शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

विश्वासको मतमाथिको छलफलमा सवाल–जवाफदेखि व्यङ्ग्यसम्म

कसले के भने ?
सोमबार, ०६ चैत २०७९, १९ : ५९
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेपछि छलफलमा भाग लिने क्रममा नेताहरुबिच घोचपेच र सवालजवाफ चलेको छ । खासगरी सत्ता पक्ष र प्रतिपक्षबिच सवालजवाफ चलेको हो ।

सत्तापक्षका नेताहरुले प्रचण्डसहित सरकारको प्रतिरक्षा गरेका थिए भने एमाले, राप्रपा सहितका दलका नेताले प्रधानमन्त्री प्रचण्ड र वर्तमान सत्ता गठबन्धनको आलोचना गरेका थिए ।

एमाले उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले प्रधानमन्त्री प्रचण्डलाई ‘एमालेसँगको सहयात्रा किन छोड्न परेको हो ?’ भन्दै प्रश्न गरे । विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले प्रचण्डलाई प्रश्न गरे, ‘यदि तपाईँलाई यही सहयात्रामा जानु थियो भने पुस १० गते त्यस प्रकारको सहमतिमा किन पुग्नुभयो ?’

पौडेल यतिमै रोकिएनन् । उनले प्रचण्डतिर लक्षित गर्दै अगाडि भने, ‘आज तपाईँले जवाफ दिनुस् नदिनुस्, आज तपाई जवाफ नदिन सक्नुहुन्छ । तर तपाईँलाई निरन्तर प्रश्न सोधिरहनेछ ।’

उनले एउटा विन्दुमा गएर प्रचण्डले यसको जवाफ दिनै पर्ने पनि बताए । ‘प्रचण्डको नेतृत्वमा सरकार बन्दा कुन पृष्ठभूमिबाट अघि बढेका थियौँ, त्यो पृष्ठभूमिलाई हेक्का राख्न जरुरी छ,’ पौडेलले भने ।

छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले एमाले उपाध्यक्ष पौडेलको प्रश्नलाई पनि सम्बोधन गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै संसदमा पहिलो दिन नै संसद् विघटनको कुरा उठाउनु गर्वको विषय नरहेको दाबी गरे ।

राष्ट्रपतिजस्तो सम्मानित संस्था पटकपटक राजनीतिक विवादमा परेको र त्यसले लोकतन्त्रप्रतिको जनआस्थाकै मानमर्दन गरेको अवस्थामा आफूले नयाँ राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने नयाँ शुरुवात गरेको उनको भनाइ थियो ।

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले समेत केपी ओलीले संसद् विघटन जायज छ भन्दै दाबी गर्न थालेपछि समस्या उत्पन्न भएको प्रष्ट पारे । पौडेलले ओलीलाई लक्षित गर्दै ‘कतिपय माननीयले संसद् विघटनलाई बहादुरी गरेजस्तै गरेर प्रस्तुत हुन थालेपछि’ गठबन्धनमा आशंका उत्पन्न भएको बताए ।

विगतका गल्तीबाट सिक्नुपर्नेमा उल्टै प्रशंसा गर्नु गलत भएको उनको जिकिर थियो । विगतमा २÷२ पटक संसद् विघटन भएको विषयलाई पश्चाताप नगर्नु गलत भएको पौडेलले बताए । ‘कसका कारणले संसद् विघटन भयो ? संविधानको कुन धारामा लेखिएको छ ? जवाफ दिन सक्नुहुन्छ ?’ उनले भने, ‘त्यो सर्वोच्च अदालतले करेक्सन ग¥यो । गल्ती भयो भनेर सच्यायो । माननीयज्यूहरु संसदमा आएर बोल्नुहुन्छ– मैले बहादुरी गरेँ । पहिलेकै गल्तीलाई सदर गर्न यो संसदबाट निर्वाचित भएर आएको हो ?’

यस्तै स्वतन्त्र सांसद प्रभु साहले एमाले सत्ता गठबन्धनबाट किन बाहिरियो भन्ने विषयमा आफू अनभिज्ञ रहेको बताए । संसद्को दोस्रो ठुलो दल सरकारबाट बाहिरिएको विषयमा जनतालाई स्पष्ट पार्नुपर्ने साहको भनाइ थियो ।

राप्रपाका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले प्रचण्डप्रति व्यङ्ग्य गर्दै ‘दुई महिनामा दुई पटक विश्वासको मत लिने भाग्यमानी प्रधानमन्त्री’को संज्ञा दिए ।

प्रधानमन्त्रीले बिचमै बाटो मोडेकाले आफूहरूलाई त्यो रात गाह्रो भएको पनि उनले बताए । ‘विश्वासको मतबारे जुहारी चलाउने मन छैन, भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ उहाँ । दुई महिनामा दुई पटक विश्वासको मत लिने प्रधानमन्त्री हुनुभयो’, लिङ्देनले भने, ‘तपाईँले धोका दिनुभयो । तर अब वैशाख १५, २० गते यस्तै दिन नआओस् ।’

उनले प्रधानमन्त्री प्रचण्डलाई धेरै गाडी फेर्ने ड्राइभरको संज्ञा दिँदै आफूहरू केही थान मन्त्रीका लागिमात्र नभएर निश्चित मुद्दा लिएर सरकारमा गए पनि प्रधानमन्त्रीले नै बाटो फेरेकाले सरकारबाट बाहिरिनुपरेको बताए ।

जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले गत पुस १० को गठबन्धन बनाउन एमालेले नै बोलाएको उल्लेख गर्दै आफू खोज्दै त्यहाँ नगएको प्रस्ट पारे । ‘म यतै बल गर्दै थिए, म खोज्दै गएको भन्ने सत्य होइन’, प्रचण्डले भने, ‘कांग्रेसलाई के के भन्नुभयो, बाइ द वे म गएँ ।’

प्रधानमन्त्री प्रचण्डले आफूले केपी ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको पनि बताए । ‘मैले तपाईँलाई दुईचोटी प्रधानमन्त्री बनाएको थिएँ, तपाईँले मलाई ब्याज दिनुपर्ने थियो, ऋण तिर्नुपर्ने थियो । तपाईँले तिर्नुभयो । एउटा त तिर्नुभयो, अझै एउटा बाँकी छ । हिसाब राख्नुस्’, प्रधानमन्त्री प्रचण्डले ओलीलाई लक्षित गर्दै भने ।

‘हामी विधि र संविधान अन्तर्गत नै अघि बढेका छौं’, प्रचण्डले भने, ‘शान्ति सम्झौताभित्रै रहेर यहाँसम्म आएका छौं । राष्ट्रको हित र शान्तिका लागि हो ।’

उनले संविधान निर्माणपछि विचार मिल्ने दलहरु एक भएर अघि बढ्न सके विकास निर्माण र समृद्धिले गति लिने अपेक्षासहित आफै प्रस्तावक भएर निर्वाचनमा गएको पनि स्मरण गराए । तर त्यो प्रस्ताव जनता र कार्यकर्ताबाट अनुमोदित भए पनि नेताको तहबाट अनुमोदित हुन नसकेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप