरिमा त्यसबेला बढ्छ जब सरकार जन्माउने संसदलाई प्रधानमन्त्रीले महत्त्व दिन्छ । संसदमा उपस्थित हुने प्रधानमन्त्री हुँदाहुँदै प्रधानमन्त्रीले प्रस्तुत गर्ने विधेयक अर्को मन्त्रीलाई दिनुको औचित्य यो संसदको गरिमालाई अवहेलना गर्नु हो’, पन्तले भने, ‘यो संसदले बहुमत र अल्पमतको आधारमा सरकार जन्मन्छ । संसदमा शून्य समयका उठेको आवाजहरूको रेस्पोन्स खै ? यत्रो दिन भैसक्यो संसद् चलेको मलको विषय छ,अनेक विषय छन् ।’

नेता पन्तले संसद् चलेको लामो समयसम्म सांसदहरूले शून्य समयमा उठाएका महत्वपूर्ण विषयलाई सरकारले बेवास्ता गरेको आरोप समेत लगाए ।  ‘आज प्रधानमन्त्रीले शून्य समयमा उठेको विषयमा जवाफ दिन र विधेयक आफैँ प्रस्तुत गर्न रुलिङ होस्’, पन्तको माग छ ।  बैठकमा एमालेका अर्का सांसद योगेश भट्टराईले स्ववियु निर्वाचनका क्रममा ताप्लेजुङको एक मात्र पाथीभरा क्याम्पसमा सरकारी पक्षले धाँधली गर्दै एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि आक्रमण र मतदान गर्नबाट वञ्चित गराएको बताए । 

‘अनेरास्ववियुका विद्यार्थीमाथि कुटपिट भएको छ, मतदानबाट वञ्चित गराइएको छ, निर्वाचन कमिटी विघटन गरेर एकतर्फी बनाइएको छ, फर्जी परिचयपत्र बनाएर गलत मानिसलाई समेत मतदानमा भाग लिन लगाइएको छ, क्याम्पस र बजार क्षेत्र तनावग्रस्त भएको छ’, उनले भने, ‘सत्ताको आडमा स्ववियु निर्वाचनमा धाँधली भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप